रुसद्वारा २३ बेलायती कूटनीतिज्ञ निष्कासित

मस्को । पूर्व रुसी गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिइरहँदा रुसले २३ ब्रिटिस कूटनीतिज्ञलाई निष्कासन गर्ने भएको छ ।  रुसी विदेश मन्त्रालयले मस्कोस्थित ब्रिटेनको दूतावासका कूटनीतिक कर्मचारीलाई ‘पर्सना नन ग्राटा’ अर्थात् आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रूपमा घोषणा गरिएको जनाएको छ । उसका अनुसार उनीहरूलाई एक साताभित्र निष्कासन गरिनेछ । ४ मार्चमा पूर्व रुसी गुप्तचरमाथि भएको हमलामा रुस संलग्न रहेको ब्रिटिस सरकारले आरोप लगाएको छ । त्यसपछि, ब्रिटेनले २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसकै प्रतिक्रियास्वरूप रुसले पछिल्लो कदम चालेको हो ।
रुसी विदेश मन्त्रालयको वक्तव्यमा रुसस्थित ब्रिटिस काउन्सिल पनि बन्द गरिने उल्लेख गरिएको छ । यस्तै, सेन्ट पिटर्सवर्गमा महावाणिज्य दूतावास खोल्न ब्रिटेनलाई दिइएको अनुमति पनि फिर्ता लिइएको छ । पूर्वी रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपाल अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरूको अवस्था अझै गम्भीर रहेको बताइएको छ । उनीहरू दुवै जना सल्सबरीमा एउटा बेन्चमा अचेत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया