इस्लामावाद । सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्केकी छन् । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल भएकी थिइन् । हाल उनले एक जना बाल अधिकारकर्मीका रूपमा काम गरिहेकी छन् । उनलाई १४ वर्षकै उमेरमा पाकिस्तानी तालिबान लडाकुहरूले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए । त्यसपछि गम्भीर घाइते उनको बेलायतमा उपचार भएको थियो ।
मुस्लिम देश पाकिस्तानमा प्रायः बालिका शिक्षालाई त्यति प्राथमिकता नदिने गरेको र त्यहाँका कट्टरपन्थी पाकिस्तानी लडाकुहरू, तालिबानले बालिका शिक्षालाई अनुमति नदिने गरेकामा उनले भने बालिका शिक्षाको वकालत गरेकी थिइन् ।
यसरी पाकिस्तानमा बालिका शिक्षाको पक्षमा अभियान चलाएका कारण नै उनलाई तालिवानहरूले सन् २०१२ मा गोली हानेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उनको बेलायतको बर्मिङ्घमको एक अत्याधुनिक अस्पतालमा उपचार भयो ।
पछि उनको परिवार त्यहीँ बस्न थालेको हो । उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दै बालिका शिक्षासम्बन्धी अभियान पनि जारी राख्दै आएकी छन् । त्यस घटनापछि उनी पहिलोपटक पाकिस्तान फर्केकी हुन् । उनी बुधबार राती इस्लामावादको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । सुरक्षा संवेदनशीलताका कारण उनको पाकिस्तान भ्रमणसम्बन्धी कुनै पनि विस्तृत कार्यक्रमहरू भने गोप्य रखिएको छ ।
उनलाई तालिवानहरूले अहिले पनि धम्की दिइरहेकाले उनको भ्रमणका समयमा हुनसक्ने घटनालाई हृदयंगम गरी यसरी सुरक्षा सतर्कता अपनाइएको समाचारमा जनाइएको छ । मलालाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको भए पनि भेटको समय भने केही दिइएको छैन । उनको पाकिस्तान आगमनसँगै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।
इस्लामावादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आफ्ना आमाबुबासँगै अवतरण गरेको दृश्य पाकिस्तानी टिभीहरूले देखाएका छन् । मलालाले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको प्रधानमन्त्री बन्ने र यहाँका महिला र बालबालिकाको अधिकारमा कामगर्ने उद्देश्य रहेको यसअघि बताउँदै आएकी थिइन् ।
प्रतिक्रिया