गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै बालबालिका

तपेन्द्र कुँवर
अछाम । बिहान सुर्य नउदाउँदै गिट्टी कुट्न जाने कक्षा ५ मा अध्ययनरत (वर्ष १२) हस्त धामी विद्यालय जाने समय ९ बजेपछि मात्र घर फर्कने गरेका छन् । विद्यालयको समय पठनपाठन सकिएपछि साँझ ४ बजे फेरी गिट्टी कुट्न जाने गरेका छन् ।

धामीजस्तै अछामको साँफेबगर नगरपालिका–.११ का देविस्थानस्थित सेती लोकमार्ग सडक छेउछाउमा केही बालबालिकाहरू यसरी गिट्टी कुटेर पढाई खर्च जुटाउँदै आएका छन् । विद्यालय समयबाहेक उनीहरू राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् । विद्यालय समयमा पढाइ गर्ने र अन्य समयमा प्रायः उनीहरू गिट्टी कुट्ने काममा व्यस्त रहने गरेका छन् । आवश्यकताहरू आफैँ जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको धामीको भनाइ रहेको छ । ‘आर्थिक अवस्था कमजोर छ ।’ उनले भने, ‘गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएको छु ।’ देवीस्थानमा रहेको महाकाली प्राविमा कक्षा ५ मा अध्ययनरत साउद पढाइ खर्चसँगै लुगाफाटोको जोहोसमेत गर्दै आएका छन् ।

यस्तै, साँफेबगर नगरपालिका–११ देवीस्थानस्थित महाकाली प्राविमा कक्षा ३ मा अध्ययनरत (१०) वीरकला बोहरा पनि आर्थिक अवस्था कमजोर भएपछि गिट्टी कुटेर पढाइ खर्चको जोहो गर्दै आएकी छन् । दुई वर्षअघि आमाको मृत्यु भएकाले बोहरालाई पनि पढाइको लागि खर्च जुटाउन समस्या भएपछि गिट्टी कुट्न बाध्य भएकी हुन् । आँखाबाट आँसु खसाल्दै उनले भनिन्– ‘दुई वर्षअघि आमा बितिन् अहिले आमाको याद साह्रैै आइरहेको छ ।

गिट्टी कुटेर नै आफूले आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोसमेतका लागि पैसा जम्मा गर्ने गरेको उनले बताइन् । साथीहरूसँग गिट्टी कुट्नको लागि हथौडा भए पनि आफूसँग हथौडा नभएकाले कोदालाको बिँडले काम चलाउने गरेको उनी बताउँछिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने कैयौँ संस्थाहरू भए पनि आफूहरूलाई कसैले सहयोग नगरेको उनले बताइन् । महाकाली प्राविमा अध्ययनरत विद्यार्थीहरू राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै जाने गरेका छन् । छेउमै रहेको महाकाली प्राविको भवन निर्माणको लागि उनीहरू गिट्टी कुट्न थालेका हुन् ।

महाकाली प्राविका कक्षा २ मा अध्ययनतरत गर्ने युवराज बोहरा पनि विद्यायलमा पढाइसँगै गिट्टी कुट्ने खर्च जुटाउँदै आएका छन् । आफ्ना आवश्यकताहरू आफैँ जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको उनले बताए । ‘बुवा भारततिर हुनुहुन्छ, आमा घरको काममा व्यस्त हुनुहुन्छ ।’ उनले भने, ‘त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउनुपर्छ भन्ने सोचेर खाली समय गिट्टी कुटेर बिक्री गर्ने गर्छु ।’ उनले भने ‘बिहान बेलुका कम्तिमा पनि ४ देखि ५ कट्टा गिट्टी फोडेर बेच्ने गर्दछु ।

यसले मेरो कापी कलम मात्र नभएर घरको आश्यकतासमेत पूरा हुने गरेको छ ।’ एक कट्टाको दुई सय रुपैया दिने गरेको बोहराले बताए । अरू बिहान र बेलुकाको समय खेलेर बिताउँछन्, तर आफू भने हातमा हथौडा र कट्टा लिएर सडकछेउमा गिट्टी कुट्न निस्कने गरेको बताउँछन् ।

यस्तै, सोही विद्यालय कक्षा ५ मा अध्ययरत बालिका भाग्य धामी पनि दिनहँु फुर्सदको समयमा गिट्टी कुटेर आफ्नो पढाइ खर्च जुटाउने गर्छिन् । उनी आफ्नो साथीहरूसँग खेल्न जानुभन्दा पनि गिट्टी कुटेर समय बिताउन सहज लाग्ने बताउँछिन् । सडक छेउका विपन्न र गरीब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हथौडा र गिट्टी जम्मा गर्ने बोरा समातेको अवस्थामा सडकछेउमा भेटिने गर्दछन् ।

गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका विपन्न परिवारका बालबालिकाको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् । जिल्लाका केही सडक छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले ठुल्ठूला निर्माण कार्य भइरहेका छन् ।

प्रतिक्रिया