झारखण्ड । उत्तर भारतको झारखण्ड राज्यको एउटा अदालतले गत वर्ष भएको एक जना मुसलमान व्यापारीको हत्याको अभियोगमा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । गाईको मासु ओसारपसार गरेको भन्दै ५५ वर्षीय अलिमुद्दिन अन्सारीलाई कुटपिट गरी मारिएको थियो । भारतमा केही वर्षयता मासुको व्यापार गर्ने मुसलमानहरूमाथि आक्रमण हुँदै आएको भए पनि ‘गो रक्षा’ सम्बन्धित मुद्दामा अदालतले आरोपितलाई दोषी ठह¥याएको पहिलोपटक हो । हिन्दूहरू गाईलाई पवित्र मान्छन् र झारखण्डलगायत कतिपय राज्यमा गोवध प्रतिबन्धित छ ।
गाईको रक्षा गर्न भनेर हुने अप्रिय घटनाहरू भारतमा सामान्यजस्तै भएका छन् । तर, प्रहरीले गर्ने अनुसन्धानहरूपछि प्रायः अभियुक्तहरू दोषमुक्त हुने गरेका छन् । अन्सारीको हत्याको अभियोगमा १२ जना पुरुषहरूलाई समातिएको थियो । तर, अदालतले एक अभियुक्तलाई भने नाबालक भएको भनेर सजाय सुनाएन । ‘हामीले अधिकतम सजाय दिन अदालतसमक्ष अनुरोध गरेका थियौँ,’ अभियोजनकर्ता सुशीलकुमार शुक्लाले ‘इन्डियन एक्स्प्रेस’ पत्रिकालाई भने । मृतकका छोरा शाभन अन्सारीका अनुसार उनको परिवार अदातलको निर्णयप्रति सन्तुष्ट छ ।
तर, राज्य सरकारबाट कुनै क्षतिपूर्ति नपाएकोमा आफू निराश भएको उनले बताए । अदालतबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अन्सारीकी पत्नी मरियम खातुनले आफ्ना पतिको मृत्यु वियोगपूर्ण भएको भए पनि आफूले थप रक्तपात नचाहेको बताएकी थिइन् । उनका अनुसार उनी आफ्नो परिवारसँग शान्तिपूर्वक बस्न चाहन्छिन् ।सन् २०१४ मा हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी सत्तामा आएपछि ‘गो रक्षा’ गर्न भनेर बनेका समूहहरूलाई प्रोत्साहन दिने गरिएको छ । फलस्वरूप गाईको मासु खाने मुसलमान र दलित समुदायहरूमाथि आक्रमणका घटनाहरू हुने गरेका छन् । त्यस्ता घटनाहरूमा हालसम्म झन्डै एक दर्जन मानिस मारिएका छन् ।
प्रतिक्रिया