अवकाशको दुई दिनअघि मकेब बर्खास्त

वासिंगटन । अमेरिकी संघीय अनुसन्धान निकाय एफबिआइका पूर्वउपनिर्देशक एन्ड्र्यु मकेबलाई अवकाश पाउनुभन्दा दुई दिनअघि पदबाट बर्खास्त गरिएको छ ।  महान्यायाधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् । त्यसको अर्थ मकेबले निवृत्तिभरणसम्बन्धी केही अधिकारहरू गुमाउनेछन् । उनी हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरण र सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपको आरोपसम्बन्धी छानबिनमा संलग्न थिए । राष्ट्रपति ट्रम्पले विगतमा निरन्तर मकेबको आलोचना गर्ने गरेका थिए । उनलाई बर्खास्त गर्ने निर्णयलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मकेब एफबिआइभित्र उच्च तहमा भएका भ्रष्टाचार र ठगीबारे जानकार भएको उल्लेख गरेका छन् ।
पछिल्लो निर्णयलाई ट्रम्पले सही भन्दै त्यो मेहनती एफबिआइका कर्मचारीका लागि खुसीको दिन भएको जनाएका छन् । एउटा वक्तव्यमा मकेबले आफूले निर्वाह गरेका भूमिका र एफबिआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएपछिका घटनाहरूबारे थाहा पाएकाले आफूलाई एक्ल्याइएको बताएका छन् । मकेबले हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरणसम्बन्धी अनुसन्धानसम्बन्धी सूचना एक पत्रकारलाई उपलब्ध गराउन आदेश दिएका थिए । तर, एफबिआइकै व्यावसायिक जिम्मेवारी हेर्ने एउटा निकायले उनले उक्त ‘बिफ्रिङ’ बारे पूर्ण रूपमा सही निर्णय नलिएको निष्कर्ष निकालेको थियो । मकेबले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
मकेबले उपनिर्देशकको पदबाट जनवरीमा राजीनामा दिएका थिए र उनी त्यसयता बिदामा बसेका थिए । सोमबार ५०औँ जन्मदिन मनाउन लागेका उनले त्यही दिन नै औपचारिक रूपमा अवकाश पाउन लागेका थिए । तर, बर्खास्तगीका कारण २० वर्षभन्दा बढी सेवा गरेपछि उनले पाउने भनिएको पूर्ण निवृत्तिभरण भने प्रभावित हुनेछ ।

प्रतिक्रिया