शिक्षक पक्की भवनमा, बालबालिका टहरामा

संखुवासभा । खाँदबारी नगरपालिका–८ स्थित पाठकगाउँमा रहेको आर्दश विद्या मन्दिर पुग्दा जो कोहीलाई अचम्म लाग्न सक्छ, अचम्म लाग्ने कारण विद्यालयमा कक्षा तीन का ३० जना बालबालिका बाँसका भाटाले बारेको स्थानमा त्रासमा बसेर पढ्न बाध्य छन् । विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू भने पक्की भवनमा बसिरहेका छन् । ०७२ सालको भुकम्पका कारण विद्यालय भत्किएपछि हालसम्म पुनर्निमार्ण हुन सकेको छैन ।

जिल्ला शिक्षा अधिकारी चेतकुमार पोख्रेलले पक्की भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाउँदासमेत सम्बन्धित निकायले चासो नदिएको बताएका छन् । उनले भने ‘बनेका पक्की भवनमा प्रअ र स्टाफ कोठा बनाई विद्यार्थीलाई टहरामा पढाइरहेकाले सम्बन्धित निकायले पाठक गाउँको विद्यालयलाई किन कारबाही नगरेको ?’ ‘जिसिअ सरको कुरा त ठीक हो, प्रअ र शिक्षक स्टाफ पक्की भवनमै बसेका छाँै तर कार्यालयमा विविध कागजपत्र हुन्छन्,’ शिक्षिका बबिता कटुवालले भनिन् ‘कागजातलाई त झन् टहरामा राख्न मिलेन होला नि ।’

उनले अझ थपिन्, ‘हामीलाई पनि रहर होइन विद्यार्थीलाई टहरामा राखेर आफू पक्की भवनमा बस्न, तर बाध्यता हो हामीसँग पर्याप्त कक्षाकोठा छैनन् । पक्की भवनमा जम्मा ६ ओटा कोठा छन् तिनिहरूमध्ये तीन ओटामा विद्यार्थी नै राखेका छौँ, एउटामा पुस्तकालय एउटा १२ जना शिक्षकको कोठा र एउटामा प्रअ र कम्प्युटर कोठा छ’, उनले भनिन् । विद्यालयका अनुसार खाली रहेको एक भवनमा बस्न नमिल्ने भएको छ जुन भवन भूकम्पले चिराचिरा पारेको छ ।

पुनर्निर्माणका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा उक्त विद्यालय मात्रै नभएर संखुवासभाका कतिपय सरकारी कार्यालय र व्यक्तिका घर अझै अलपत्र अवस्थामा छन् । त्रिपालको छानो पानी चुहिने भएकाले बर्षायाममा कतिपय विद्यार्थी नै विद्यालय नआउने गरेका छन् । यसरी शैक्षिक संस्थाजस्तो महत्वपूर्ण स्थलको बेवास्ता गरिँदा विद्यार्थीको भविष्य नै डामाडोल हुने निश्चित छ । त्यसैले सम्बन्धित निकायले शिक्षा क्षेत्रलाई वेलैमा ध्यान दिनु जरुरी छ । विनासकारी भूकम्पले भवन भत्किएपछि यस विद्यालयका कक्षा तीन का ३० विद्यार्थी बाँसको भाटाले बेरेको टहरामा अध्ययनरत छन् ।

प्रतिक्रिया