सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले अन्तरिक्षमा रहेका फोहर सफा गर्ने उद्देश्यले भुइँबाट प्रयोग गर्न मिल्ने शक्तिशाली ‘लेजर’ प्रविधिको विकास गरिरहेका छन् । वैज्ञानिकहरूका अनुसार लाखौँको संख्यामा पृथ्वीलाई परिक्रमा गरिरहेका विभिन्न किसिमका टुक्राहरू अन्तरिक्षमा छन् । ती वस्तुका कारण भू–उपग्रहहरूमा क्षति पुग्नसक्ने वैज्ञानिकहरूले बताउने गरेका छन् । त्यस्ता वस्तुमा प्रयोग गरेर त्यसै छाडिएका रकेट तथा अन्तरिक्ष यानका पाटपुर्जा पर्छन् । अनुसन्धानकर्ताहरूका विचारमा उक्त लेजर प्रविधिले अन्तरिक्षमा रहेका अनावश्यक वस्तुहरूलाई अन्यत्र ठेलेर भू–उपग्रहसँग ठोक्किनबाट रोक्नसक्छ ।
परीक्षणको उद्देश्य ठूलो र बढी शक्ति भएको लेजरको विकास गर्नु रहेको छ । त्यसबाट अन्तरिक्षमा रहेका त्यस्ता अवशेषहरूलाई पृथ्वीको वायुमण्डलतर्फ तान्नेछ र त्यसपछि त्यो जलेर खरानी हुनेछ । उक्त प्रणाली अस्ट्रेलियाको राजधानी क्यानबेराभन्दा बाहिरपट्टिबाट सञ्चालन गरिनेछ । अन्तरिक्षमा साढे सात हजार टन फोहोर रहेको आँकलन गरिएको छ । युरोपमा पृथ्वीको परिक्रमा गर्ने अनावश्यक वस्तुहरू जम्मा गर्न ठूला जाली र लामा र धारिला प्रकृतिका भालाहरूको विकास गर्न लागिएको छ ।
प्रतिक्रिया