बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकाभर र्याली

वासिंगटन । संयुक्त राज्य अमेरिकाका सहरहरूमा बन्दुक राख्न पाउने कानुनमा कडाइको माग गर्दै आयोजना गरिएका र्यालीमा हजारौँ मानिसले भाग लिएका छन् । ‘हाम्रो जीवनका लागि र्यालीमा’ नाम दिइएको उक्त प्रदर्शनको नेतृत्व १७ जनाको ज्यान जाने गरी अघिल्लो महिना फ्लोरिडास्थित एउटा विद्यालयमा भएको गोलीकान्डमा बाँचेकाहरूले गरेका थिए ।

वासिंगटनमा हालसम्मकै सबैभन्दा ठूलो बन्दुक राख्न पाउने अधिकार विरोधी र्याली आयोजना भएको थियो । र्याली सुरू हुनुभन्दा कैयौँ घण्टाअघि नै मानिसहरू वासिंगटनमा जम्मा भएका थिए । विद्यार्थीले ह्वाइट हाउस र अमेरिकी संसद्लाई ध्यानाकर्षण गराउने प्रयास गरेको भए पनि राष्ट्रपति ट्रम्प भने वासिंगटन बाहिर निस्किएका छन् । उनी आफ्नो गल्फ क्लब रिजोर्ट रहेको फ्लोरिडामा छन् जहाँका विद्यार्थीले उनीमाथि बन्दुक राख्न पाउने कानुनी व्यवस्था अझ कडा बनाउन माग गरिरहेका छन् ।

कैयौँ सहरमा माइली साइरस, आरियाना ग्रान्डे, पल मकार्टनीजस्ता चर्चित व्यक्तिहरू शिक्षक र विद्यार्थीसँग ¥यालीमा सहभागी भएका थिए ।‘सहभागीहरूले बन्दुकलाई नभई विद्यार्थीलाई संरक्षण गर’ भन्ने माग गरिएका प्लेकार्डहरू बोकेका थिए । धेरै किशोर–किशोरीले प्रत्येक आमहत्याका घटनापछि व्यक्त हुने सहानुभूतिले आफूहरू वाक्क भएको टिप्पणी गरेका थिए ।

शुक्रबार ट्रम्प प्रशासनले अर्धस्वचालित राइफललाई मेसिनगनले जस्तै गोली हान्न सकिने बनाउन प्रयोग गरिने बम्प स्टक नामक उपकरणको प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो ।तर, अभियानकर्ताहरूले त्यो पर्याप्त नभएको बताएका छन् ।गत फेब्रुअरीमा फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको गोली प्रहारको घटनामा कम्तीमा १७ जना मारिएका थिए ।

प्रतिक्रिया