शिक्षक सदरमुकाममा, विद्यार्थी गाउँमा

बैतडी । बैतडीको शिक्षा क्षेत्रमा वेथिति मौलाउँदै गएको छ । शैक्षिक संस्थाहरूमा राजनीति हाबी हुनु र जिल्ला शिक्षा कार्यालयको व्यवस्थापकीय कमजोरीका कारण शिक्षा क्षेत्रमा बेथिति मौलाउन थालेको हो । यस्ले विद्यार्थी र अविभावक मारमा परेका छन् । जिल्ला सदरमुकाम आसपासमा शिक्षकको संख्या धेरै छ, तर विद्याथी संख्या भने औलामा गन्न सकिने मात्रै छन् ।  सदरमुकाम नजिकैको जगन्नाथ प्रावि, माडलामा २१ विद्यार्थी छन् ।

उनीहरूलाई पढाउन ६ जना शिक्षक छन् । २१ विद्यार्थीमध्ये पनि विद्यालयमा थोरै मात्र विद्यार्थी आउँछन् । तर, ग्रामिण क्षेत्रका सिद्धेश्वर माध्यमिक विद्यालयमा २ सय ६९ विद्यार्थी छन् । उनीहरूलाई पढाउन ४ जना मात्रै शिक्षक छन् ।  सदरमुकाम नजिकैको ईश्वर आधारभुत विद्यालयमा पनि ४७ जना विद्यार्थीलाई १२ जना शिक्षकले पढाइरहेका छन् । यी त एक–दुई प्रतिनिधि घटना मात्रै हुन् । नेपालको शिक्षा क्षेत्र सुधारको लागि थुप्रै बजेट खर्च गरियो, तर गुणस्तर सुुधारमा भने लक्ष्यअनुसार परिवर्तन हुन सकेको छैन् ।

ज्ञान आर्जनको रूपमा चिनिने शैक्षिक संस्थाहरू राजनीति हाबी हुने गरेको अविभावक र विद्यार्थीहरूको गुनासो पनि नौलो होइन । बैतडीको सदरमुकाम नजिकका विद्यालयमा शिक्षक बढी छन् । तर विद्यार्थी थोरै छन् । तर बैतडीकै ग्रामिण क्षेत्रका विद्यालयहरूले भने वर्षौदेखि शिक्षकको अभाव झेल्दै आएका छन् । ग्रामिण क्षेत्रमा कार्यरत अधिकांश शिक्षकहरू निजी श्रोतका छन् । उनीहरूलाई तलब दिन विद्यालयहरूले चन्दा संकलन गर्नुपर्ने बाध्यता विद्यमान छ । तर, सदरमुकाम आसपासका विद्यालयमा विद्यार्थी थोरै तर शिक्षक धेरै छन् ।

सदरमुकाम र राजनीतिक पहुँचका आधारमा विद्यालयमा शिक्षकको व्यवस्था हुन्छ । ग्रामिण क्षेत्रका रहेका विद्यालयहरूमा कार्यरत निजी श्रोतका शिक्षकलाई तलब दिन चन्दा संकलन गर्नुपर्ने बाध्यता भएको सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र भट्टले बताए । यो समस्या आजको मात्रै होइन विगत देखि नै सदरमुकामका विद्यालयहरूले विद्यार्थी नपाउने तर ग्रामिण क्षेत्रका विद्यालयहरूले शिक्षकहरू नपाउने समस्या छ । यस विषयमा दरबन्दी मिलान गरेर समस्या समाधान गर्नुपर्ने जिल्ला शिक्षा कार्यालय, बैतडीका निमित्त प्रमुख शंकरदत्त भट्टले वताए ।

स्थानीय तहको निर्वाचनपछि शिक्षा क्षेत्रमा सुधार हुने आसा गरेका विद्यार्थी तथा अविभावकले निर्वाचनपछि झन् समस्या भएको गुनासो गरिरहेका छन् । शिक्षा क्षेत्रको बेथितीका बारेमा सम्बन्धित निकायले जिम्मेवार भई विद्यार्थीबिना नै सदरमुकाममा शिक्षण गरिरहेका शिक्षहरूलाई ग्रामिण क्षेत्रमा पठाएर हुन्छ या ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा शिक्षक दरबन्दी थपेर हुन्छ समस्याको समाधान गर्न जरुरी छ ।

प्रतिक्रिया