तेलंगना । भारतको दक्षिणी राज्य तेलंगनाको नाल्लमाला जंगल नजिकका वस्तीमा रहेको छ नेमालिगुंदला रंगनायका मन्दिर । यो मन्दिरमा हजारौँ श्रद्धालुको भीड लाग्दछ । यहाँका मानिसमा एउटा मान्यता छ, जब कुनै महिलालाई महिनावारी भइरहेको हुन्छ तब उसलाई मौरीले टाक्छ । मन्दिरतर्फ गइरहेकी महिलालाई जब मौरीले टोक्छ तब पुरुषहरू सम्झिन्छन कि ती महिला रजस्वला भइरहेकी छन् ।
यसरी मौरीले महिलालाई टोकेको देख्नासाथ पुरुषहरूले महिलालाई कराउँछन्, गाली गर्छन् । किनभने रजस्वला भएकी महिलालाई मन्दिर जान निषेध छ । रजस्वला भएका समयमा महिलालाई मन्दिर गएमा मन्दिर अशुद्ध हुन्छ भन्ने मान्यता छ । मन्दिरको पुरानो शास्त्रीय मान्यतालाई हेर्दा यो मिथकसँग मिल्ने कथा पाइन्छन् । मन्दिरमा प्रमुख देवताका रूपमा विष्णुको महाअवतार महाविष्णुको पूजा गरिन्छ ।
कथाकाअनुसार करिब १ हजार ५ सय वर्ष पहिले श्री महाविष्णुको विवाह रंगा नामकी आदिवासी महिलासँग भयो र उनको नाम रंगनायक भयो । मन्दिरमा जुन तलाउ छ त्यो देवता आफैँले पानीखान बनाएका हुन्, जसलाई नेमालिगुंदम भनिन्छ । स्थानीय मानिसको मान्यता छ कि यहाँ मौरीले रजस्वला भएकी महिलालाई मन्दिर प्रवेश नदिएर यसको पवित्रता जोगाएका छन् । मानिसमा फैलिएको यो मिथकबारै जानकारी लिन केही पत्रकारले पनि मन्दिर क्षेत्रको भ्रमण गरेका थिए ।
श्रीनिवास राजु नामका एक भक्तले एउटा पुरानो घटना सम्झँदै भने, ‘यो सत्य हो, जब महिला रजस्वला भएको बखत मन्दिरमा आउन खोज्छन् तब मौरीले टोक्छ ।’ उनले भने, ‘मेरी साली महिनावारी भएको वेला मन्दिर आउन खोज्दा मौरीले आक्रमण नै गरेका थिए ।’ यस विषयमा महिलाहरूसँग कुरा गर्दा उनीहरू पनि यसलाई मान्दछन् । उनीहरू रजस्वला भएका वेला मन्दिर जान खोज्दैनन् । महिला भन्छन्, ‘मौरीले ती पुरुषलाई पनि टोक्छ जो रजस्वला भएकी महिलासँग मन्दिर गइरहेको हुन्छ ।’
यस विषयमा मन्दिरका पुजारीलाई सोध्दा उनले भने, ‘रजस्वलाका समय महिलाहरूका शरीरको फोहोर रगतको माध्यमले बाहिर निस्कन्छ । जसरी सुत्ने कोठा र भान्सा कोठामा शौच गर्न दिन सकिँदैन, त्यसरी नै रजस्वला भएकी महिलालाई मन्दिरमा प्रवेश दिन सकिँदैन ।’ पुजारीका अनुसार यो प्रथा मान्नुका पछाडि यही प्रमुख कारण हो । कुनै महिलाले यो बन्देजलाई नमानेर आफ्नो रजस्वला लुकाएर मन्दिर प्रवेश गर्न खोजे पनि मौरीले रोकेको पुजारीको भनाइ छ ।
यो क्षेत्रमा अन्धविश्वासविरुद्ध काम गरिरहेको संगठन जनविज्ञान वेदिकाको भनाइ छ कि महिलाको रजस्वला हुनु र मौरीले टोक्नुमा कुनै सम्बन्ध छैन, यो एउटा अन्धविश्वास मात्र हो । यही संगठनकी सदस्य सुजनाको भनाइमा यस्तो कयौँपटक भएको छ जब मौरीले पुरुषलाई टोकेको छ । उनी भन्छिन् विज्ञानमा यो कुराको कुनै प्रमाण छैन की रजस्वलाका समय मौरीले महिलालाई आक्रमण गर्छन् ।
महिलालाई रजस्वला भएको वेलामा मन्दिर जान नदिन यो कथा रचिएको बताउँदै सुजना भन्छिन्, ‘रजस्वला भएका महिलाले मन्दिरभित्रको तलाउमा नुहाए भने सो तलाउको पानी फोहोर हुन्छ भनेर यस्तो कथा रचिएको हो ।’
प्रतिक्रिया