ज्यान जोखिममा पारेर पढ्न बाध्य छन् त्रिपुरा माविका विद्यार्थी

डोल्पा, २८ फागुन । यहाँको त्रिपुरासुन्दरी नगरपालिका-१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् ।

लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नु पर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक-पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

“विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,” प्रधानाध्यापक रमानन्द उपाध्यायले भने, “कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्” उनले थपे ।

जीर्ण भवन मर्मतका लागि जिशिकालगायतका थुप्रै संघ संस्थालाई अनुरोध गर्यौँ तर पनि कसैले नसुनेको उनले गुनासो गरे ।

कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ ।

भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए । “जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ” शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गरे ।

“पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छौं, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गरौं भने कोठाको अभाव छ” शिक्षक खत्रीले भने ।

उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताए । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ ।

प्रतिक्रिया