दूधमा पानी मिसाउनेलाई ३ वर्ष कैद !

एजेन्सी
मुम्बई । दूधमा मिसावट गर्नेविरुद्ध महाराष्ट्र सरकारले कडा नीति लिन सक्ने भएको छ । यसलाई धरौटीमा रिहा हुन नसक्ने अपराधको कोटीमा राख्ने र ३ वर्षसम्मको कैद हुने कुरामा छलफल भइरहेको बताइएको छ ।

राज्यका खाद्य तथा नागरिक आपूर्ति मन्त्री गिरीश बापटले विधानसभामा दूधमा पानी मिसाउनेलाई ३ वर्षभन्दा बढीको कैद तोकियो भने धरौटीको कुनै चान्स नै नरहने बताएका छन् । विधायकहरूले जतिखेर पनि राख्न पाउने प्रस्तावको माध्यमले यो मुद्दा उठाएका थिए । यस क्रममा बापटले भने, ‘अहिले दूधमा मिसावट धरौटी पाउने अपराधमा पर्छ, यसमा ६ महिना कैदको व्यवस्था छ । यदी कारावास सजायको अवधि ३ वर्ष वा सोभन्दा बढी बनाइयो भने यो धरौटीमा रिहा हुन नपाउने हुन्छ । सरकारले चाँडै यस्तो विधेयक ल्याउनेछ ।’

महाराष्ट्र विधानसभाका कतिपय सदस्यले दूधमा पानी मिसाउनेलाई आजीवन कारावासको सजाय हुने व्यवस्था ल्याउन माग गरेका थिए । तर, मन्त्रीले यस्तो कानुन ल्याउन अड्चन गरेको बताएका थिए । बापटले अहिले यस्तो मिसावट जाँच गर्न चार वटा मोबाइल टोली भए पनि यसले नियमित रूपमा काम भने नगरेको स्वीकार गरे । मन्त्रीले यस्तो जाँच गर्ने अधिकारीलाई अब नियमित जाँच गर्न आदेश दिइने बताए । उनले भने, ‘यस्तो जाँच मुम्बई र राज्यको केही भागमा भित्रिने दूधमा बढी गरिनेछ ।’

यसअघि, भाजपा विधायक अमित साटमले मुम्बई भित्रिने ३० प्रतिशत दूधमा मिसावट हुने दाबी गरे । उनले मोबाइल भ्यानको कमी र कर्मचारीका कारण यसको ठीक तरिकाले जाँच हुन सकेको छैन । भाजपा सदस्यले दूध, औषधि र होटलका खानामा नियमित जाँच गरिरहनुपर्ने र यसका लागि कडा कानुनसमेत ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया