एकता कसैले रोक्न सक्तैन : दाहाल

सौर्य समाचार
महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता कसैले रोकेर नरोकिने बताएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका–८ स्थित हाथिलेटमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वाम एकता भाँड्न ठूलै चलखेल रहेको भन्दै कोही–कसैले भाँडेर षड्यन्त्र गरे पनि वाम एकता भएरै छाड्ने बताए ।

अब देश नयाँ युगतिर गइसकेको बताउँदै उनले अहिले देशको लागि ठूलो निर्णय लिनुपर्ने वेलामो षड्यन्त्रकारीले चलखेल गर्ने भएकाले सबैलाई सचेत रहन आग्रहसमेत गरे । कहिले माओवादी, कहिले एमालेलाई प्रलोभन र धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको दाहालको भनाइ थियो । सबै कम्युनिस्टहरूमा एकता जरुरी रहेको भन्दै अहिलेको परिस्थितिमा आफूलाई एउटा नयाँ जिम्मेवारी प्राप्त भएकाले त्यो पूरा गर्ने बताए ।

कार्यक्रममा प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति हुने बताए । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आपूmहरूले गर्ने उनको भनाइ थियो । ‘हामीले सरकार बनाइसक्यौँ, अब छिटै विस्तार हुनेछ र हामी सरकारमा सहभागी हुनछौँ,’ उनले भने । प्रचण्डले पार्टी एकीकरणको कुरा सकारात्मक रूपमा अघि बढेको र शनिबार हुने बैठकले थप प्रकृया अघि बढाउने प्रस्ट पारे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डलाई कलाकार सुनैना ठाकुरले मिथिला चित्रकला चिनो प्रदान गरेकी थिइन् । कार्यक्रममा प्रदेश–२ का इन्चार्ज मात्रिका यादव, विश्वनाथ साह तथा प्रदेशसभा सांसदलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । यसअघि, अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथिलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १ सय ३ जना पुराना कम्युनिस्ट कार्यकर्तालाई अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया