मुस्लिम र बौद्धबीच झडप, श्रीलंकामा १० दिन संकटकाल

कोलम्बो । श्रीलंकाको सरकारले १० दिनका लागि संकटकालको घोषणा गरेको छ । यसका पछाडि मुस्लिम र बौद्ध धार्मिक समुदायबीच बढ्दो तनावलाई कारण बताइएको छ । मंगलबार एक सरकारी अधिकारीले मुस्लिम र बौद्ध समुदायबीच बढ्दो तनावका कारण संकटकाल घोषणा गरिएको बताए । प्रवक्ता जयानिधि जयशेखराले रोयटर्सलाई भने, ‘एक विशेष मन्त्रिपरिषद् बैठकले १० दिने संकटकालको घोषणा गरेको हो । यो साम्प्रदायिक दंगा अर्को प्रान्तमा फैलिन नपाओस् भनेर यस्तो निर्णय गरिएको हो ।’ उनले भने, ‘यस्ता मानिसका विरुद्ध कडा कदम चालिने निर्णय भएको छ, जसले फेसबुकमार्फत हिंसा भड्काउने प्रयास गरिरहेका छन् ।’
विगत केही वर्षदेखि श्रीलंकामा दुई समुदायबीच तनाव भइरहेको छ । बौद्ध समुदायका मानिसले मुस्लिम समुदायलाई आरोप लगाइरहेका छन् । उनीहरू मानिसको धर्म परिवर्तन गराइरहेका छन् र बौद्ध पुरातात्विक वस्तुहरू तोडफोड गरिरहेका छन् । बौद्ध धर्मावलम्बीहरू श्रीलंकामा शरण लिइरहेका रोहिंग्याका पनि विरोध गरिरहेका छन् । संकटकाल गलाउने निर्णय मन्त्रिपरिषद्को विशेष बैठकले गरेको हो । मन्त्रिपरिषद्ले यो पनि निर्णय गरेको छ कि, ‘जसले हिंसा भड्काउने प्रयास गरिरहेको छ, त्यस्तालाई कडा कदम चालिनेछ ।’
यहाँको क्यान्डी सहरमा एक मुस्लिमको पसलमा आगो लगाइएको थियो, त्यसपछि यो क्षेत्रमा प्रहरीको विशेष दस्ता र सेना पठाइयो । त्यसपछि संकटकाल घोषणा गरियो । श्रीलंकाली सञ्चारमाध्यमका अनुसार सोमबार साँझदेखि क्यान्डी जिल्लामा हिंसा भड्केकाले मंगलबार यहाँका सबै शिक्षण संस्था बन्द रहेका छन् । केही प्रभावित क्षेत्रमा कफ्र्युको समय बढाएर मंगलबार साँझसम्मका लागि सारिएको छ । भिड तितरवितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्रीलंकाली मन्त्रीहरूका अनुसार अहिले १० दिनका लागि संकटकाल लगाइएको हो यदि स्थिति नसुध्रिए राष्ट्रपतिले यसको सीमा बढाउन सक्नेछन् ।

प्रतिक्रिया