शान्ति अधिकारी, सञ्चालक सदस्य, नेफ्स्कुन
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय रहेकोमा १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ अर्थात् ५१ दशमलव ५० प्रतिशत महिला रहेका छन् । संख्यात्मक आधारमा समानुपातिक व्यवस्था हुने हो भने हरेक निकायमा ५१ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने हो ।
वर्तमान कानुनले ३३ प्रतिशत सहभागिताको व्यवस्था गरे पनि यसको कार्यान्वयन हुन केही वर्ष अवश्य लाग्नेछ । विभिन्न समयमा भएका आन्दोलन र महिला अग्रसरताका कारण राज्यले लिएको सकारात्मक विभेदको नीतिले महिलाको सम्पत्तिमाथिको स्वामित्व तथा राज्यका विभिन्न निकायमा महिलाको सहभागिताको अवस्थामा सुधार देखिएको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा राजनीतिक दलले ४० प्रतिशत महिला सदस्य अनिवार्यता, प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य रूपमा उठाउनुपर्ने, सबै तह र निकायमा ३३ प्रतिशतको नीतिले पनि विगतको तुलनामा धेरै सुधार हुँदै आएकाले अझ प्रयास गर्नसके आधाआधाको हिस्सामा महिलालाई पु¥याउन अब धेरै समय नलाग्न सक्छ ।
सहकारीमा महिला
नेपालमा ०१३ बाट ०४८ सम्मको अवधिमा ८ सय ३० वटा सहकारी गठन भएका थिए । पञ्चायतकालीन त्यस अवधिमा महिला मात्र सदस्य रहेको सहकारी संस्था गठन हुन सकेका थिएनन् । प्रजातन्त्रको पुनःस्थापना पछि हाल देशभर ३४ हजार ५ सय १२ सहकारी संस्था दर्ता भएका छन् । सहकारीका सदस्य ६३ लाखभन्दा बढी पुगेको छ जसमा ५ दशमलव ९६ प्रतिशत महिला छन् । नेपालमा दर्ता नभएका महिलाहरूले सञ्चालन गरेका वचत कोषहरूको लेखा नै छैन ।
तथ्यांक हेर्दा देशभरिका सहकारी संस्थाको सञ्चालक समितिको कुल संख्याको ३९ दशमलव ३४ प्रतिशत महिला सञ्चालक पुगेको पनि देखिन्छ । सहकारीका कर्मचारी मध्ये ४७ दशमलव ९८ प्रतिशत महिला कर्मचारी रहेका छन् । महिलाले मात्र सञ्चालन गरेका सहकारीका कुल सञ्चालकको संख्या पनि त्यसमा समावेश भएकाले नेपालका सहकारीमा समग्रमा निर्णायक तह वा पदाधिकारीमा महिलाको सहभागिता करिब २१ प्रतिशतसम्म रहेको अनुमान छ ।
अन्तर्राष्ट्रिय अनुभव :
सहकारीमा महिला सहभागिता बढाउन गरिएको प्रयास र सफलताका सन्दर्भमा केही अन्तर्राष्ट्रिय अनुभव लिने अवसर पाएको थिए । एक महिनाको जापान बसाइँमा त्यहाँको सहकारीको विकासक्रम बारे अध्ययन र अवलोकन गर्ने अवसर पाएँ । सन् १९६० पश्चात् जापानमा सहकारीको विकासक्रमसँगै महिलाहरूलाई जीवन उपयोगी सीपहरू सिकाउन थालिएको रहेछ । परिवारको स्वास्थ्यलाई सहयोग गर्ने खानपिनका तरिका, करेसाबारी कसरी सधैँ हराभरा बनाउने, फुर्सदको समय कसरी सदुपयोग गर्ने, बाहिरी दुनियाँको खबर कसरी थाहा पाउने, बालबालिकाको पढाइमा कसरी सहयोग पु¥याउनेजस्ता सीप र ज्ञानले जीवनयापनमा सहजता आई महिलाहरूको अवस्थामा सुधार हुँदै गएको र पछि बिस्तारै समानान्तर रूपमा महिला संघ खडा गरी हरेक कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष र संघका अध्यक्षलाई समान हैसियत दिने गरियो ।
यसले एकाएक नेतृत्वमा महिला सहभागिता सुनिश्चित गर्नुका साथै सशक्तिकरण बढायो । जापानी महिलाहरू अहिले पनि घरपरिवार, समाजप्रति उत्तरदायी हुँदै आफ्नो वृद्धावस्थाको समेत पर्वाह नगरी सहकारी संस्थामा काम गरिरहेका भेटिन्छन् । जापानको कृषि सहकारी विश्वमै चर्चित छ । यसैगरी थाइल्यान्डका महिलाहरूलाई व्यावसायिक बनाउन त्यहाँको सरकार र सहकारी दुबैको भूमिका उल्लेखनीय रहेको छ । थाई महिलाहरूद्वारा उत्पादित हस्तकलाका सामग्रीले विश्व बजारमा स्थान बनाउँदै छ । मलेसियामा सहकारी कलेजको स्थापना गरी निःशुल्क औपचारिक सहकारी शिक्षा एवं तालिमको व्यवस्था गरेको छ । त्यहाँका महिलाहरू खुल्ला र स्वतन्त्र भई सहकारीमार्फत व्यवसाय गरिरहेका छन् ।
महिला सहभागिता किन ?
महिलाले सम्पत्ति आर्जन गरेमा खर्चको पहिलो प्राथमिकता बालबालिकाको पढाइ, खानपान र स्वास्थ्यमा दिने भएकाले महिलाहरू आर्थिक गतिविधिमा निर्णायकको भूमिका वहन गर्ने अवसर पाएमा यसले दिगो आर्थिक विकासमा सकरात्मक असर पार्दछ । त्यस्तै महिलाले सञ्चालन गरेका सहकारी तथा संस्थाहरूमा आर्थिक पारदर्शिता, तथा भ्रष्टाचार न्यून भएको पाइएको छ । अर्को एक अध्ययनले सहकारीमा सबै जात, धर्म, वर्ग र समुदायहरूका महिलाहरूको सहभागिताले सामाजिक सद्भावमा सहयोग पुगेको देखाएको छ । सहकारीका सदस्यबीच आफ्ना समस्याहरू, प्रगतिहरू बारे छलफल गर्दा अरू बढी आत्मियता बढेको पाइन्छ ।
सहकारीमा आवद्धताले आत्मविश्वास, स्वभिमानमा वृद्धि भएको छ । हेपिएका महिलाहरूलाई व्यवसायको क्षेत्रमा सहकारीले पु¥याएको सहयोगले उनीहरू पनि पुरुषसरह आफ्नो व्यवसाय गर्न र आर्थिक रूपमा आत्मनिर्भर हुन सक्षम भएका छन् । यदि एक महिलाले सहकारीमा आवद्ध भई वचत गरेमा उसको परिवार र समाज पनि समृद्धिको वाटोमा अगाडि बढ्छ । सहकारीबाट महिलाहरूलाई कृषि क्षेत्र, वित्तीय सेवा, सेवा प्रदायक, सजावट वा कुटीर उद्योग आदि विभिन्न क्षेत्रमा सहयोग पुगेको देखिन्छ ।
तसर्थ, आफ्नो व्यक्तिगत तथा पारिवारिक उन्नति र विकासका लागि स्वतन्त्र रूपमा निर्णय लिन, सामाजिक छबीको विकास गर्न, नवीनतम प्रविधि, स्रोत र साधनमा पहुँच पु¥याउन र राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन महिला सशक्तिकरण आवश्यक छ । सहकारीले पाखा पारिएका र एकल रूपमा कार्य गरिरहेका महिलाहरूलाई संगठित गरी आर्थिकस्तर वृद्धि गर्न सहयोग पु¥याउने गरेको छ ।
महिला सहभागिताका अवसर र चुनौती
सहकारी अभियानमा सहभागी हुँदा महिलाले क्षमता विकास तथा आर्थिक रूपमा आत्मनिर्भर बन्ने अवसर पाएका छन् । यसले समाजमा महिलाको हैसियत बढाएको छ । क्षमताको विकाससँगै महिलाले नेतृत्व विकास गर्दै राजनीतिक तथा सामाजिक क्षेत्रमासमेत आफ्नो प्रभावकारी भूमिका प्रदर्शन गर्न थालेका छन् ।
वर्षौंदेखि पछाडि पारिएका महिलाले आफ्नो क्षमता विकास गर्दै अगाडि बढ्दा समग्र समाजलाई नै सुसंस्कृत र सभ्य बनाउन थप बल पुगेको छ । वर्तमान परिवेश तथा आगामी दिनमा सहकारी अभियानमा लाग्ने महिलाका लागि अवसर र चुनौति के के छन् यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । भविष्यमा आउने अवसरको सदुपयोग गर्न तथा चुनौतिको सामना गर्न वर्तमानमा भएका सबल र सुधार गर्नुपर्ने पक्षको विश्लेषण गर्न जरुरी छ ।
सबल पक्ष
१) उत्साह जनक सहभागिता ।
२) आत्मबलको विकास ।
३) आर्थिक आत्मनिर्भरता ।
४) बढ्दो सामाजिक हैसियत ।
५) नेतृत्व विकासका लागि सहज माध्यम ।
सुधार गर्नुपर्ने
१) तालिमका लागि घर छाडेर हिँड्न कठिनाइ । घर परिवार, सामाजिक भूमिका र पेसागत कार्यमा तारतम्य मिलाउन नसक्नु तथा परिवारका सदस्यले सहयोग नगर्ने समस्या छ ।
२) व्यवस्थापकीय दक्षतामा कमी । कतिपय सहकारीमा समय पालना र नीति कार्यान्वयनमा उदार देखिएको छ । यसले प्रतिफलमा पनि असर पारेको पाइन्छ । नीति कार्यान्वयन र समयसीमा पालनामा कडिकडाउ गर्न सक्नुपर्छ ।
३) सिर्जनात्मक सहभागितामा कमी । योजना तर्जुमा कार्यान्वयन तथा मूल्यांकनजस्ता निर्णायक तथा सिर्जनात्मक कार्यक्रममा महिला सहभागिता न्यून रहने गरेको छ । सहभागी भए पनि निष्क्रिय रहने आफ्ना कुरा नराख्ने गरेको देखिन्छ । नयाँ योजना ल्याउने कार्यान्वयनका लागि क्रियाशील हुने भएमा मात्र अगाडि बढ्न सकिन्छ ।
४) खर्च गर्न डराउनु । सहकारीले वचत गर्न सिकाउँछ । खर्च गर्न सिकाउँदैन । अब खर्च गर्न पनि सिकाउने वेला आयो । कुन ठाउँमा खर्च गर्दा त्यसले फाइदा गर्छ कुन ठाउँमा गर्दा गर्दैन भन्ने कुरा सिकाउनुपर्ने भएको छ । क्षमता विकासका कार्यक्रम खर्चिलो भनेर महिलाहरू सहभागी नहुने देखिएको छ । विगतमा अरूसँग माग्नुपर्ने थियो । पैसा दिने मान्छेका १० वटा प्र्रश्नको सामना गरेर पैसा मागेर सहभागी हुन कठिन थियो । अब आफ्नै हातमा आर्थिक अधिकार भइसकेपछि मितव्ययी तरिकाले खर्च गर्न सिक्नुपर्छ । क्षमता विकासका राम्रा अवसर आएका वेला खर्चबाट डराएर पछि हट्न हुन्न ।
वर्तमानमा देखिएका सबलपक्ष कायम राख्दै दुर्बल पक्षमा सुधार गर्दै लैजाने हो भने महिला सशक्तिकरणका लागि सहकारी अभियान बरदान सावित हुन सक्छ । जसका संकेतहरू देखिसकिएको छ ।
अवसर
१) राज्य महिलाप्रति जिम्मेवार बन्दै छ । राज्यका नेतृत्व तहमा बसेका व्यक्तिले महिला सहभागिताको महत्व बुझिसकेकाले महिला सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिन थालेका छन् । समानुपातिक सहभागिताका नीति निर्माण भइरहेका छन् । यो महिलाहरूका लागि नयाँ नयाँ अवसरको ढोका खुल्ने संकेत हो । सहकारीसहित विभिन्न क्षेत्रमा आरक्षणको व्यवस्था भएकाले त्यस्ता अवसर लिनका लागि सहकारीमार्फत सीप तथा नेतृत्व विकास गरी तयार रहनुपर्छ ।
२) अन्तर्राष्ट्रिय दबाबमूलक सहयोग मिल्दै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ लगायतका निकायले अगाडि सारेका नीति महिला मैत्री छन् । महिलाको सहभागिता मात्र होइन निर्णायक भूमिकामा महिला हुनुपर्नेमा जोड दिइएको छ । यसको एउटा उदाहरण भिजन २०–२० पनि हो । दिगो विकासका १७ लक्ष्य मध्ये पाँचौँ स्थानमा लैंगिक समानता पर्नु अवसरका हिसाबले महत्वपूर्ण हो ।
विश्व ऋण परिषद्ले Global Women’s Leadership Network Sister Society local Chapter को माध्यमबाट महिला सशक्तीकरणमा जोड दिँदै आएको छ । राज्य जिम्मेवार बन्दै अगाडि बढ्ने क्रममा रहनु र यसै समयमा अन्तर्राष्ट्रिय सहयोग र दबाब आउनेले महिलाहरूले सहकारीबाट प्रसस्त अवसर प्राप्त गर्ने देखिएको छ ।
चुनौती
१) पितृसत्तात्मक सोचमा परिवर्तन अझै आउन नसक्नु । तुलनात्मक हिसाबले बिगतमा भन्दा महिलाको हैसियत बढे पनि पितृसत्तात्मक सोच हटिसकेको छैन । महिलाले सक्छन र ? भन्ने धारणा अझै पनि छ । हाम्रो पुस्ताले यो सोच हटाउन भरमग्दुर प्रयास गरेनौँ भने हामी पछि आउने पुस्ताले पनि यो सोचको सिकार हुनुपर्छ । यस्तो सोच पुरुषमा मात्र होइन महिलामा पनि छ । हामीहरू नै महिलाभन्दा पुरुषलाई नै सक्षम देख्छौँ । यो सोच हामीले पनि सुधार गर्नुपर्छ । अवसर पाए हामी सक्छौँ भन्ने भावना हामीमै पनि विकास गर्नुपर्छ ।
२) दोहोरो जिम्मेवारीको बहन । महिलाहरू अगाडि बढे पनि परिवारको रेखदेख गर्ने, भातभान्सा, लुगा कपडा सरसफाई लगायतका काम अझै पनि महिलाको मात्र जिम्मेवारीमा छन् । उस्तै खालको कार्यालयमा काम गर्ने पुरुष जागिरबाट आएर चोक चौतारामा बसेर चिया चुरोट खादै गफ गर्ने, घर पुगेर टिभी हेरेर बस्ने गर्छन् । महिलाहरू हतारहतार घर पुगेर खाजा खाना तयार गर्नुपर्छ । यस्तो दोहोरो जिम्मेवारीको बहनले कार्यक्षमतामा कठिनाइ हुन्छ ।
तर, हाम्रो पुस्ताले यो दोहोरो जिम्मेवारीलाई चुनौती मानेर सामना गर्नुपर्छ । हामी पछिको पुस्ताले बिस्तारै यो जिम्मेवारीबाट मुक्त हुँदै जानेछन् । हामीले घर बाहिरको काममा कुनै पनि हालतमा उत्कृष्टता हासिल गर्नै पर्छ । अन्त्यमा, सहकारीले पाखा पारीएका र एकल रूपमा कार्य गरिरहेका महिलाहरूलाई संगठित गरी आर्थिक तथा सामाजिक क्षमताको विकासमा सघाउ पु¥याउँदै आएको छ । यसले समाजमा महिलाको हैसियत वृद्धि भएको छ । उनीहरूको बोलीको महत्व बढेकाे छ । लैंगिक मूल्य मान्यता र संस्कृतिको प्रभावले गर्दा सहकारीमा महिला सहभागीता नेपालमा मात्र होइन विश्वमै तुलनात्मक हिसाबले पुरुषभन्दा कम छ ।
अझ त्यसमा पनि नेतृत्व तहमा सक्रिय सहभागिता (कार्यकारी पद) र व्यवस्थापकीय भूमिका (व्यवस्थापक) मा झन् कमी छ । तर यो अन्तरको दुरी बर्सनि घट्दै छ । चुनौती मुक्त नभए पनि महिलामैत्री परिवेश तयार हुँदै गरेकाले सक्रिय सहभागितामार्फत नयाँनयाँ अवसर प्राप्त गर्न महिलाहरू लाग्नुपर्छ । सहकारीमा महिला सहभागिताले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी राज्यका निकायको ध्यानाकर्षण गराउन जरुरी छ ।
प्रतिक्रिया