तीन हजार फिटमुनि बसेको गाउँ

एरिजाेना । अमेरिकाको एरिजोनास्थित प्रख्यात ग्र्यान्ड क्यान्योन हेर्नका लागि विश्वभरका वार्षिक करिब ५५ लाख मानिस यहाँ पुग्ने गर्दछन् । किनकी, यहाँ यस्तो गाउँ छ जुन जमिनभन्दा तीन हजार फिटमुनि बसेको छ । जुन गाउँको नाम हो ‘सुपाई’ । यस गाउँको जनसंख्या जम्मा २ सय ८ मात्र छ । अमेरिकाको यस गाउँमा चिठी ल्याउन अथवा लैजान धरै समय लाग्ने गर्दछ । किनकी, यहाँ चिठी लैजानका लागि खच्चडको प्रयोग गरिँदै आएको छ । खच्चडको सुरुआत कहिलेदेखि सुरु भएको भन्न नसकिए पनि यसलाई अमेरिकी पोस्टल सर्भिसको भने मोहर लागेको छ ।  यो गाउँ जानका लागि खच्चड अथवा हेलिकोप्टरको प्रयोग गर्नुपर्ने हुन्छ ।

हालसम्म पनि यो गाउँमा जानका लागि सहरी बाटोसँग कुनै पक्की मुख्यसडक जोडिएका छैनन् । भएका सडक पनि खाल्टाखुल्टीले गर्दा हिँड्न मुस्किल हुन्छ । यो गाउँबाट नजिकैको सडक भेट्न पनि आठ माइलको दुरी पार गर्नुपर्छ । यदि कसैले हिम्मत निकाले भने हिँडेर पनि यो गाउँमा पुग्न सकिन्छ । सुपाई गाउँमा ग्र्यान्ड क्यान्योनको गहिरो रहस्य लुकेको छ । यो गाउँलाई चारैतिरबाट ठुल्ठूला पहाडले घेरिएको छ । गहिरो खाडलमा लुकेको यो गाउँ करिब एक हजार वर्षदेखि आवाद रहेको छ । यहाँ अमेरिकाका मूल वासिन्दा रेड इन्डियन बस्ने गरेका छन् ।
गाउँमा बस्ने जनजातिको नामाकरण पनि गाउँको सुन्दरतासँग जोडिएको छ ।

हवासुपाईको अर्थ ‘नीलो तथा हरियो पानी’ भन्ने हुन्छ । यहाँका मानिसहरू गाउँको पानीलाई पवित्र मान्दछन् । भनिन्छ, यहाँ निक्लने फिरोजी पानीबाट नै यस जनजातिको जन्म भएको हो ।  गाउँसम्म जानका लागि बाक्लो झाडी तथा अल्मलिने खालका खोँच पार गर्नुपर्ने हुन्छ । यस्तो बाटोमा हिँड्दा लाग्छ अगाडि पनि स्वर्गजस्तो ठाउँ होला भन्ने । तर, तपाईंलाई यस्तै गाउँले स्वागत गर्दै बोर्डमा लेखिएको भेट्नुहुनेछ, ‘सुपाईमा तपार्इंलाई स्वागत छ’ ।

२०औँ शताब्दीसम्म यहाँ अन्य मानिसलाई प्रवेश निषेध थियो । यो गाउँ सहरमा हुने गाडीको कोलाहलबाट पूर्णरूपमा शान्त छ । यहाँ खच्चड तथा घोडा गल्लीगल्लीमा देख्न सकिन्छ । यस गाउँमा सहरमा पाइनेजस्ता सुविधा नभए पनि आनन्दित जीवन बिताउनका लागि सबै थोकको व्यवस्था गरिएको छ । यहाँ हुलाक, क्याफे, दुइटा चर्च, लज, प्राइमरी विद्यालय तथा पसलहरू पनि रहेका छन् । यहाँका मानिस हवासुपाई भाषा बोल्दछन् । यहाँ सिमी तथा मकैको खेती गरिन्छ ।

यहाँका मानिसहरू टोकरी बनाएर सहरमा बेची आम्दानी गर्दछन् । टोकरी बनाउने यहाँको खान्दानी व्यवसाय हो ।गाउँ र सहरलाई जोड्ने काममा खच्चड गाडीको प्रयोग गरिन्छ । यिनै खच्चड गाडीबाट नै यहाँको आवश्यकताहरू सहरबाट गाउँसम्म पुग्दछन् । २०औँ शदाब्दीसम्म यहाँ बाहिरका मानिसलाई आउन प्रतिबन्ध गरिएको थियो, तर आम्दानी बढाउनका लागि सयवर्ष अगाडिदेखि यो गाउँ पर्यटनका लागि खोलिएको थियो ।

हरेक वर्ष यो गाउँमा करिब २० हजार पर्यटक प्राकृतिक सौन्दर्य तथा यहाँको रहनसहन हेर्नका लागि आउँछन् । तर, यहाँ जानका लागि पर्यटकले हवासुपाईको ट्राभल काउन्सिलको स्वीकृति लिनु पर्दछ । फ्रेबुअरीदेखि नोभेम्बर महिनासम्म पर्यटकहरू यहाँका मानिसको घरमा बस्न पाउँछन् । चाँदनी रातमा देखिने झरनाको सुन्दरता तथा संगीतमय आवाजको साथमा गाउँको मजा नै पर्यटको आकर्षण केन्द्र बनेको छ ।  यस गाउँका मानिसलाई सुखद् बनाउनमा प्रयोग गरिने खच्चडको बारेमा अहिले आवाज उठ्न थालेको छ । पर्यटकको वृद्धिसँगै खच्चडमा दबाब पनि बढेको छ । अहिले खच्चडको बढी प्रयोग गरिँदै आएको देखिन्छ ।

बिनाखानपिन आठ मिलको यात्रामा यिनै खच्चडको प्रयोग भइरहेको छ । त्यसैले यिनीहरूको स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने आवाज उठिरहेको छ । त्यसैले हवासुपाई ट्राभल काउन्सिलले एउटा टिम नै बनाएको छ जसले काममा प्रयोग भएका सबै जनावरको देखभाल गर्दछ । १ देखि १० नोभेम्बरसम्म जनावरको देखभालसहित स्वास्थ्यको प्रमाणपत्र दिने गरिन्छ । एरोजना सुख्खा राज्यको रूपमा पनि चिनिन्छ । यहाँको ग्र्यान्ड क्यान्योनमा कम पानी पर्दछ । तर, यहाँ ३० हजार वर्षदेखि रहेको पुरानो मूलले गर्दा यहाँ पानीको अभाव देखिँदैन ।

वैज्ञानिकहरू यस्तो मरुमूमिमा पनि यस्तो मूलको पानीको झरना कसरी रहेको छ भन्ने बारेमा खोजविनमा लागेका छन् । यो मूलको पानी फिरोजी रङ (हरियोपनले युक्त भएको नीलो)जस्तो देखिन्छ । यहाँको चट्टान तथा जमिनमा चुनावको मात्रा धेरै मात्रामा पाइन्छ । जब चट्टानमा पानी खस्दछ । त्यसवेलामा वायुको प्रभावले रासायनिक प्रतिक्रियाका कारण क्याल्सियम कार्बाेनेट बन्न सुरु गर्दछ । त्यसमा जब सूर्यको किरण पर्दछ अनि पानीमा यस्तो रङ देखापर्ने गर्दछ । युरोपियनहरू अमेरिका आएर बस्नुभन्दा पहिला हवासुपाईको क्षेत्रफल लगभग १६ लाख एकड थियो ।

जब यस इलाकामा सरकार तथा छिमेकीको आँखा प¥यो त्यसपछि यहाँको जमिन कब्जा गर्न सुरु भयो ।  व्यापारीले यहाँका वासिन्दालाई जबर्जस्ती उठाएर धपाउन थाले । आफ्नो हकहितका लागि हवासुपाईका आदिवासीले धेरै लामो लडाइँ लड्नुपरेको थियो । सन् १९१९ मा अमेरिकाका राष्ट्रपति थियोडोर रुजबेल्टले गै्रड कैनियनको नेसनल पार्क सर्भिसको एक भाग बनाए । जसले गर्दा यहाँका धेरै मानिसलाई रोजगारीको अवसर मिल्यो । तैपनि आफ्नो जमिनको स्वामित्वका लागि भने लडाइँ जारी नै राखे ।

१९७५ मा राष्ट्रपति जेराल्ड फोर्डले १ लाख ८५ हजार एकड जमिनको अधिकार हवासुपाईका वासिन्दालाई दिए । आजकल यहाँका मानिस कैनियनमा मात्र सीमित छैनन् । यहाँको जंगलमा सिकार गर्ने अधिकार पनि मिलेको छ । आजकल यो गाउँमा मानिसको आफ्नो छुट्टै सरकार छ । यहाँ ट्राभल काउन्सिलको चुनाव गाउँका मानिसले गर्दछन् र कानुन पनि आफैँ बनाउँछन् । तर, अहिले हवासुपाईमा खतराको बादल देखिएको छ । सन् २००८ तथा २०१० मा यहाँ ठूलो वर्षा भएको थियो । जसले गर्दा धेरै पर्यटक फँसेका थिए । सहरमा जाने ससाना बाटाहरू पनि नराम्रोसँग ध्वस्त भएको थियो ।

२०११ मा यहाँका मानिसले एरिजोना राज्यको गभर्नरका साथ अमेरिकी सरकारसँग आर्थिक सहायता मागेको थियो । सरकारले पनि करिब १६ लाख डलरको आर्थिक सहायता गरेको थियो । हजार सालदेखि यहाँ पर्यटकको आउनेजाने क्रम चलिरहेको छ । तर, हवासुपाईका मानिस यहाँ आरामसाथ बसेका छन् । उनीहरूको मान्यता रहेको छ कि उनीहरू पूर्वजको घरमा बसिरहेका छन् । यहाँको जमिन तथा झरनामा उनका पुर्खाहरू वास गर्दछन् । त्यसैले उनीहरू यहीँ बस्न रुचाउँछन् र बसिरहनेछन् ।

प्रतिक्रिया