फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार

क्यालिफाेर्निया । फेसबुकका संस्थापक मार्क जुकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौँ फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ । केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू संकलन गरेको र ती मध्ये धेरैले आफ्ना विवरण दिन सहमति नजनाएको बताइएको छ ।
केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पु¥याउन प्रयोग गरेको थियो । यो प्रकरणपछि फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो कम्पनीले गल्ती गरेको स्वीकारेका हुन् । उनले यो प्रकरणपछि अब तेस्रो पक्षले एपमार्फत फेसबुक प्रयोगकर्ताको जानकारी लिन सक्ने कुरामा कडाइ गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । प्रयोगकर्ताहरूको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएको स्वीकार्दै फेसबुकमा भएका कुनै पनि गल्तीका लागि आफू जिम्मेवार भएको उनले बताए ।
जुकरबर्गले एप बनाउने एलेक्जेन्डर कोगन, केम्ब्रिज एनालिटिका र फेसबुकबीच जे भएको थियो त्यो विश्वासघातसरह भएको पनि बताए । उनले फेसबुक र आफ्नो कम्पनीसँग आफ्ना जानकारी बाँड्ने प्रयोगकर्ताहरूलाई विश्वासघात भएको बताएका हुन् । फेसबुकमार्फत सूचना लिँदा जे गल्ती भयो त्यस्ता घटना फेरि नहोउन् भन्नका लागि भविष्यमा केही व्यवस्थाहरू गरिने उनले बताए ।

प्रतिक्रिया