साेल । गत मंगलबार अपराह्नसम्म उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङ आएको बारेमा बेखबर रहेको बताउने चीनले त्यही दिनको राति भने मुख खोल्यो । केही घन्टामै उसले मुख मात्र खोलेन किम बेइजिङमा आइतबारदेखि नै रहेको र मंगलबार राष्ट्रपति सी चिनफिङसँग रात्रिभोज गरेको पनि जानकारी दियो । भ्रमण मात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता भएको भन्दै चिनियाँ समाचार समिति सिन्ह्वाले मंगलबार राति नै दुई नेता र प्रथम महिलाहरूसमेत साथमा रहेको तस्बिर सार्वजनिक गर्यो ।
सिन्ह्वाले राष्ट्रपति सिले किमलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स कंग्रेसमा विशेष सम्मान र स्वागत गर्नुभएको समाचार सार्वजनिक गर्दासम्ममा विश्वका मिडियाले यो खबर भाइरल बनाइसकेका थिए । जापानका पत्रपत्रिकाहरूले मंगलबार बिहानदेखि नै किम या उत्तर कोरियाको उच्चपदस्थ सरकारी अधिकारी बेइजिङमा हुनुपर्छ भनेर ठोकुवा गरेर लेख्यो । त्यसलाई विश्वका अरू मिडियाले पनि पछ्याए र यो समाचार क्षणभरमै विश्वमा पुग्यो ।
गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहनुभएको थियो तर चीनले भने मंगलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्ला मात्र भन्नुभएको थियो । खासगरी, जापानी पत्रिकाले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन गरेका थिए ।
बेइजिङ र यसको आसपासमा उत्तर कोरियाको जस्तो देखिने रेल पुगेको र त्यो एक दुई दिनदेखि ओहोरदोहोर गरिरहेको ती पत्रिकाको दाबी थियो । चिनियाँ कम्युनिस्ट पार्टीको आमन्त्रणमा नेता किम बेइजिङ पुग्नुभएको थियो । तर सन् २०११ मा सत्ता सम्हालेयता कतै बाहिर नगएका नेता कतै भ्रमणको चर्चा नहुँदै अकस्मात यसरी चीन पुगेको कुरा कसैले अनुमान गर्ने कुरा पनि भएन । फेरि रेल चढेर गएको समाचारले सबैलाई आश्चर्य पनि तुल्याउने नै भयो ।
तर वार्तामा के कुरा भयो त भन्ने अर्को चर्चा सुरु भयो मिडियाको र त्यो अहिले पनि जारी नै छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने समाचार आयो र त्यसले संसारमा ठूलै चर्चा पायो । उहाँहरूबीच आगामी मे महिनामा वार्ताहुने चर्चा चलेकै बेला अकस्मात चीनको भ्रमणमा गएका यी नेता र चिनियाँ राष्ट्रपतिबीच के विषयमा कुराकानी भयो भनेर विश्वले चासो राख्नु पनि स्वभाविकै हो ।
उक्त भेटका क्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । त्यसबारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणका बारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्नेबारेमा भने केही बताइएको छैन । त्यसैगरी, अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताका बारेमा पनि केही प्रगति भएको हुनुपर्छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको चीन भ्रमणको स्वागत गर्नुभएको छ र यसले अमेरिकासँग हुने भनेको वार्तालाई पनि सहज हुने बताएको छ ।
केही महिनायतादेखि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको समाचारले विश्व चर्चा पायो । यी दुई देशबीच पनि यही अप्रिलको अन्तिम साता उच्चस्तरीय बैठकको आयोजनाको तयारीको गृहकार्य भएको छ । दक्षिण कोरियामा महिना दिनअघि सम्पन्न ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउला त भन्ने प्रश्नबाट सुरु भएको यी दुई देशबीचको सम्बन्ध सुधारको कूटनीतिले अब दुई देशका नेताहरू नै भेट्न सक्नेसम्म पुर्याएको छ । त्यसपछिको चर्चा उत्तर कोरिया र अमेरिका भेटवार्ताले पायो । यसलाई विश्वले सुरुमा लगभग असम्भव नै ठान्यो ।
तर अब त्यस भेटवार्ताको समय नै तय भइसकेको छ । एकले अर्काेलाई खरानी पारिदिने प्रतिस्पर्धामा लागेका दुई देश उत्तर कोरिया र अमेरिकाका नेता कसरी भेट्लान र त्यसले कस्तो परिस्थिति जन्माउला भन्ने विश्व चर्चा अहिले पनि छ । गएका केही वर्षदेखि कोरिया विश्व राजनीतिक चर्चाको केन्द्र भागमा रहँदै आएको छ । पहिले आणविक अस्त्रको उत्पादन र यसको जथाभावी परीक्षणका कारण उत्तर कोरियाको चासो थियो । यसका साथै उत्तरले अमेरिकामा आणविक अस्त्र हान्ने धम्की दिने गरेको थियो भने अमेरिकाले उत्तर कोरियालाई खरानी बनाइदिने बताउँथ्यो ।
यो आणविक आडको धम्कीपूर्ण चेतावनीले विश्वमा युद्धको त्राससमेत फैलाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले मार्च १० मा ट्वीट गर्दै भने , “उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्नेछ र त्यो वार्ता केवल औपचारिकतामामात्र सीमित नहुने सम्भावना मैले देखेको छु । त्यो वार्ता अभूतपूर्वरूपमा सफल हुने अर्को सम्भावना पनि मैले देखेको छु ।” यो चचाले मार्च महिनाभर पूरै विश्वलाई ततायो । परिस्थिति उहाँले आँकलन गरेकै बाटोमा अघि बढिरहेको छ ।
बिहीबारमात्र पनि राष्ट्रपति ट्रम्पले आफ्नो तीन हप्ता पुरानो ट्वीट पछ्याउँदै भन्नुभएको छ, उत्तर कोरियाली नेता किम जोङसँग वार्तामा बस्न निकै नै इच्छुक छु, अर्थपूर्ण वार्ता हुने आधारहरू तयार हुदै गएका छन् । यो किमको चीन भ्रमणपछि आएको हो ।” उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएकोले यो वार्ताप्रति उत्साह जागेको उहाँको भनाइ थियो । अप्रिल महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँगको सो वार्तापछि अमेरिकासँग पनि वार्ताको वातावरण बन्ने बताइएको छ ।
यो पछिल्लो वार्ताको आशाले कोरियाली प्रायद्वीपमा मात्र नभएर विश्व शान्तिका लागि सघाउ पुग्ने छ । तर पनि उत्तर कोरियाली हठ र अमेरिकी कूटनीतिलाई विश्लेषण गर्दा भने अझै पनि विश्लेषकहरूले प्रश्न भने उठाइ नै रहेका छन्— ‘के अमेरिका र उत्तर कोरियाबीच वार्ता होला ?’ तर विश्वको चर्चा यसरी बटुलिरहेको उत्तर कोरियाले शान्ति र दुवै कोरियाली जनताका लागि सोच्यो भने हतियारको होड त्याग्न र त्यसपछि कोरियाकै एकीकरणमा असम्भव भने छैन । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया