के युद्धमा अमेरिकीलाई सहयोग गर्दै छ गुगल ?

न्यूयाेर्क। के अमेरिकी कम्पनी गुगलले अमेरिकी सेनालाई सहयोग गर्दै छ ? भन्ने हिजोआज धेरैको जिज्ञासा हुने गरेको छ । कुरा के भने गुगलले अमेरिकी रक्षा मन्त्रालयसँग एउटा यस्तो प्रोजेक्टमा काम गर्दै छ जसले अमेरिकी सेनालाई सटिक ड्रोन आक्रमणमा सहयोग पुर्याउन सक्छ । कहिले ‘खराब नबन’ आदर्श वाक्य भएको गुगलका लागि यो दाहोरो चरित्र हुन सक्छ ।

यही कारण हुनसक्छ करिब तीन हजार एक सय गुगलका कर्मचारीले सिइओ सुन्दर पिचाईलाई पठाएको संयुक्त खुलापत्रमा गुगललाई मेवेन प्रोजेक्टबाट अलग गर्न माग गरेका छन् ।  यो पत्रमा कर्मचारीले लेखेका छन्, ‘युद्धसँग जोडिएका विषयमा गुगलले भाग लिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । गुगलले मेवेन प्रोजेक्टबाट हात झिक्नुका साथै लिखितरूपमै यस्तो नीति बनाएर सार्वजनिक गर्नुपर्छ भन्ने हाम्रो माग छ ।

यस्तो नीतिमा गुगल र उसका कुनै ठेकेदार युद्धमा प्रयोग हुने प्रविधि बनाउने छैन भन्ने प्रष्ट हुनुपर्छ ।’ अमेरिकी पत्रिका ‘द न्युयोर्क टाइम्स’ का अनुसार यो पत्रको समर्थन गर्नेमा दर्जनौँ चिफ इन्जिनियरहरू पनि छन् । पत्रिकाले लेखेको छ गुगलका कर्मचारीले पहिले पनि आफ्नो बेखुसी व्यवस्थापनसमक्ष पोखिसकेका थिए । गुगलको संसारभरमा ८८ हजार कर्मचारी छन् । अमेरिकी रक्षा मन्त्रालयको प्रोजेक्टमा भाग लिँदा कम्पनीलाई अपूरणीय क्षति हुने पनि सो पत्रमा डर देखाइएको छ ।

पत्रमा गुगलले आफ्नो नैतिक जिम्मेवारीबाट आँखा चिम्लेको मात्र होइन आफ्ना उपभोक्ताको विश्वासलाई पनि दाउमा राखेको उल्लेख गरिएको छ । पत्रमा अगाडि लेखिएको छ, ‘गुगलको मान्यतामा प्रष्ट गरिएको छ कि हाम्रा उपभोक्ता हामीप्रति विश्वस्त छन् । हामी उनीहरूको यो विश्वासलाई जोखिममा पार्न सक्दैनौँ । तर, यो प्रोजेक्टबाट गुगलको प्रतिष्ठा खतरामा पर्छ र हाम्रो मुख्य मान्ता विपरित छ । यो प्रविधिले अमेरिकी सेनाको सैन्य निगरानीलाई सहयोग गर्छ र यसले घातक परिणाम पनि हुन सक्छ । यो स्वीकार्य छैन ।’

मार्चमा ‘गिज्मोडो’ वेबसाइटमा छापिएको एउटा शोध रिपोर्टको जवाफ दिँदै गुगलले यो कुराको पुष्टि गरेको थियो कि ऊ रक्षा मन्त्रालयलाई आफ्नो केही प्रविधि एउटा सैन्य प्रोजेक्टमा प्रयोग गर्न अनुमति दिँदै छ । ‘गिज्मोडो’ का अनुसार मेवेन प्रोजेक्ट गतवर्ष एउटा नमुना कार्यक्रममार्फत सुरु गरिएको थियो । जसको उद्देश्य कृत्रिम इन्टेलिजेन्ससँग जोडिएका नयाँ प्रविधिको सैन्य प्रयोग बढाउन तरिका खोज्नु हो । यो कार्यक्रमको लक्ष्यमा गुगलले ती भिडिओको रेकर्ड गर्नेछ जुन अमेरिकी सेनाले ड्रोन र खोजी उपकरण सधैँ जुटाउँछ । यसकासाथै उसले यी उपकरणको ट्रयाक गर्नेछ र विश्लेषण गरेर प्राप्त नतिजा रक्षा विभागलाई दिनेछ ।

गुगलको सफाइ
यस विषयमा गुगलका प्रवक्ताले भनेका छन्, ‘मेवेन रक्षा विभागले गरिरहेको एउटा प्रोजेक्ट हो र यसका बारे सबैलाई जानकारी छ । गुगल यसको जुन भागका लागि काम गर्दै छ, त्यो अप्रिय छैन । यसका लागि एउटा ओपन सोर्स सफ्टवेयर विकास गरी प्रयोग गरिनेछ जसलाई कुनै पनि गुगलका उपभोक्ताले प्रयोग गर्न सक्नेछन् ।’ उनले भने, ‘यो उपलब्ध जानकारीमाथि नै आधारित छ र यसका लागि प्रविधिको प्रयोगले फोटोहरूको पहिचान गरिँदै छ ता कि मानिसले यसलाई पुनः हेर्न सकून । यसको एक मात्र उद्देश्य ज्यान बचाउनु र मानिसलाई धेरै थकान हुने काम गर्नबाट रोक्नु हो ।’

आफ्ना कर्मचारीको चिन्तामाथि गुगलका व्यापार व्यवस्थापक ड्यान ग्रिनले भने, ‘जस्तो प्रविधिको सहयोगमा काम गरिरहेका छौँ, त्यसले हतियार वा ड्रोनलाई सक्रिय बनाउन सकिँदैन ।’ पत्रमा हस्ताक्षर गर्ने कर्मचारीले यो प्रविधि सेनाका लागि बनाइँदै छ र यो सेनाकै हातमा हुनेछ भने उसले मन लागेको ठाउँ वा अवस्थामा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया