– अशिम सापकोटा कृषिप्रति घट्दो आकर्षण, कृषियोग्य जमिनको ह्रास, वर्णशंकर बिउमाथिको बढ्दो परनिर्भरता र युवा वर्गको विदेश पलायनले हाल खाद्य सुरक्षा सबैको चासोको विषय बनेको छ । नेपालमा करिब दुईदशक अघिसम्म स्थानीय उत्पादनले वर्षैभरि खान पुग्थ्यो । अतिवृष्टि, अनावृष्टिजस्ता परिस्थितिका कारण बालीनालीमा लाग्ने रोग र किराको प्रकोप दिनानुदिन बढिरहेको छ । त्यस्तै, बाढी, पहिरो, खडेरीजस्ता प्रकोपहरूले एकातर्फ कृषि उत्पादन घटाएको छ भने अर्कातर्फ मानिसहरू उत्पादनको विकल्पबारे सोच्न बाध्य छन् । यसका लागि उन्नत बिउको प्रयोग गरी व्यावसायिक तरकारी खेती र नगदेबालीतर्फ आकर्षण बढाई आम्दानीको स्रोत बढाउनु महत्वपूर्ण हुन आउँछ ।
कम जमिन भएको ठाउँमा स्थानीय प्रजातिको सट्टा उन्नत बिउ प्रयोग गर्दा केही वर्ष उत्पादन त बढ्छ । तर, बिउमा भएको लगानीको प्रतिफल छिटो लिन किटनाशक विषादी र रासायनिक मलको बढी प्रयोग गर्नुपर्ने हुँदा माटोको गुणस्तर ह्रास हुनुका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर पर्छ । उत्पादन बढाउने नाममा नेपालमा हाल किसानहरूले प्रायः वर्णशंकर बिउको प्रयोगलाई बढाएका छन् । युवावर्गको विदेश पलायनसँगै मानिसहरूमा देखापरेको उदासीनता तथा व्यावसायिक तरकारी खेतीको नाममा वर्णशंकर बिउको बढ्दो प्रयोगले कृषिको भविष्यबारे विज्ञ र अगुवाहरू निकै चिन्तित छन् । यस्ता बिउ भारत, चाइना, थाइल्यान्डलगायत विदेशी मुलुकबाट आउँछन् ।
यस्तो परिवेशमा यदि विदेशबाट बिउ आउन ढिला भयो, पुगेन वा आउन सकेन भने सम्पूर्ण बालीचक्र नै तहसनहस हुन्छ ।यसबाट किसान र उपभोक्ताहरू भोकै बस्न बाध्य हुन सक्छन् । यस्ता बिउको प्रयोगले स्थानीय बिउ लोप भई समग्र कृषि प्रणालीलाई गम्भीर असर पु¥याउनसक्ने देखिन्छ । सन् १९०२ मा मकैको बिउबाट वर्णशंकर बिउको सुरुआत भएपछि बिस्तारै तरकारी र फलफूलमासमेत यसको प्रयोग गर्न थालिएको हो । अमेरिकी पूर्वउपराष्ट्रपति हेनरी ए वालेसले यो अभियान थालेका थिए । सन् १८५४ देखि नै उन्नत बिउको सूची र निर्देशिका बनाई बिक्री वितरण थालिएको इतिहासले बताउँछ ।
यसै सन्दर्भमा वर्णशंकर बिउ उत्पादन गर्ने विदेशी कम्पनीमध्ये एक अमेरिकी बिउ उत्पादक कम्पनी मोनस्यान्टोले केही समयअघि नेपालमा आफ्नो बजार बिस्तार गर्न निकै प्रयास पनि ग¥यो । जिएमओ र हाइब्रिड बिउ उत्पादनमा विश्वका ठूला कम्पनीहरूमध्येको एक मोनस्यान्टो विश्वभरि विवादास्पद पनि छ । हरित क्रान्ति गर्ने र उत्पादन बढाउने नाममा रैथाने बिउबिजनलाई सखाप पार्दै गरिब किसानहरूलाई आफ्नो जालमा फसाएको भन्दै यस कम्पनीविरुद्ध विश्वभर लाखौँ मुद्दा दर्ता गरिएका छन् । तर, नेपालको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै केही उच्च अधिकारी तथा कृषि वैज्ञानिकहरूलाई प्रलोभनमा पारेर बजार विस्तार गर्ने उसको रणनीति सार्वजनिक भएपछि मात्र त्यस योजनाले मूर्त रूप लिन सकेन ।
यो त एउटा उदाहरण मात्र हो । यस्ता कैयौँ कम्पनीहरूले नेपालमा आफ्नाे साम्राज्य फैलाइरहेका छन् र गरिब किसानहरूलाई फसाइरहेका छन् । समस्या तरकारी बाली र अन्नबाली दुवैमा छन् । फलफूलमा त नेपाल पूर्णतः भारत र अन्य मुलुकमै आश्रित छ । नेपालमा धेरै कृषि वैज्ञानिकहरू जन्मिए, धेरै प्राविधिकहरूले गाउँगाउँमा कृषि सेवासम्बन्धी तालिम पनि दिए । तर, विषयको गम्भीरतालाई बुझेर विकल्पको प्रयोग गर्न हालसम्म कोही तयार देखिएनन् । स्थानीय प्रजातिका बिउबिजन संरक्षणका केही पहल अवश्य भएका हुन् । तर, यतिले पुगे यो अप्रयाप्त नै हो ।
अझै महत्वपूर्ण विषय के छ भने विश्वव्यापी रूपमा कृषि, वनजंगल, पानीका स्रोतहरूलगायत दैनिक जीविकोपार्जनका भिन्न आयामहरूमा जलवायु परिवर्तनले प्रभाव पारेको छ । हालको परिवेशमा विकसितभन्दा विकासोन्मुख मुलुकहरू यसबाट ज्यादा प्रताडित छन् । तिनले बनाउने आफू अनुकूलको व्यापारिक नीति–नियमले अति कम विकसित मुलुकहरूलाई सधै गाँज्ने गरेको छ । मुख्यतया कृषिमा आश्रित र कम आर्थिक विकास भएका नेपाल लगायतका भू–परिवेष्ठित र कम विकसित मुलुकहरूलाई यस किसिमका नियहरूले सधैँ पछाडि धकेल्ने गरेको छ । यस्ता मुलुकहरूले खाद्य सुरक्षाको कमजोर अवस्थालाई सुधार्न विकल्पको खोजी गर्न ढिलाइ भइसकेको छ । (लेखक एग्रो टाइम्सका प्रबन्धनिर्देशक हुन्)
प्रतिक्रिया