प्रहरी : रक्षक कि भक्षक ?


– राजन भट्टराई  केही वर्ष पहिले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स सोभराजले भनेका थिए, ‘जति कडा सुरक्षा भए पनि नेपालको एयरपोर्टबाट म हात्ती पनि छिराइदिन्छु ।’ त्यसवेला हामीलाई लाग्यो, सोभराजले गफ दियो । हामीले उसका कुरालाई खासै महत्व दिएनौँ । दर्जनौँ देशको सुरक्षा व्यवस्थासँग नजिकबाट परिचित सोभराजले भनेको कुरा पछिल्ला दिनहरूमा बिस्तारै प्रमाणित हुँदै गएका छन् ।

नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका हात्ती छिराउन खासै गाह्रो रहेनछ । केही महिनाअघि मात्र बरामद भएको ३३ किलो सुन यसको पछिल्लो उदाहरण हुन सक्छ । साँच्चै भन्ने हो भने सुरक्षा जाँचविना कमिलो छिर्न नसक्ने विमानस्थलबाट हात्ती छिराउने कुरा सोभराजले बुझेरै गरेको हुनुपर्छ । ‘सत्यसेवा सुरक्षणम्’ नारा लिएर नेपाली सुरक्षा व्यवस्थाको पहिलो पंक्तिमा नेपाल प्रहरी छ ।

पहिलो पंक्तिमा हुनुको नाताले जनपद प्रहरीले जनतासँग सिधा सम्पर्क स्थापित गर्दछ । सरकार कति सबल र कति दुर्बल भन्ने विषय सरकारका प्रतिनिधिले सर्वसाधारणसँग गर्ने व्यवहार र उनीहरूको सम्बन्धमा भर पर्दछ । त्यो व्यवहारले सरकारको सफलता र असफलता निर्धारण गर्दछ । अर्थात्, त्यसरी सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने कर्मचारीले सरकार र जनताबीच पुलको काम गर्दछ र गुर्नुपर्ने हुन्छ ।

नेपालमा त्यस्तो जिम्मा दुई किसिमको प्रतिनिधिले पाउने व्यवस्था छ । पहिलोमा सरकारका ती प्रतिनिधि जो सर्वसाधारणको साथमा रहन्छन्, सर्वसाधारणको आवश्यकता अनुरूपका काम गर्दछन् । हाम्रो देशमा राज्यका त्यस्ता प्रतिनिधिलाई निजामती कर्मचारी वा स्थानीय तहका प्रतिनिधिका रूपमा चिनिन्छ । दोस्रोमा सरकारका त्यस्ता प्रतिनिधि जसले सर्वसाधारणले पाएको दुःख, सास्ती र अन्यायमा साथ दिन्छन् र सर्वसाधरणलाई राज्य भएको अनुभूति दिलाउँछन् । उनीहरू सर्वसाधारणका रक्षक पनि हुन् । उनीहरू नजिक रहँदा मात्र पनि सर्वसाधारणले सुरक्षित भएको महसुस गर्दछन् । राज्यका त्यस्ता प्रतिनिधिलाई हामी प्रहरी भन्छौँ ।

प्रहरी समाजको रक्षक हो । सर्वसाधारणलाई कानुनको पालना गर्न सिकाउने माध्यम हो र कानुनको कार्यान्वयन नभएको अवस्थामा कारबाहीका लागि प्रक्रिया अघि बढाइदिने आधार पनि हो । तर, जब समाजको सुरक्षामा खटिएको त्यो रक्षक नै भक्षक भएर निस्कन्छ, अनि सर्वसाधारणमा निराशा, आक्रोश र अत्यास बढेर जान्छ । राज्यप्रतिको विश्वास घटेर जान्छ । त्यो क्रम बढ्दै जाँदा एक दिन राज्यप्रतिको विश्वास सधैँका लागि मरेर जान्छ ।  नेपाल प्रहरीमा अहिले ठ्याक्कै त्यही अवस्था देखिएको छ । सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा रहने प्रहरी अहिले रक्षक नभएर भक्षकका रूपमा देखिएको छ ।

पछिल्ला घटनाक्रमलाई केलाउने हो भने प्रहरीलाई कुनै पनि दृष्टिकोणबाट रक्षक मान्न सकिने अवस्था छैन । समाजमा जन्मदेखि मृत्युसम्मका प्रत्येक घटनामा कुनै न कुनै रूपमा नेपाल प्रहरीको संलग्नता रहन्छ । तर, जब प्रहरीले समाजलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्दछ, आफूले पाएको अधिकारको दुरुपयोग गर्दछ र दम्भले समाजलाई आफ्नो इसारामा नचाउन खोज्छ त्यसवेला सर्वसाधारणको सुरक्षा कसले गर्ने ? जनताको कर खाएर तिनै कर तिर्ने जनताको सुरक्षामा खटिएको कथित राष्ट्रसेवकले सर्वसाधारणलाई दुःख दिने, अपराधीसँग साँठगाँठ गर्ने, तस्करी र कालोबजारीलाई बढावा दिनेजस्ता आपराधिक गतिविधिले प्रहरीको गरिमालाई रसातलमा पु¥याउने त छँदै छ, सर्वसाधारणका नजरमा राज्य कमजोर भएर जान्छ, जनतामा विश्वास घटेर जान्छ ।

पछिल्ला घटनाक्रमले त्यसलाई पुष्टि गरेको छ । बलात्कारजस्तो जघन्य अपराधमा प्रहरीको मिलेमतो रहनु, पैसाका लागि पीडकको सुरक्षा गरेर पीडितलाई सजाय दिलाउने नेपाल प्रहरीलाई रक्षक भन्ने कि भक्षक ? राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटेलमा भएको सामूहिक बलात्कार कान्डमा प्रहरीले लेनदेनमा मिलापत्र गराएको पुष्टि भइसकेको छ । त्यस्तै, इटहरीमा भएको बालिका बलात्कार कान्डमा प्रहरीले पीडिकसँगको लेनदेनमा मिलापत्र गराएको पुष्टि भइसकेको छ । त्यो घटनामा प्रहरी उपरीक्षक विद्यानन्द माझीको प्रत्यक्ष मिलेमतो रहेको पुष्टि भएपछि उनी निलम्बनमा परेका छन् ।  यी माथिका घटना त प्रतिनिधि मात्र हुन् ।

समाजको रक्षक मानिने प्रहरीका यस्ता गतिविधिले आपराधिक मानसिकता बढ्छ । अपराधीहरूको मनोबल बढ्छ । प्रहरी र प्रशासन किन्न सकिन्छ भन्ने मानसिकता बढ्छ र अपराध गर्न मनोबल बढ्दै जान्छ । राज्यले दिएको विशेष अधिकारको दुरुपयोग गर्दा सर्वसाधारणले भोग्नुपरेको पीडाको जवाफ दिन सक्छ त नेपाल प्रहरीले ? यदि नेपाल प्रहरीले समाजलाई सुरक्षा दिनुको सट्टा पीडा दिन्छ, प्रहरी देख्नासाथ सर्वसाधारण थर्कमान हुन्छन् भने त्यस्तो संस्थाले सरकारको मान हुन्छ कि अपमान ? हामी अनुमान गर्न सक्छौँ ।  २ वर्षअघि नेपाल प्रहरीले एउटा नारा तय ग¥यो, मुस्कानसहितको सेवा ।

खुब चर्चामा आयो पनि । तर, मुस्कानसहतिको सेवाले प्रहरीको व्यवहारमा परिवर्तन गर्न सकेन । चन्दा असुली, अपहरण, निर्दोषमाथिको ज्यादती र दोषीलाई बचाउनेजस्ता कामले सर्वसाधारणले प्रहरीको मुस्कानसहितको सेवा ग्रहण गर्न सकेनन् । एउटा राष्ट्रसेवक कर्मचारी कुनै कारणले त्यो संस्थाबाट बाहिर हुनेबित्तिकै आपराधिक गतिविधिमा संलग्न हुन्छ भने त्यो संस्थाले उसलाई के सिकाएको हुन सक्छ, अनुमान गर्न सकिन्छ । वर्तमान अवस्थालाई मूल्यांकन गर्ने हो भने कहाँ पुगेको छ, नेपाल प्रहरीको सत्यसेवा सुरक्षणम् ? मुस्कानसहितको सेवापछि अघिल्लो वर्ष नेपाल प्रहरीले अर्को नारा तय ग¥यो प्रहरी मेरो साथी, र त्यसको व्यापक प्रचारप्रसार पनि ग¥यो ।

तर, त्यसले पनि जनताको मन जित्न सकेन । एउटा ट्राफिक, जो रातदिन सडकमा खटिएको छ, उसले जनताबाट ठूलो आदर र सम्मान पाउनुपर्ने हो । उसको व्यवहारका कारण ऊ हरेक दिन तिरस्कृत हुँदै छ । व्यस्त चोकमा गाडी रोकेर बसेको चालकलाई खैनी मोल्न लगाएर मोबाइलमा गफ छाँटेर बस्ने ट्राफिकले कसरी सवारी जामलाई व्यवस्थित गर्न सक्छ ? सडकमा काम गर्ने र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने तल्लो तहका प्रहरी जवानलाई नेपाल प्रहरीले सर्वसाधारणसँग गर्ने व्यवहार सिकाउनुपर्छ भन्ने विषय पटक–पटक उठ्दै आएको छ । त्यसो हुन सकेन कि ?
समाजमा घट्ने हरेक घटनाका पछाडि होस् वा त्यसको व्यवस्थापनमा होस्, प्रहरीको संलग्नता हुन्छ नै । किनकि, समाजको सुरक्षाका लागि नै ऊ खटिएको हो । उसको मुख्य भूमिका भनेको नै समाजमा शान्तिसुरक्षा कायम गर्नु हो । तर, पछिल्ला घटनाक्रमले पटक्कै त्यस्तो देखाएन । यसको मुख्य कारण हो प्रहरी संगठनमा नेतृत्वको अक्षमता र राजनीतिक हस्तक्षेप । कुनै पनि संस्था सबल बन्नका लागि नेतृत्व सक्षम हुनुपर्छ । यो सर्वमान्य सिद्धान्त नै हो । त्यसको अनुसरण नेतृत्वको पछाडि आउने सञ्जालले गर्ने हो । जब नेतृत्व नै सत्यसेवा सुरक्षणम्लाई ताल्चा लगाएर चलखेलमा लाग्छ, स्वाभाविक रूपमा त्यो संगठन अराजक बन्दै जान्छ । नेपाल प्रहरीको अहिलेको समस्या पनि त्यही हो ।

पछिल्ला घटनाक्रमले त्यही देखाएका छन् । अधिकारको दुरुपयोगले समाजमा अपराध जन्माउँछ । त्यो अपराधले समाजलाई विकृत बनाउँछ र समाज पतनको बाटोमा लान्छ । प्रहरी नेतृत्वले यसलाई वेलैमा नियन्त्रण गरेर सही बाटोमा ल्याउन सकेन भने जनताबाट प्रहरी संगठन र सरकारमाथिको विश्वास सधैँका लागि हराएर जाने कुरालाई नकार्न सकिन्न ।

 

प्रतिक्रिया