बोक्सी आरोपमा कुटपिट : जाहेरी लिन प्रहरीद्वारा अस्वीकार

विपिन गौतम
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बोक्सी आरोपमा कुटपिट भएको घटनामा ठाडो उजुरी दर्ता गरी आरोपित व्यक्तिहरूलाई पक्राउ गरी रिहा गरेको तथ्य खुलेको छ । रौतहटको यमुनामाई गाउँपालिका–५ की ५० वर्षीया कान्तिदेवी ठाकुर हजामलाई स्थानीय धर्मेन्द्र राय यादव, उनकै भाइ सुनिल राय यादव र मुकेश राय यादवले आइतबार राती बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको घटनामा प्रहरीले पीडितको ठाडो उजुरी मात्र दर्ता गरी आरोपितलाई उन्मुक्ति दिएको हो ।

यादव दाजुभाइले पीडित कान्तिदेवीका पति रामस्वरूप ठाकुर हजामलाई ‘तेरी पत्नी बोक्सी भएका कारण हाम्रा बालबच्चा बिरामी परेका छन्, त्यसलाई यहाँ उपस्थित गरा, हामी मारेर फालिदिन्छौँ’ भन्दै कुटपिट गरी घाइते बनाएपछि पीडित कान्तिदेवी आफ्नो पतिलाई बचाउन जाँदा उनलाई समेत आरोपितहरूले कुटपिट गरी घाइते बनाएका पीडितले बताइन् ।

यादव दाजुभाइको कुटपिटबाट घाइते दुवैजनाको गौर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते दुवैको शरीरको भित्री भागमा गम्भीर चोट लागेकाले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनीहरूको अवस्था अझै गम्भीर रहेको गौर अस्पतालका अहेव पंकज ठाकुरले बताए ।

कुटपिटबाट घाइते भएका ठाकुर दम्पतीले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटमा बोक्सीको आरोपमा कुटपिट गरेको भनी उजुरी दिन जाँदा प्रहरीले जाहेरी नलिई ठाडो उजुरी मात्र दर्ता गरेको पीडितहरूले गुनासो गरेका छन् । प्रहरीले पीडितहरूको घाउ जाँच केस फारामको लागि मात्र निवेदन दर्ता गरे पनि उक्त निवेदनमा स्पष्ट रूपमा बोक्सीको आरोपमा कुटपिट गरेको भनी उल्लेख भएको छ ।

घाउ जाँच केस फारामको लागि निवेदन दर्ता गरी प्रहरीले आरोपितहरूलाई गिरप्mतार गरी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याइएकोमा कुनै कारबाही नगरी छाडिएको पीडित रामस्वरूप ठाकुरले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बोक्सीको आरोपजस्तो संवेदनशील मुद्दामा आरोपितले उन्मुक्ति नपाउने बताउँदै दोषीलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया