बलात्कारको गलत समाचारले तनाव फैलियो

एजेन्सी
नयाँ दिल्ली । उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा सामाजिक सञ्जालमा एक झूठो खबर आएपछि तनावको स्थिति उत्पन्न भएको छ । यो विषयमा रुद्रप्रयाग जिल्लाका जिल्ला अधिकारी मंगेशकुमार घिल्डियालले बिबिसीलाई भने ‘सामाजिक सञ्जालमा फैलाइएको हल्लाले अगस्त्यमुनि क्षेत्रमा तनाव उत्पन्न भएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको छ ।’ उनले भने ‘केही पसलहरूबाट सामान बाहिर फ्याकियो । यो घटनामा कोही घाइते भएका छैनन् ।’ घिल्डियालले यो पनि भने कि ‘प्रहरीलाई यस्तो कुनै घटनाको जानकारी छैन । यो पूरै किसिमले झूठो समाचार थियो, तर सामाजिक सञ्जालमा फैलिएर मानिसले थाहा पाए र तनाव उत्पन्न भयो ।’

यस्तो फोटो पोष्ट गर्ने व्यक्तिको पहिचान भइसकेको र उसलाई चाँडै पक्राउ गरिने प्रहरीले बताएको छ । एक प्रत्यक्षदर्शीले नाम नछाप्ने शर्तमा भने ‘प्रदर्शनकारी थानाको नजिक जम्मा भएका थिए, जहाँ उनीहरूले उत्तेजित नारा लगाउँदै बजारमा गए र बाटोमा पर्ने मुसलमानको पसललाई निशाना बनाए ।’

प्रत्यक्षदर्शीले भने ‘मेरो घर नजिक मुसलमानको पसललाई निशाना बनाइएको छ ।’ हिन्दू बालिकालाई बलात्कार गरेको कुरा उनले पनि सुनेका रहेछन् । उनी भन्छन् ‘यहाँ सबै हिन्दू बालिकालाई बलात्कार गरेको कुरा गर्छन् र यसका कारण आक्रोशित छन् । सामाजिक सञ्जालमार्फत मैले पनि यो खबर सुनेको छु । धेरेजसोले मानेका छन् कि यस्तो घटना भएकै हो ।’

अगस्त्यमुनि उत्तराखण्डको एउटा धार्मिक महत्व भएको वस्ती हो, जो जिल्ला सदरमुकाम रुद्रप्रयागबाट १६ किलोमिटर टाढा पर्दछ । करिव २० हजार जनसंख्या भएको यो वस्तीमा उत्तराखण्डको एक मात्र डिग्री कलेज छ र यहाँ बसेर ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययन गर्छन् ।
स्थानीय पत्रकार हरिश गुसाइँका अनुसार अगस्त्यमुनिमा मुसलमानको संख्या सीमित छ र उनीहरू तरकारी पसलका साथै सानोतिनो काम गर्छन् । गुसाइँ भन्छन् ‘यो क्षेत्रमा हिन्दू युवतीलाई मुसलमान युवकले जिस्क्याएको घटना कयौंपटक चर्चामा आएको छ । तर यस्तो कुनै घटना प्रहरी कार्यालयमा दर्ता भएको छैन । आम मानिसमा यस्तो कुराले आक्रोश पैदा गरेको छ ।’

गुसाइँका अनुसार ‘प्रदर्शन स्वस्पूmर्त थियो, जसमा अधिकांश विद्यार्थी थिए । यो कसैले बोलाएर भेला भएका थिएनन्, सामाजिक सञ्जालमा फैलिएको हल्लाले जम्मा भएको भीड थियो ।’

प्रतिक्रिया