फेसबुकद्वारा डाटा ह्याक भएको स्वीकार

क्याम्ब्रिजले ८ करोडको डाटा चोर्यो

वासिंगटन । सामाजिक सञ्जाल साइट फेसबुकले ब्रिटिस राजनीतिक कन्सल्टेन्सी कम्पनी क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको निजी डाटाको दुरुपयोग गरेको स्वीकार गरेको छ । फेसबुकका मुख्य प्रोऔद्योगिकी अधिकारी माइक स्क्रोफरले विभिन्न सञ्चारमाध्यममा आएको संख्याभन्दा बढी ८ करोड ७० लाख प्रयोगकर्ताको डाटा क्याम्ब्रिजले ह्याक गरेको आफ्नो ब्लग पोस्टमा स्वीकार गरेका हुन् ।

उनले गलत ढंगले क्याम्ब्रिज एनालिटिकासँग डाटा चुहाएको बताएका छन् । यसअघि विभिन्न सञ्चार माध्यमले पाँच लाख फेसबुक प्रयोगकर्ताको निजी डाटा क्याम्ब्रिजले दुरुपयोग गरेको दाबी गरेका थिए । उनले फेसबुकले अबदेखि आफ्ना प्रयोगकर्ताको निजी डाटा सुरक्षाका लागि कडा कदम उठाइरहेको बताएका छन् । कम्पनीले तेस्रो पक्षका एप डेभलपर्सका लागि उपलब्ध व्यक्तिगत डाटामा पनि प्रतिबन्ध लगाएको छ । उनले ती ८ लाख ७० हजार प्रयोगकर्तामा अधिकांश अमेरिकी रहेको बताएका छन् ।

अमेरिकामा सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले यो कम्पनीसँग सेवा लिएका थिए । फेसबुकले करोडौँ प्रयोगकर्ताको डाटा चुहिएको खुलासा भएपछि व्यक्तिगत डाटा सुरक्षाका लागि मार्च महिनाको अन्तिमदेखि ठूलो परिवर्तन गरिने घोषणा गरेको थियो । १७ मार्चमा फेसबुकको डाटा चुहिएको गुप्तचर प्रतिवेदनपछि उसलाई सेयर बजारमा सय अर्ब डलरभन्दा बढीको नोक्सान भइसकेको छ । डाटा चुहावटको समाचारपछि फेसबुकको सेयरमा १८ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीका प्रमुख प्राइबेसी अफिसर एरिन एगनले भने, ‘फेसबुकका मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्गको गत साताको घोषणाअनुसार हामी आउने सातादेखि केही यस्ता परिवर्तन गर्नेछौँ जसले प्रयोगकर्ताको आफ्नो निजी जानकारीमा धेरै नियन्त्रण हुनसक्नेछ । यसबाहेक फेसबुकको प्राइबेसी सेटिङ र मेन्युलाई पनि सहज बनाइनेछ, यसकारण कि प्रयोगकर्ताले सजिलै परिवर्तन गर्न सकुन् ।’

फेसबुकमा नयाँ सर्टकट मेन्यु पनि बनाइँदै छ, जसबाट प्रयोगकर्तालाई आफ्नो एकाउन्ट र निजी जानकारीमाथि पहिलेभन्दा धेरै नियन्त्रण हुनेछ । यो मार्फत प्रयोगकर्ताले यो थाहा पाउन सक्नेछन् कि उनीहरूले के सेयर गरे र के डिलिट गर्न सक्छन् । यो बाहेक सबै पोस्ट जसलाई प्रयोगकर्ताले री–याक्ट गरेका छन्, जति फ्रेन्ड रिक्वेस्ट पठाइएको छ, र जसको बारेमा फेसबुकमा सर्च गरिएको छ, सबैको पुनर्विचार गर्न सक्नेछन् । प्रयोगकर्ताले फेसबुकमा सेयर गरेका डाटालाई डाउनलोड पनि गर्न सक्नेछन् ।

यसमा अपलोड गरिएको फोटो र टाइमलाइनमा भएको पोस्ट लाउनलोड गर्न सकिनेछ र यसलाई कुनै अर्को ठाउँमा सेयर गर्ने पनि सुविधा हुनेछ । आउने सातादेखि कम्पनीले आफ्नो टर्म अफ सर्भिस र डाटा पोलिसीलाई राम्रो ढंगले प्रयोगकर्तासमक्ष प्रस्तुत गर्नेछ । यो जानकारी दिनेछ कि उसले कस्तो प्रकारको जानकारी लिइरहेको छ र त्यसको के उपयोग भइरहेको छ । सिइओ जुकरबर्गले यो घटनाप्रति माफी माग्दै स्वीकार गरेका थिए की ‘मेरो कम्पनीबाट गलत भएकै हो ।’ कसैको निजी डाटाको दुरुपयोग रोक्न यस्तो कदम उठाएको हो ।

प्रतिक्रिया