पूर्वक्याटलान नेता पुज्डमोन ‘पक्राउ’

डेनमार्क । क्याटलोनियाका पूर्वनेता कारलस पुज्डमोनलाई जर्मनीमा हिरासतमा लिइएको उनका वकिलले बताएका छन् ।
बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई हिरासतमा लिइएको उनका वकिलले सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश राख्दै जनाएका छन् । राज्यद्रोह गरेको आरोपमा स्पेनमा पुज्डमोन खोजीको सूचीमा छन् । गत वर्षको अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराए यता उनी बेल्जियमा स्वनिर्वासनमा छन् ।

उक्त जनमत संग्रहमा स्पेनले प्रतिबन्ध लगाएको थियो । उनका विरुद्ध हालै मात्र युरोपेली पक्राउ पुर्जी पुनः सक्रिय गरिएको थियो । जनमतसंग्रहपछि मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलान क्षेत्रीय संसद्लाई बर्खास्त गरिदिएको थियो र प्रत्यक्ष शासन लागू गरेको थियो । साथै त्यहाँ नयाँ चुनाव गराइएको थियो तर स्वतन्त्रता पक्षधर दलहरूले झिनो अन्तरले जितेका थिए ।

क्याटलोनियाको नयाँ प्रमुखका लागि चयन गरिएका उम्मेदवार पक्राउ परेपछि नयाँ प्रमुख चुन्ने योजनालाई पृथकतावादी नेताहहरूले त्यागिदिएका छन् । यस्तो अवस्थासँगै त्यहाँ तनाव जारी रहेको छ । शुक्रबार जोर्डी टुरुल्यासहित अन्य पाँच जना पृथकतावादी नेताहरू पक्राउ परेका थिए । उनीहरूको हिरासतको विरोधमा बार्सिलोनामा प्रदर्शनहरू हुनुका साथै प्रहरीसँग झडपहरू भएका थिए ।

प्रतिक्रिया