कसरी हुनसक्छ जन–उत्तरदायी कार्य ?

-प्रदीप उप्रेती  आर्थिक समृद्धिको चाहनासहित निर्वाचनमा होमिएको वामगठबन्धनले आफ्नो लक्ष्य प्राप्तिको मार्गमा सफलता हासिल गरेको मान्न सकिन्छ । निर्वाचनको समयमा आफ्नो विश्वासी मतदाता एवं नागरिक समाजसमक्ष प्रस्तुत गरेको बाचालाई यथार्थमा परिणत गर्ने अवसरहरू प्राप्त भएको हो वा अझै पनि केही द्विविधाहरू कायम रहेका छन् । निश्चितरूपमा समयको गतिले प्रष्ट पार्ने नै छ । लामो समयसम्म कायम रहेको संक्रमित राजनीतिको उत्तारचढावलाई चिर्दै वामगठबन्धनले सत्ताको बागडोर हातमा लिएको छ । राजनीति गर्ने समूहका लागि सत्ता प्राप्तिको मोहलाई अन्यथा लिन मिल्दैन ।

किनकी नागरिकका कार्यहरू यथा समयमा नै सम्पन्न गराउनको लागि भए पनि सरकारमा सहभागी हुनु विश्वव्यापी प्रचलित मान्यता नै हो । यस्को अभावमा गरिएको बाचाहरू मिथ्या सावित हुन जानेछ । यथार्थमा हेर्दा वर्तमान अवस्थामा वामगठबन्धनलाई कार्य गरेर देखाउने मार्ग प्रशस्त उपलब्ध भएको छ । अतः चुनावी नाराको रूपमा रहेको आर्थिक समृद्धिको सपना पूरा हुन निश्चितरूपमा नेकपा एमाले एवं नेकपा माओवादीबीच एकता हुनु नितान्त आवश्यक थियो । यस तथ्यलाई नै आधार बनाई एकता सम्भव भएको हो भन्दा फरक नपर्ला । नेपालको राजनीतिमा यस अगाडी सत्तामा रहेका समूहले नागरिक हितभन्दा पनि क्षणिक अवस्थामा रहेको दलीय द्वन्द्व, लोकतन्त्र तथा गणतन्त्रको दुहाईमा दिने कार्यमा प्रशस्त समय खर्चिएको कारण लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनमा ढिलाइ हुन पुगेको हो ।

यसका अतिरिक्त मुलुकको भौगोलिक जटिलता एवं भूपरिवेष्टितताको कारण आर्थिक समृद्धिको चाहना नागरिक समाजमा दर्शाउनु जति सहज छ ,व्यवहारिकरूपमा उतार्नु त्यतीकै कठिन देखिन्छ । आम नेपाली जनसमुदायको आर्थिक समृद्धिको चाहनाको पूर्ति गर्ने अभ्यासमा यसअघि रहेका सरकारका अलावा स्वयं वाम समूह पनि पटक–पटक सरकारमा सामेल भएर रचनात्मक कार्य नगरेको भने पक्कै पनि होइन । तथापी, समग्र मुलुकको विकास किन भएन भन्ने वास्तविक यथार्थपरक तथ्यसँग गठबन्धनमा आबद्ध रहेका दुवै खेमाहरू पक्कै पनि अनभिज्ञ रहेका छैनन् । दक्षिण एसियाका अधिकाशं मुलुकहरूमध्ये मिहेनती एवं सहनशिल नेपाली समूहको समुच्च आर्थिक विकास तीव्र गतिमा नहुनुको प्रमुख कारकतत्वमा लामो समयसम्मको द्वन्द्वगत व्यवधान, भौगोलिक विपन्नताको अतिरिक्त पूर्वाधार विकासको अभावलाई मूलरूपमा लिन सकिन्छ ।

यस विषयमा परिवेशको प्रत्यक्ष जानकार हुँदाहुँदै पनि आर्थिक समृद्धिको चाहना राख्नु कतिको जायज हुन्छ प्रगतिउन्मुख पथमा यस प्रश्नको सहिरूपमा समाधान खोजिनु मननीय छ । साथै नजिकको दुवै छिमेकी राष्ट्रसँगको सह–सम्बन्धको विकासले नेपालको आर्थिक समृद्धिको मार्गमा ऋणात्मक वा धनात्मक प्रभाव पार्ने भएको हुँदा उक्त विषयको गम्भिरतामाथि सहि मूल्याकंन गर्दै कुटनीतिक सम्बन्ध विस्तारमा लाग्नु मुलुकको लागि हितकर देखिन्छ । मित्रराष्ट्रबाट प्राप्त हुने आर्थिक, सामाजिक, प्राविधिक सहयोग राशीको अलावा सम्बद्ध मुलुकबाट प्राप्त हुने नैतिक समर्थनको सफलता वा विफलताको उचित मूल्याकंन एवं कार्यान्वयको गतिशीलतापश्चात् मात्रै आर्थिक समृद्धिले आफ्नो सहि गन्तव्य निर्धारण गर्ने भएको हुँदा वैदेशिक कुटनीतिको क्षेत्रमा उल्लेख्य कार्य गर्नुपर्ने हुन्छ ।

यी विषयहरू हेर्दा सामान्यझैं देखिए पनि मुलुकको आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । तसर्थ, वर्तमान बदलिँदो राजनीतिक परिवेश तथा शिक्षित नेपाली नागरिक समूह हिजोको जस्तो मिथ्या आश्वासनमा पक्कै पनि अल्झिने छैनन् । किनकी आर्थिक समृद्धि हाम्रो कारणले नभई अन्य कुनै समूह वा व्यक्ति विशेषलाई दोषको भागिदार बनाई सम्बन्धित राजनीतिक समूह पन्छिन सक्ने अवस्था अब रहेन । यस्ता गतिविधिमा निमेष मात्र फरक पर्न गएको खण्डमा त्यसको दीर्घकालीन प्रभाव पर्न गई भविष्यमा हुने निर्वाचनजन्य गतिविधिमा सम्बद्ध राजनीतिक समूहको छवि बिग्रन गई पराजयको भागीदार बन्नुपर्ने कटु यथार्थलाई अवश्य पनि भुल्न हुँदैन ।

गुण र दोषको आधारमा कार्य गर्दै नागरिक अदालतसमक्ष समुपस्थित भई प्रतिउत्तर दिनुपर्छ भन्ने कुराको मनग्ये हेक्का राख्दै होसियारीपूर्वक निर्वाचनको समयमा व्यक्त गरिएका सपना तथा वाचाहरूलाई निर्धारित पाँच वर्षको कार्यकालभित्रै मुलुकको आर्थिक क्षमता एवं संविधान तथा लोकतन्त्रको उच्च मूल्य र मान्यताको विशेष ख्याल राख्दै कार्य गर्नु नै जनविश्वासी कार्य हो । यस कार्यलाई पूर्णरूपमा कार्यान्वयन गर्नको लागि विपक्षी सहयात्री समूहको भावना एवं मर्ममा चोट नपुग्ने गरी सहमतीय व्यवहारमा कार्य गर्नुपर्ने चुनौतीसमेत वर्तमान सरकार सामु रहेको छ । यस चुनौतीलाई पार गर्नु नै वास्तविक राजनीतिक सफलता हासिल गरेको मान्न सकिन्छ ।

प्रस्तुत अवस्था त्यो वेलासम्म सम्भव रहन्छ, जब माओवादी विचार धारा तथा जनताको बहुदलीय जनवादको बीचमा हाल रहेको भनिएको एकतामा विचलन रहने अवस्था रहँदैन । वाम एकतामा समाहित रहेको समूहमध्ये अझै पनि माओवादी समूहको क्रान्ति छवि धमिलिने अवस्था सिर्जना हुने भएमा सम्बद्ध पक्ष हालको एकता प्रयासबाट बाहिरिने प्रबल सम्भावना रहन्छ । उक्त समूहमा सदैव एउटा त्रास सल्बलाएको छ कि, कतै माओवादी एमालेकीकरण प्रक्रियामा विलिन हुने त होइन ? किनकी मुलुकको राष्ट्रिय राजनीतिमा माओवादीको छुट्टै अस्तित्व भएकै कारण भिन्नरूपमा आफ्नो पहिचान बनाउन सदैव यो समूह लालायीत रहेको छ । नेपाललगायत समस्त दक्षिण एसिया क्षेत्रमा वेला बखतमा देखिने शीत तथा वाकयुद्धका कारण निम्तिने व्यवहारले पनि राष्ट्रिय वा अन्तराष्ट्रियस्तरमा सम्बन्धित मुलुकको कार्यशैली एवं दक्षता प्रस्तुत हुने कटु यथार्थलाई हामीहरू कसैले पनि भुल्नु हुँदैन ।

प्रस्तुत तथ्यलाई अन्य समुदायले सकारात्मकरूपमा मनन गर्ने परिस्थितिको विकास भए आर्थिक समृद्धिको क्षेत्रमा पनि सफलता हासिल गर्न सम्भव देखिन्छ ।  प्रस्तुत कार्यको पूर्ण सफलताको लागि प्रशासन–यन्त्रमा रहेको भ्रष्टाचारजन्य व्यवहारमा न्यूनता एवं आर्थिक पारदर्शिताको विकासले नागरिकको विश्वास जित्न सम्भव भएको हुँदा नागरिक समाजसँग समन्वय गरी कार्य गर्नु अति जरुरी भइसकेको छ । यसको विपरीत अवस्था कायम रहने हो भने जनअपेक्षामा तुवाँलो प्रवेश हुनेछ । यसका साथै विश्वजनमतले अवलम्बन गर्ने व्यवहार तथा वर्तमान सरकारले अंगिकार गर्ने रणनीतिपश्चात् मात्रै मुलुकको वास्तविक आर्थिक समृद्धि सम्भव हुने वा नहुने भनेर यथार्थमा निक्र्यौल गर्न सक्ने वातावरण तयार हुनेछ ।

प्रतिक्रिया