इन्काउन्टर संख्या १ सय ९२ मारिने ४ सय ४४

ती प्रहरी अधिकृत जसलाई पाकिस्तानमा ‘कसाई’ भनिन्छ !

एजेन्सी
इस्लामावाद । कराचीमा ‘किर्ते मुठभेड’ को वर्षा गराउने प्रहरी अधिकृत राव अनवार कैयौँ मामलामा असाधारण हुन् । यो वर्ष २०१७ जनवरीसम्म कराँचीको मलीर क्षेत्रमा एसएसपी रहेका राव अनवारको तुलनामा भारत महाराष्ट्रका इन्काउन्टर विशेषज्ञ दया नायक धेरै फुच्चे देखिन्छन् ।

राव अनवारको ३५ वर्षे कार्यकालमा कति जनालाई इन्काउन्टरका नाममा परमधाम पु¥याए यसको यकिन गर्नु निक्कै मुस्किल काम हो । पाकिस्तानको सर्वोच्च अदालतमा दुई फाइल दर्ता भएका छन्, सो फाइलका अनुसार जुलाई २०११ देखि २०१८ काबीच मात्र साढे ६ वर्षको अवधिमा अनवारको आदेश वा उनीद्वारा १ सय ९२ इन्काउन्टरमा ४ सय ४४ जनाको इहलीला समाप्त भयो ।

कैयौँ समय यस्ता रहे कि जब अनवारको ‘किल टु एरेस्ट रेशियो’ (गिरफ्तारी र मारिनेको अनुपात) ८०÷२० रह्यो । पाकिस्तानको पत्रिका ‘डन’ ले लेखेको छ कि ‘तपाईंले राव अनवारलाई कुनै पनि कोणबाट हेर्नुभयो भने पनि तपाईंको आँखाले कसाई नै देख्नेछ ।’

सबैका लागि भिलेन होइनन् अनवार

तर, यस्तो छैन कि सबैजना अनवारलाई भिलेन नै मान्दछन् । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ जरदारीले एउटा टिभीलाई दिएको अन्तर्वार्तामा ‘ब्रेभ ब्वाई’ भनेका थिए । यस विषयमा धेरै आलोचना भयो र उनले आफ्नो भनाई फिर्ता लिए । तर, यसले के देखायो भने अनवारको प्रशंसक र शुभचिन्तक पनि कम छैनन् ।

पाकिस्तानका पत्रकार बताउँछन् कि अनवारका प्रशंसक जरदारी मात्र होइनन् पूर्वप्रधानमन्त्री नवाज सरिफ र पाकिस्तानी पिपुल्स पार्टीका कैयौँ ठूला नेतासँग उनको उठबस थियो । पाकिस्तानका ठूला नेता र सैनिक जनरलहरूका ‘खराब काम’ अनवार खुसीसाथ गरिरहेका छन् ।
यही कारण मुठभेडका नाममा यतिका मान्छे मार्दा पनि उनलाई कसैले केही बिगार्न सकेन् कुनै–कुनै घटनामा अनुसन्धानको घेरामा पर्नुभन्दा बाहेक, तर, त्यसमा पनि उनले सफाइ पाएका छन् । अचम्मको कुरा त के भने अनवारको आदेशमा मारिएका जस्तासुकै अपराधी हुन वा खुँखार आतंकवादी कसैले उनलाई कुनै नोक्सान पु¥याएका छैनन् ।

‘डन’ पत्रिकाले लेखेको छ कि सैकडौं मुठभेडमा कुनै एउटा प्रहरी मारिने त टाढाको कुरा कोही घाइतेसम्म भएका छैनन् । यसको एउटै कारण हो कि उनी मुठभेडको किर्ते नाटक गर्न पनि आवश्यक ठान्दैनथे, मानाँै उनलाई सोधपुछसम्म हुँदैन । तर, नकिबुल्ला महसुद् नामका एक सुन्दर युवालाई मारेपछि भने कुरा बिग्रियो ।

वरिजिस्तान क्षेत्रबाट कराँची आएका २७ वर्षीय महसुद कुनै फिल्मी हिरोजस्ता देखिन्थे । एउटा पसल चलाएका थिए र मोडल बन्ने सपना सजाएका थिए । उनलाई तहरिक–ए–तालिवान पाकिस्तानको आतंकवादी भनेर गोली हानिएको थियो । तर, पाकिस्तानी तालिवानले महसुदसँग आफ्नो संगठनको कुनै सम्बन्ध नरहेको बतायो । त्यसपछि भने अनवार तीन महिना फरार भए ।

फरारपछि एक दिन अनवार यस्तो सानसँग सर्वोच्च अदालत हाजिर भए कि देख्ने सबै अचम्ममा परे । उनी एउटा गाडीमा सानले आए र त्यहाँ आफ्नो गाडी लगे, जहाँसम्म मात्र प्रधानन्यायाधीशको गाडीलाई जाने अनुमति थियो । सर्वोच्च उनलाई हिरासतमा पठायो । एउटा बख्तरबन्द गाडीमा उनलाई कडा सुरक्षबीच इस्लामावादबाट कराँची लगिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमकाअनुसार सर्वोच्चका न्यायाधीशले उनलाई सोधे ‘तपाईंलाई त मानिसले धेरै बहादुर भन्थे त, तर तपार्इं किन काँतरजस्तो गरी फरार किन भएको ?’ जवाफमा अनवारले भने, ‘मलाई फसाउन खोजिँदै छ ।’ अदालतले अनवारको कडा सुरक्षा व्यवस्था मिलाउन, तलब जारी राख्न, बैंक खाता रोक्काको निर्णय फिर्ता लिन आदेश दिएको छ ।

अनवारको निजी जीवनका बारेका धेरै कसैलाई थाहा छैन । उनी आफ्ना सहकर्मीसँग त्यति घुलमिल हँुदैनथे, त्यहीकारण उनको बारे धेरै जानकारी कसैसँग छैन । उनी एक्लै बस्न मन पराउँथे र कतिपय प्रहरी अधिकृत उनीसँग टाढै रहन खोज्थे । किनभने उनी विवादास्पद थिए । अर्को कुरा पाकिस्तानका प्रहरीहरू आफ्नो परिवारको जानकारी सार्वजनिक गर्दैनन् । केही ठूला तहका प्रहरी अधिकृत त केही महिनामै आफ्ना परिवारलाई एक ठाउँबाट अर्को ठाउँ सारिरहन्छन् ।

५८ वर्षीय अनवार हरेक फोटोमा प्रहरी पोसाकमा देखिन्छन् । गहुँगोरो वर्ण, औसत कद, पन्पारामा फुलेका कपाल, पातलाखालका जुँगा भएका अनवार सामान्य खालका प्रहरी नै देखिन्छन्, ठूला अधिकृतजस्तो होइन । अनवार सब–इन्स्पेक्टरदेखिको सिढी चढदै एसएसपीसम्म पुग्ने पाकिस्तानका एक्लो प्रहरी अधिकृत हुन् । उनी संघीय सेवाका कर्मचारी होइनन् र उनी कथित कुलिन परिवारका प्रहरी अधिकृतजस्तो धाराप्रवाह अंग्रेजी पनि बोल्न जान्दैनन् । उनी उर्दु मै कुराकानी गर्छन् ।

पत्रकारहरू भन्छन्, ‘पाकिस्तानको प्रहरीको पोसाक गाढा नीलो सर्ट र खाकीको पाइन्ट हो, जसको सैनिक पोसाकका अगाडि कुनै मान्यता छैन । तर, सबैभन्दा भिन्न अनवारको सौकत बेग्लै थियो, मानौँ उनी कानुनभन्दा माथि छन् ।’ यसको उदाहरण यो हो की एसएसपी भएपछि उनी ७४ पटक दुबई गए, यसका लागि उनले विभागीय स्वीकृतिसमेतलाई आवश्यक ठानेनन् । यो प्रश्न पनि अचम्मको छ कि एक लाख रुपैयाँ महिनाको तलब बुझ्ने प्रहरी अधिकृतले केही महिनाभित्रै ७४ पटक दुबई ओहोरदोहोर गर्ने पैसा कहाँबाट पाए ।

प्रतिक्रिया