महिलाका लागि भारत कति सुरक्षित ?

नयाँ दिल्ली । भारतको दिल्लीकी एक २३ वर्षीया विद्यार्थीको बलात्कार र हत्या भएको पाँच वर्ष पुगेको छ । तर के भारत अहिले पनि महिलाका लागि सुरक्षित स्थल बनेको छ त ? १६ डिसेम्बर २०१२ मा एक युवती र उनका पुरुष साथी रातको ९ बजेलगत्तै बस चढेका थिए । त्यसपछि उनलाई चालक र बसमा रहेका अन्य पाँच पुरुषले बलात्कार गरे । उनीहरूले ती युवतीका पुरुष साथीलाई नराम्ररी कुटे । उनीहरूलाई मरणासन्न हुने गरी नग्न र रगताम्मे अवस्थामा सडकछेउमा छाडियो । केही बटुवाले फेला पारेपछि उनीहरूलाई अस्पताल पुर्याए र प्रहरीलाई खबर गरे ।

उनको उपचारका क्रममा १५ दिनपछि मृत्यु भयो ।  उनको पुरुष मित्र भने बाँच्न सफल भए तर जिन्दगीभर मनमा दाग लिएर । उक्त घटनाको बर्बरताले पूरै भारतलाई स्तब्ध तुल्यायो । भारतीय सञ्चारमाध्यमले ती युवतीलाई ‘निर्भया’ नाम दियो जसको अर्थ हो निडर । तर, मैले मेरो आफ्नै ‘निर्भया’ लाई चाहिँ त्यसको एक दशकभन्दा अघि नै भेटेको थिए जब म भारतमा बलात्कारसम्बन्धी एउटा रेडियो कार्यक्रम बनाउन लागिरहेकी थिएँ ।

मध्य दिल्लीमा एउटा गैरसरकारी संस्थाद्वारा सञ्चालित आश्रयस्थलमा मैले उनलाई भेटेकी थिएँ । उनी गुजरातको एउटा गरिब परिवारकी थिइन् । उनी निश्चित ठेगाना नभएको घुमन्ते समुदायकी सदस्य थिइन् । आफ्ना पति र सानो बच्चासँग उनी राजधानी आएकी थिइन् । केही महिना उक्त दम्पत्तिले दैनिक ज्यालादारी मजदुरको रूपमा काम ग¥यो । एउटा भ्रमणको सिलसिलामा उनीहरू गुजरात फर्कदैँ थिए ।  एउटा रेलवे स्टेसनमा परिवारका सदस्य रेल चढिसके पनि उनको रेल भने छुट्न पुग्यो ।

त्यहाँ उनी रोइरहेका बेला एक जना दयालुजस्तो देखिने शिख पुरुषले सहयोगको प्रस्ताव गरे । उनले आफू ट्रक चालक भएको र ती महिलालाई घर पु¥याइदिने बताए । आफूसँग पैसा नभएकाले उनले त्यो प्रस्ताव स्वीकार गरिन् । त्यसपछिका चार दिन उनलाई ट्रकमा घुमाइयो र ती चालक तथा अन्य तीन पुरुषले सामूहिक बलात्कार गरे । उनी मृत्युको मुखमा पुगेको ठानेर तिनीहरूले उनलाई सडकछेउमा छाडिदिए जहाँबाट उनलाई अस्पताल पुरयाइयो ।

जब म उनलाई भेट्न गएकी थिएँ, उनलाई केही महिनाको उपचारपछि अस्पतालबाट लगिएको थियो ।उनको शरीर एउटा युद्धक्षेत्रजस्तो देखिन्थ्यो । उनको भित्री अंगहरू यसरी क्षतविक्षत भएका थिए कि उनी पेटबाट निस्केको पाइप लिएर हिँडिरहेकी थिइन् जसमा एउटा झोला झुण्डयाइएको थियो । उनले आफ्नो स्तनमा पोलिएको दागहरू मलाई देखाएकी थिइन् जुन बलात्कारीहरूले चुरोटले पोलिदिएका कारण भएको थियो ।

उनलाई आफ्नो परिवार कहाँ छ भन्ने थाहा थिएन । उनलाई फिर्ता पठाउन गैरसरकारी संस्थाले गरेको प्रयास विफल भएको थियो ।  मैले उनीसँग आधा घण्टाभन्दा बढी कुराकानी गरेँ । उनको पीडा सुन्दा मानिस कतिसम्म निर्दयी हुनसक्छ भन्ने मनमा लागिरह्यो । म स्तब्ध भए र जिन्दगीमा पहिलोपल्ट मैले डर महसुस गरे । त्यसपछि मेरी बहिनी र मेरी एकदमै मिल्ने साथी जब म बसेको स्थानमा आउँथे र घर फर्कन्थे, म उनीहरूलाई घर पुगेपछि मोबाइलमा सन्देश पठाउन भन्थे ।

उनीहरूले सुरुमा त्यसलाई हल्कारूपमा लिए र कतिपटक उनीहरू रिसाए पनि । उनीहरूले खबर गर्न बिर्से भने म भोलिपल्ट बिहान उनीहरूलाई फोन गर्थे । उनीहरूले कहिलेकाहीँ मेरो मजाक बनाउँथे । र, १६ डिसेम्बर २०१२ को त्यो कहालीलाग्दो घटना भयो । उक्त भयानक घटनाको प्रत्येक विवरण सञ्चारमाध्यमहरू आइरहँदा, त्यो मेरो आघात ताजा बनेर आयो । ‘निर्भया’ले अस्पतालको शैयामा १५ दिनसम्म मृत्युसँग संघर्ष गरिरहिन् ।

टेलिभिजन र पत्रपत्रिकाले उनीमाथि भएको ज्यादतीको सानोभन्दा सानो विवरण दिइरहेका थिए । मेरो बहिनी र साथीले त्यसपछि मेरो मजाक उडाएनन् । त्यो मात्रै परिवर्तन थिएन । सडकमा भएका व्यापक प्रदर्शनपछि सरकारले महिलाविरुद्धको हिंसासम्बन्धी नयाँ कडा कानुन ल्यायो । तर सबैभन्दा ठूलो परिवर्तन सोचमा भयो । यौन दव्र्यवहार र बलात्कार सबैको घरघरमा चर्चाको विषय बन्यो ।  यौन र यौन हिंसाबारे कुरा गर्न वर्जितजस्तो ठानिने समाजमा त्यो ठूलो बदलाव थियो ।

साना हुन् वा ठूला, सबै घटनाबारे छलफल गरिएको छ र लेखिएको छ । सुरक्षितरूपमा बाँच्न पाउने महिलाको अधिकार र समानतामाथि अहिले सूक्ष्म नजर छ । तर, अपराधसम्बन्धी तथ्यांक राख्ने निकायका अनुसार, सन् २०१६ मा महिलाहरूमाथिको हिंसा बढ्दो क्रममा छ । दाइजोको नाममा अझै हजारौँ बेहुली मारिएका छन्, दशौँ हजार महिला र केटीहरू बलात्कृत भएका छन्, घरेलु हिंसा र बालिका भ्रूण हत्याका सयौँ हजार घटना अझै पनि भएका छन् ।

गत सातामात्रै एउटा ६ वर्षीया बालिकाको बलात्कार, यातना र हत्याको घटना भयो । क्यान्सर रोगको लडाइँमा जितेकी १६ वर्षीया युवतीको सामूहिक बलात्कार भयो । र अर्को, उडानका क्रममा विमानभित्र यात्रुले एक जना बलिवुड महिला कलाकारलाई यौन दव्र्यवहार गरेको घटना प्रकाशमा आयो । तर खुसीको कुरा के छ भने यी घटनाहरूसँगै भारतका महिलाहरूले आफ्नो लडाइँ छाडेका छैनन् । त्यसले नै भारतमा महिलाहरूको राम्रो भविष्यबारे आशा जगाएको छ ।

प्रतिक्रिया