अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना पठाउने

वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गरेका छन् । चर्को आलोचनाकाबीच सीमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरूले जानकारी दिए । ‘देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,’ उनीहरूले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने ।

दुबै मन्त्रालय मिलेर दक्षिणपश्चिमी सिमानामा सँगसँगै सुरक्षा घेरा तैनाथ गर्न राष्ट्रपतिले आदेश दिएको सो अवसरमा जानकारी दिइएको छ । सीमा क्षेत्रको सुरक्षा अहिले संकटपूर्ण अवस्थामा पुगेको ट्रम्पको भनाइ छ । अमेरिकी जनताको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि पनि सीमाक्षेत्रमा सुरक्षा घेरा अत्यावश्यक भएको ट्रम्पले बताएका छन् । ‘मेरो प्रशासनलाई यस बारेमा छनोट गर्ने अर्काे कुनै पनि विकल्प छैन,’ उनले भने । ह्वाइट हासउद्वारा जारी वक्तव्यमा लागुपदार्थ र अपराधीहरूको अमेरिका तर्फको प्रवाहलाई रोक्न सुरक्षाकर्मी खटाउन लागिएको उल्लेख छ ।

कार्ययोजना र निष्कर्षसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । राष्ट्रपति ट्रम्पले बुधबार ट्विट गर्दै भनेका छन्, ‘मेरो प्रशासनले बुधबार नै आप्रवासनका बारेमा कडा कदम चाल्नेछ ।’ सिमाना र करसम्बन्धी कार्यालयलाई अहिले पठाइएका सुरक्षाकर्मीले सहयोग गर्ने तर हस्तक्षेप भने नगर्ने यहाँको गृह प्रशासनले बताएको छ ।अमेरिकाको संघीय कानुनमा अवैधानिक कामलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीले जुनसुकै ठाउँमा पनि कानुनको पालना गराउनसक्ने उल्लेख छ ।

अहिले पठाइने सुरक्षाफौजले प्रशिक्षण, निर्माण र गुप्तचरको कामका लागि विभिन्न तरिकाबाट भूमिका खेल्नसक्ने बताइएको छ । अमेरिकी गृहमन्त्री निल्सेनले के कति मात्रामा सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा पठाउन लागिएको हो, कति समय उनीहरू त्यहाँ बस्छन् र के कति खर्च लाग्छ भन्ने बारेमा भने केही जानकारी दिएका छैनन् । आप्रवासन नीति र सीमा सुरक्षाका बारेमा केही दिनदेखि सार्वजनिक दबाब र आलोचना भएपछि राष्ट्रपति ट्रम्पले सीमाक्षेत्रमा सुरक्षाकर्मी पठाउने घोषणामा हस्ताक्षर गरेका हुन् ।

उनले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनुपर्ने कुरालाई महत्वका साथ वेलावेलामा उठाउने गरे पनि पर्खाल लगाउन भने सकेका छैनन् । राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपति निर्वाचित हुने निर्वाचनको वेला मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने एजेन्डालाई प्रमुख चुनावी एजेन्डाको रूपमा प्रचार गरेका थिए । ‘पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउँदासम्म उनीहरूलाई त्यहीँ खटाइने छ,’ राष्ट्रपति ट्रम्पले भने, ‘यो निकै ठूलो कदम हो ।’

प्रतिक्रिया