को हुन् हकिङ, यस्तो छ उनीबारे रोचक तथ्य

क्याम्ब्रीज । विश्व चर्चित वैज्ञानिक तथा ‘ब्ल्याक होल’ र सापेक्षतासम्बन्धी सिद्धान्तका प्रतिपादक स्टेफन हकिङको निधन भएको छ । बुधबार बेलायतको क्याम्ब्रिजस्थित आफ्नै घरमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो । उनका ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’लगायतका विज्ञानसँग सम्बन्धित थुप्रै पुस्तक निकै चर्चित छन् । बेलायतमा ८ जनवरी १९४२ मा जन्मिएका स्टेफन हकिङ अल्बर्ट आइन्स्टाइन र सर आयज्याक न्युटनपछिका सबैभन्दा ठूलो वैज्ञानिक मानिन्छन् । क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हान्ड विज्ञान केन्द्रका शोध निर्देशकसमेत रहेका उनको परिचय यतिमामात्र सीमित छैन, उनलाई ब्ल्याक होल पत्ता लगाएका खगोलशास्त्रका चर्चित वैज्ञानिक पनि मानिन्छ ।

एउटा गम्भीर रोगबाट पीडित उनको शरीरको अधिकांश भाग चल्दैन थियो । २१ वर्षको उमेरमा डाक्टरहरुले उनलाई ‘मोटर न्युरोन’ नामको रोग लागेको जानकारी दिएका थिए । दुर्लभ रोग मोटर न्युरोनको उपचार गरेपछि चिकित्सकले उनी अब केही वर्षमात्र बाँच्ने घोषणा गरेका थिए । त्यसका बाबजुद् उनी चिकित्सा विज्ञानलाई चुनौती दिँदै आधा शताब्दीभन्दा बढी शोध–अनुसन्धानमा सक्रिय रहे । उनी ह्वीलचेयरमा हिँड्डुल गर्थे । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहारालेमात्र बोल्न सक्दथे ।

हकिङले पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बताउने गरेका थिए । ‘मानवजातिलाई यसबाट जोगाउने एकमात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो’ भन्ने उनको मान्यता थियो ।उनले भनेका थिए–‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

वास्तवमा शारीरिक रुपले अशक्त भएरपनि पूरै युग हाँक्ने वैज्ञानिक थिए उनी । विद्यालय जीवनमा अतिकमजोर बालक स्टेफन हकिङकोरुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर । शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैंमा उत्कृष्ट दृष्टान्त हुन् । यसै कारण पनि उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको थियो । ब्ल्याक होल र सापेक्षतासम्बन्धी सिद्धान्तका प्रतिपादक स्टेफन हकिङ अब हामीबीच छैनन् । तर पनि उनका सिद्धान्त र योगदानले नयाँ युगलाई निर्देशित गरिरहनेछ । –एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया