-बाबुकाजी कार्की नेपाल गणराज्यको संविधानमा प्रत्येक नागरिकको रोजगारीलाई मौलिक हकअन्तर्गत राखिएको छ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनबमोजिम हुने संवैधानिक व्यवस्था भए पनि खासै प्रगति भएको पाइँदैन । अहिले ब्रेन ड्रेनका कारण नेपाली युवा जनशक्ति विदेश पलायनले विकराल रूप लिँदैछ । उच्च शिक्षाको लागि उपयुक्त शिक्षण संस्था तथा आफ्नो योग्यताअनुसारको जागिर नपाएको कारणबाट विगत लामो समयदेखि प्राज्ञहरू विदेश पलायन हुँदै आएको विषय नौलो थिएन, तर पछिल्लो समय माओवादी द्वन्दकालदेखि वैदेशिक रोजगारमा जाने युवाहरूको संख्यामा अत्याधिक वृद्धि भएको छ ।
युवाहरूले आफ्नो देशमा भविष्य नदेख्नु देशको भविष्य पनि अन्धकार हुनु हो । विदेसिएका कामदारहरूबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र चलेकोमा सरकारमा रजगज गर्नेहरू मख्ख पर्नु शुभ संकेत होइन । ऊर्जाशील बेरोजगार युवाशक्तिलाई विदेश पठाएर नयाँ नेपाल बनाउने नारा अलाप्नु सत्ताधारीहरूको ढाँटको खेती मात्र हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक २ हजारको हाराहारीमा रोजगारीको लागि युवायुवती विदेसिने गरेको तथ्यांकले देखाउँछ । नेपालमा प्रत्येक वर्ष पाँच लाखका दरले युवाशक्ति रोजगारीका लागि तयार हुन्छन् । राज्यबाट देशभित्र रोजगार सिर्जनाका लागि खासै पहल नभएको कारणबाट अहिले झण्डै ५० लाख युवाहरू रोजीरोटीका लागि भौतारिँदै विदेशी भूमिमा पसिना बगाउन विवश भएका छन् ।
रोजीरोटीका लागि यसरी विदेसिनुलाई ब्रेड ड्रेनको रूपमा परिभाषित गरिन्छ । ब्रेन ड्रेनका अनेकौँ कारण हुन सक्छन् । राजनीतिक अस्थिरता र संक्रमणको नाममा स्वदेशमा रोजगारको अवसरको खडेरी तथा विदेशमा आकर्षक आर्जनको भ्रम आदिले विदेसिने मनोविज्ञान बढेको पाइन्छ । ब्रेड ड्रेन प्रवृत्तिलाई निरुत्साहित गर्न स्वरोजगारमूलक शिक्षाको अहं भूमिका रहन्छ । आफ्नै देशमा उपलब्ध पेसालाई अँगाल्न हिच्कीचाउँदै लाखौँ रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा सामान्य सिप र ज्ञान भए मात्र पुग्ने तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य कामगर्न तँछाडमछाडका साथ विदेश जाने फेसन नै भएको छ । अर्कातर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ ।
तर त्यही काम गर्वका साथ स्वदेशमा नेपालीले किन गर्दैनन ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुग्लान नै पस्नु पर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटीई निराश भइ विरक्तिएर विदेसिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेसिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? यो चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ । शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशिल जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निक्र्याैल गर्ने प्रचलन प्रसस्तै छ ।
जसको कारणबाट ‘आमा–बुबा’को अर्थ नबुझ्ने, तर ‘ड्याड मम’को संस्कारमा हुर्कने, दूध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने, कृषिमा हलो फाली करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गर्नु आजको खाँचो हो । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतः दैनिक जीवनमा प्रयोग हुने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ ।
पेपर पेन्सील परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनुपर्दछ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकी एक सय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्दछ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ ।
अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरूकोे व्यवहार अपेक्षाकृत सकारात्मक भएको पनि देखिन्न । त्यसकारण सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, एवं उर्जाशील सफल नागरिक बनाउने खालको व्यवहारिक शिक्षा आजको आवश्यकता हो । जसलाई पौरखी शिक्षा भन्न सकिन्छ । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्दछ । घर परिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकासँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्दछ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुची क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्दछ ।
उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्ने छौँ । हामीले भनेको मात्र उनीहरूले मान्नुपर्दछ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबर्जस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तको रूपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठयक्रम निर्माण र कार्यान्वयन गरिनुपर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनुपर्दछ ।
ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात् आफ्नो खुट्टामा आफैँ उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय परिभाषित हुनुपर्दछ । अतः उच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभावरहित भावना व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछि त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशिल, स्वाभिमानी देशभक्त नागरिक उत्पादन गर्ने शिक्षाको तर्जुमा र कार्यान्वयनबाट मात्र ब्रेड ड्रेनलाई रोक्न सकिन्छ ।
प्रतिक्रिया