यमनको एडेनमा भिडन्त

यमन, २९ फागुन । यमनको बन्दरगाह सहर एडेनमा यमनी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच मङ्गलबार ब्यापक भिडन्त भएको समाचार छ ।

यस भिडन्तमा दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको अनुमान गरिएको स्थानीय अधिकारीले बताएका छन् । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले एडेनमा सुरक्षा तैनाथ गरेको छ ।

विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा भिडन्त सुरु भएका हो ।

घण्टौँ लामो यस भिडन्तपछि यमनी सेनाको शिविरलाई विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले सिन्ह्वालाई बताएका छन् ।

सिन्ह्वा न्यूज एजेन्सीका एडेनस्थित समाचारदाताले दुवैपक्षले यहाँका मुख्य सडकहरूमा व्यापक विष्फोट गराइएको तथा तथा गोली चलाइएको सुनिएको बताए ।

दुबैपक्षका कैयौँ सेना उपचारका लागि अस्पताल ल्याइएको अस्पताल स्रोतले जनाएको छ । यहाँ ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ । तर यसको यकिन विवरण भने प्राप्त भएको छैन ।

साउदी नेतृत्वको सेनाले घटनास्थललाई निगरानी गर्न हवाई सेना पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन् । यसबारे अन्य बिस्तृत विवरण भने प्राप्त हुन सकेको छैन ।

दक्षिणी बन्दरगाह सहर एडेन यमनको अस्थायी राजधानीका रूपमा सन् २०१५ देखि साउदी अरब गठबन्धन सेनाको सहयोगप्राप्त यमनी सरकारले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया