पर्यटकीय गन्तव्य बन्दै कुपिण्डे ताल

मिना बुढाथोकी
सल्यान । सल्यानको कुपिण्डे ताल आजभोलि आन्तरिक पर्यटनको केन्द्र बनेको छ । प्रदेश–६ को राजधानी सुर्खेतबाट ६८ किलोमिटर पूर्विक्षेत्रमा रहेको सल्यान जिल्लाको कुपिण्डे ताल आन्तरिक पर्यटकका लागि गतिलो गन्तव्य बनेको हो । सल्यान जिल्लाका मात्रै नभएर प्रदेश–५ र ६ का विभिन्न जिल्लाबाट कुपिण्डे ताल हेर्न आउने संख्या बढेको छ ।

विगत तीन वर्षयता कुपिण्डेमा घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको स्थानीय पोखरसिंह कँुवरले बताए । ‘डुंगा सयर गर्ने, मनोरम वातावरण र हिम श्रृंखलाको दृश्यावलोकनको मज्जा बेग्लै छ ’उनले भने । कुपिण्डे ताल सदरमुकाम खलंगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे ताल पुग्न सकिन्छ । सदरमुकामबाट नजिकै भएकाले विभिन्न सरकारी, गैरसरकारी संस्था र विद्यालयका विद्यार्थीका लागि पर्यटकीय आर्कषणको केन्द्र बनेको हो । यसका साथै सल्यानको सल्लीबजारबाट आधा घण्टाको गाडिको यात्रापछि कुपिण्डेतालमा पुग्न सकिन्छ ।

कुपिण्डेबाट च्याखुरे, सिस्ने लगायतका हिमश्रृङ्खलासमेत हेर्न सकिन्छ । तालमा पछिल्ला १० वर्षदेखि डुंगा सञ्चालनमा आएकाले पर्यटकको आगमनमा वृद्धि भएको स्थानियले बताएका छन् । डुंगा चालक सूर्य बुढाथोकी दहमा घुम्नका लागि सल्यान, जाजरकोट, सुर्खेत, दाङ र बाँकेबाट बढी मात्रामा मानिसहरू आउने गरेको बताए ।

उनले भने, ‘आउन त झण्डै १ दर्जन जिल्लाबाट आउछन् ।’ उनले दैनिक पचासदेखि दुई सय जनासम्मले तालको अवलोकनका लागि आउने गरेको बताए । ‘आवश्यक पूर्वाधार विकास गर्न सके पर्यटकको संख्या अझै बढ्ने निश्चित छ’, उनले भने ।
३२ मिटर गहिरो ताल करिब दुई किलोेमिटर लामो र एक किलोमिटर चौडाइ क्षेत्रमा फैलिएको छ । जसका कारण डुंगाबाट पुरै तालको परिक्रमा गर्न झण्डै साढे २ घण्टा लाग्छ ।

उत्तर दक्षिणतर्फ फैलिएको उक्त तालको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा ताल । हरियाली वनजङ्गल छ । जङ्गलमा घोरल, रतुवा, कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न ताल वरिपरिको सय मिटर क्षेत्रभित्र वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको स्थानियले बताएका छन् ।

पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेको कुपिण्डे तालको विकास गर्न पर्यटन बोर्डलाई अनुरोध गरेको स्थानीय चेतलाल पोखरेलले बताए । दुई वर्षयता कुपिण्डेमा बनभोज र डुङ्गामा रमाउन आउने क्रम बढेकाले पनि आवश्यक पूर्वाधारको विकास लागि कार्यक्रम माग गरेको उनको भनाइ छ ।

कुपिण्डे ताल मात्रै नभएर जिल्लाका अन्य स्थलहरूसमेत पर्यटकहरूका लागि गन्तव्य बन्न थालेका छन् । खैरावाङ्ग भगवती मन्दीरमा दशँैको अवसरमा मात्रै नभएर सल्यान घुम्ने जो कोही पनि पुग्ने गर्छन् । वर्षेनी लाखौँ भक्तजनहरू यस मन्दिरमा पुग्ने गर्दछन् । यस्तै सतिदेविको बाँकी सबै अंग पतन भएको विश्वास गरिने सल्यानको छाँयाक्षेत्र बलि नदिइने एक मात्र शक्तिपिठ हो । यस मन्दिर पनि पुग्ने आन्तरिक पर्यटकहरूको संख्या उल्लेख्य रहेको छ ।

यसका साथै सल्यानको सुन्तलाको लागि कोटमौला, कुमाख पदयात्रा, भल्चौरको मालिका, कालिमाटीको कछुवा दह र गंगामाला भगवती मन्दिरसमेत स्थानिय तथा आन्तरिक पर्यटनका लागी गतिलो स्थानकोरूपमा दरिएका छन् ।

प्रतिक्रिया