पाहुनाको पर्खाइमा पञ्चासे होम स्टे

सौर्य समाचार
पर्वत । प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँमा स्थानीय उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटकहरू आकर्षित हुन थालेका छन् ।
होमस्टे सेवा सुरु गरेपछि गाउँमा आउने पर्यटकहरूको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ । ‘होम स्टे’ सहितको न्यानो अतिथि सत्कारको प्रबन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । जिल्ला सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि पर्वतको चित्रेमा पुग्न सकिन्छ ।

पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकहरू बढी आउने गरेको होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङले बताइन् । घुम्न आउने पाहुनाहरूलाई उचित वास, गाँस र कपासको व्यवस्थापन गर्नकै लागि होम स्टे सञ्चालनमा ल्याइएको उनले बताइन् ।
ग्रामीण क्षेत्रको बसाइँ र स्थानीय उत्पादनको उपभोग गर्न पाइने भएपछि आन्तरिक पर्यटकहरूको संख्या बढेको स्थानीयवासीहरू बताउँछन् । पञ्चासे अवलोकनका लागि आउने पर्यटकहरूलाई खाना र बस्नका लागि असुविधा हुन थालेपछि ‘होम स्टे’ को सुरुआत गरिएको स्थानीय शिक्षक मधुसुदन अधिकारीले बताए । अहिले चित्रेमा वार्षिक रूपमा तीन हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांक छ ।

गाउँमा आउने पाहुनाहरूलाई बच्चादेखि वृद्धहरूले समेत गर्ने स्वागत सत्कार र मीठो बोली वचनका कारण पर्यटकहरूको आकर्षण बढेको हो । पाहुनाहरूका लागि स्थानीय स्तरमा उत्पादन हुने खाना लोकल कुखुरा, कोदो मकैका परिकार लगायतले स्वागत सत्कार गर्ने गरेको स्थानीयहरू बताउँछन् । ०६६ सालबाट सुरु गरिएको होम स्टे हाल १० वटा घरहरूमा उपलब्ध गराइएको छ । होमस्टेमा अहिले एकपटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्थापन गरिएको र आगामी दिनमा अन्य घरहरूमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङले जानकारी दिइन् ।

पछिल्लो समयमा जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमहरू समेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयहरूको सहभागितामा बहुउद्देशीय सामुदायिक भवनसमेत बनाएर संयुक्त रूपमा खाना खुवाउने तथा कार्यक्रम गरिने गरेको छ । सुन्दर तथा प्राकृतिक यस क्षेत्रको विकास तथा होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको संभावना बढाउन सरकारले समेत विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

अग्ला हिमाली डाँडाहरू, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमुल्य जडिबुीट पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण पर्वतको चित्रेमा आउने आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको हो ।

 

प्रतिक्रिया