‘जतिसक्दो छिटो कांग्रेस सरकारबाट बाहिरिन्छ‘ मीन विश्वकर्मा, मन्त्री

अहिले कांग्रेस तीन तहमा विभाजन भएको देखिन्छ, पार्टीभित्र बेमेलको कारण के हो ?
नेपाली कांग्रेस ऐतिहासिक लोकतान्त्रिक पार्टी हो । राणाशासनपछि पञ्चायती शासनमा पनि स्वतन्त्रताका लागि लड्दालड्दै यो पार्टीभित्रका सम्पूर्ण सदस्यले आफ्ना अभिव्यक्तिहरू स्वतन्त्र रूपमा जहाँ पनि जहिले पनि राख्न पाइन्छ भन्ने चिन्तनको विकास भयो ।

जसका कारणले त्यसलाई अनुशासनसँग नजोडिकन, पार्टीको नीति, सिद्धान्त, विचार, कार्यक्रमभन्दा अलग गराएर पनि जताजतै राख्ने अभ्यास बढिसकेपछि पार्टीभित्र बेमेल हो कि भनेजस्तो देखिने तथा एक व्यक्ति अर्को व्यक्तिसँग, एक समूह अर्को समूहसँग असन्तुष्टि र कहिलेकाहीँ फरक दृष्टिकोण राख्दाराख्दै विभिन्न समूह बनेकोजस्तो देखिएको छ ।

पार्टीको लामो समयदेखिको अभ्यासले यस्तो देखिएको भन्छु । पार्टीभित्र बाहिर आएकोजस्तो धेरै बेमेलकोस्थिति र विवाद छैन ।

तपाईंले यसो भन्दै गर्दा पार्टीका थुप्रै नेता कार्यकर्ताले पार्टी नेतृत्व लोकतन्त्रको अभ्यासबाट नै बाहिरियो भन्छन् ?
० कहिलेकाहीँ त त्यो स्वभाविक पनि देखिन्छ । लोकतन्त्रको उच्चतम प्रयोग गर्दै जाँदा यो चाहिँ अलोकतान्त्रिक भयो भन्ने हो । तर, अहिले आउँदाचाहिँ पार्टीको विधान, संगठन, विधि, पार्टीको नीति तथा कार्यक्रमभित्र रहेर पार्टी चल्नुपर्छ । मलाई लाग्छ कहीँ न कहीँ त्यस्तो भएको होला । तर, त्यस्तो केही भएको छ भने, लोकतान्त्रिक पद्धति नै त्यस्तो पद्धति हो जहाँ खुलेर विरोध गर्न पाइन्छ । नेतृत्व त्यसबाट सच्चिनुपर्छ ।

कांग्रेसभित्र नीति लिएर हिँड्नेहरू सारै रुष्ट भएका छन् । सामाजिक सञ्जालमा यसरी पोखिएका छन् कि अब शेरबहादुर देउवाबाट कांग्रेसलाई बचाउनुपर्छ भन्ने त लहर नै चलेको छ । तपार्इंले यसलाई कसरी हेर्नुभएको छ ?
० यो पार्टी जे उद्देश्यबाट निर्माण भएको हो, मलाई लाग्छ अहिलेका पार्टी सभापति त्यतिबेलाको उद्देश्य प्राप्तीका लागि अझै पनि डटेर लागि रहनुभएको छ । हाम्रो सुरुआत नै नेपाली जनतालाई रैतिबाट प्रजा बनाउने कुरा, नेपालमा रहेका विभिन्न आर्थिक सामाजिक शोषणको उन्मुलन गर्ने कुरा तथा पार्टीले सँगसँगै आर्थिक रूपान्तरण अघि बढाउने कुराकै पेरिफेरिमा बसेर वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री काम गरिरहनुभएको छ ।

नेतृत्व परिवर्तन होस् पनि भन्ने तर, केही फरक नेतृत्व आएपछि भएका गतिविधिलाई केही नेताहरूले सहजै स्वीकार गरिरहनुभएको थिएन । त्यसैले गिरिजाबाबुसँग निकट भएका व्यक्तिहरू र शेरबहादुर देउवासँग नजिक हुन नपाएका व्यक्तिको एक खालको कुण्ठा छ । अविश्वास छ । तिनै कुण्ठा र अविश्वासहरू विभिन्न माध्यमबाट बाहिर आएका छन् । पार्टी अनुशासन सबैले मान्नुपर्छ । अनुशासन नमानेकै कारण अहिले हाम्रो पार्टी कमजोर बन्दै गएको हाम्रो अनुमान पनि छ ।

महाधिवेशमा प्रतिस्पर्धा गर्ने तीन गुट थिए । नेतृत्वले त्यसलाई मिलाउन नसकेको हो ? अझै कांग्रेसमा तीन धार छ ?
० हेर्नुहोस् जुनसुकै देशमा संसदीय प्रणाली हेर्दा राष्ट्रमा दल हुन्छ । अनि दलभित्र गुट हुन्छ । किनभने राष्ट्रमा सरकारमा पुग्न दलहरूबीच प्रतिस्पर्धा हुन्छ । नेतृत्वमा पुग्न समूह बीचमा प्रतिस्पर्धा हुन्छ । त्यो प्राकृतिक प्रक्रिया नै हो । मन पराउने र मन नपराउने, मिल्ने र मिल्न नसक्नेबीच अथवा आनिबानी मिल्ने, सिद्दान्त मिल्ने, कसैसँग रहनसहन मिल्ने, कसैसँग क्षेत्र जात मिल्ने यस्ता खालका सोचको मेलले समूह निर्माण हुन्छ । निश्चित लक्ष्यसहित अघि बढेका ती समूह नै गुट हुन् । तिनै समूहसमूहबीचमा प्रतिस्पर्धा भएर पार्टीको उच्चतहमा पुग्छ ।

पार्टीका बीचमा प्रतिस्पर्धा भएर सरकारको नेतृत्वमा पुग्ने हो । तपाईंले उठाएको कुरा ठीक छ । महाधिवेशनका ताका तीन धार देखिएको कांग्रेसमा अहिले त्यस्तै स्थिति छैन । गुट नै छैन त भन्दिनँ त्यो बेलाको बेमेलकोस्थिति अहिले परिवर्तन भइसकेको छ । तीन समूह छैनन् तर, अन्य ससाना उपसमूह भने बनेका हुन सक्छन् ।

सरकारले गरेका निर्णय कांग्रेस कै प्रभावशाली नेताले विरोध गर्छन् । यसलाई कसरी बुझ्ने ?
० हो, केही कुरा त मैले सुरुमा पनि भनेको छु, कांग्रेसमा केही नेताहरू पार्टीको कार्यक्रमभन्दा फरक विचार राखेर ‘हिरोइजम’ बन्न खोज्नेछन् । अर्थात त्यो समूहमा आफू अलि प्रभावशाली हुँ, माथिल्लो दर्जाको हुँ, अरूभन्दा लोकप्रिय हुँ र अरूभन्दा यसकारण म भिन्न हुँ भन्ने होडबाजी चल्दै आएको छ ।

अहिले पनि केही साथीले त्यो भूमिकामा आफूलाई उर्तानुभएको छ । त्यो राम्रो होइन । किनभने पार्टी भनेको, निश्चित सिद्दान्त, निश्चित मूल्यमान्यता, निश्चित अनुशासनको दायरा हुन्छ । त्यसैले पार्टी हो ।

– प्रवक्तामा विश्वप्रकाश शर्माको नियुक्तिले युवापुस्ता नेतृत्वमा पुग्नुपर्छ भन्नेर लबिङ गर्नेको समूहलाई नेतृत्वले फुटाइदियो भन्नेहरू पनि पाइयो । तपाईं नै पनि यो अभियानमा हिँड्नुभएको मान्छे, होइन र ?
० होइन, होइन, यो त सत्य हुँदै होइन । यसलाई सकारात्मक रूपले बुझ्न जरुरी छ । टाढाबाट हेर्दा दुई व्यक्तिले अँगालो हालेका रहेछन् भने, त्यसलाई दुइटा दृष्टिकोणले हेर्न सकिन्छ । नकारात्मक दृष्टिकोणले लाप्पा खेल्दैछन् भन्ने बुझ्न सकिन्छ । सकारात्मक रूपमा बुझ्दा उनीहरूले आत्मीयता साट्दैछन् । अँगालो मार्दैछन् भन्ने बुझ्न सकिन्छ । अहिले सकारात्मक दृष्टिले बुझ्ने हो भने केही युवा साथीहरू (उमेरले युवा नहोला । विचारले युवा साथीहरू) चुनाव हारिसकेपछि चुनावको समीक्षा गर्न बस्नुभयो ।

पार्टीलाई शुद्धीकरण गर्नुपर्छ, सुदृढीकरण गर्नुपर्छ भन्नुभयो । म पनि यो अभियान मै हो । म बैठकमा चाहिँ गइनँ किनकी म मन्त्री छु । यसलाई मैले सकारात्मक रूपले शुद्धीकरण गर्नुपर्छ भन्ने मेरो पनि अभियान नै छ । पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुप¥यो । महासमितिको बैठक बस्नुपर्ने त्यो बसेको छैन त्यो बोलाउनुप¥यो । यसरी पार्टीभित्रैबाट नेतृत्वलाई प्रभाव पार्ने र दबाब दिने काम जरुरी थियो । यो अभियान जारी रहिरहेकै बेला सभापति शेरबहादुर देउवाले त्यस समूहका विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाउनुभयो । युवालाई विश्वास गर्ने संस्कार बढ्यो भनेर हामी खुसी हुनुपर्छ ।

निर्वाचनको समीक्षा त गर्नुभएछ ? किन हार्नुभयो ?
० कांग्रेसको जग खुस्किएको छैन अहिले पनि, कांग्रेसको जग बढेको छ । माथि पलाउने पातहरू केही पातलो भएको मात्र हो, कम पलायो । कांग्रेसले चुनाव हारेको छैन । जितेको छ । कांग्रेस अहिले पनि ठूलो पार्टी छ, पहिलो पार्टी नै हो । आज जो साथीहरू लोकप्रिय हुनुहुन्छ । प्रभावशाली भन्नुहुन्छ । प्रखर वक्ता भन्नुहुन्छ । उहाँहरूले भाषण गर्दै हिँडेको मैले सुनेको छु । उहाँहरूले भन्नुहुन्थ्यो, कांग्रेस हारे पनि देशले जितेको छ । जनतासँगको सम्बन्धमा हाम्रो केही कमी आएको छैन ।

जनताले हिजोभन्दा बढी विश्वास गरेका छन् । जनताको भरोसाको आधार पनि घटेको छैन । त्यसैले राजनीतिक हिसाबले हामीले जित्दै गर्दा अंकगणीय हिसाबले हामी हा¥यौँ । यसलाई हामीले आत्तिने हारका रूपमा लिएका छैनौँ ।

सरकारले भकाभकी निर्णय गरिरहेको छ । यो निर्णयको पार्टीभित्र अनि बाहिरबाटै विरोध भइरहेको छ । तर, सरकार अटेरी गरिरहेको छ किन् ?
० सरकारले गरेका सबै कामको विरोधचाहिँ भएको छैन । अब सरकार गठन गर्न तयारी रहेका एमाले र माओवादीले त विरोध गर्ने नै भए । उनीहरूका ठाउँमा कांग्रेस भएको भए पनि गर्ने त्यही हो । किनभने राम्रा काम विपक्षीलाई मन पर्दैन । त्यो त जहाँ पनि हो । नराम्रो काम पक्षले पनि मन पराउँदैन । सबैभन्दा पहिला तटस्थ रूपमा सरकारले गरेका कामको समीक्षा हुनु जरुरी छ । स्पाइनल इन्जुरी भएका बिरामी, ब्रेनहेमरेज तथा प्यारालाइसेसका बिरामी, किड्नी खराब भएर डाइग्लोसिस गरेका वा ट्रान्सप्लान्ट गरेर महँगो औषधि सेवन गरिरहेका बिरामीहरू र मुटुको वा कुनै क्यान्सर लागेर महँगो औषधि सेवन गरिरहेका बिरामीहरू ।

जसले आर्यआर्जन गर्न सक्दैनन् खर्च दैनिक हुन्छ । रोजगारी गर्न सक्दैनन्, घरपरिवारभित्र अपहेलित भएर बस्नुपर्छ । त्यस्तालाई मानवीय रूपमा केही गर्नुपर्छ भन्ने कुरा हामी सरकारमा जानुभन्दा पहिला नै लागेको थियो । तर, सरकार गठन हुँदै गर्दा निर्वाचन आचारसंहिता लागू भयो । र, बजेटमा यी सबै कुरा ल्याउने सोचेका थियौँ । तर, यो सरकारले बजेटमा नयाँ कार्यक्रम ल्याउँछ भने बजेट पारित हुन दिँदैनाैँ, रक्तपात हुन्छ भने ।

हामीले सुरेन्द्र पाण्डेको ब्रिफ केस फुटाएको याद ग¥यौँ । चुनाव बिथोलिन्छ भने यो थाँति राखौँ । सम्भवतः हामी नै बहुमत प्राप्त दल बन्छौँ, बनेनौँ भने पनि चुनावपछि केही समय रहन्छ त्यो बेला काम गरौँला भनेका थियाँ । आचारसंहिता उल्लंघन नगर्ने मनस्थितिमा हामीले नयाँ बजेट र कार्यक्रम नल्याएको हो ।

कामचलाउ सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न मिल्दैन भनेर एमाले माओवादीले विरोध गरिरहेका छन् ?
० त्यो त विरोध मात्र हो । हामीले प्रदेशको अस्थायी मुकाम भनेका छौँ । प्रदेश प्रमुख तोक्यौँ । यसका लागि पटकपटक छलफल गरेकै हो । तर, ठोस सहमति हुन नसकेपछि अन्तिम समयमा आएर हामीले बाध्यात्मक परिस्थितिमा यो काम गरेका हौँ । एमाले र माओवादीका नेताहरूले गैरजिम्मेवार ढंगले सरकारले गर्ने काम हो, गर्नुहोस् न भन्नुभयो ।

उहाँहरूको चाहाना नै सकेसम्म यो सरकार बाहिरियोस् भन्ने नै हो । छलफलबाट राजधानी र प्रदेशप्रमुख तोक्ने विषयमा उहाँहरू पनि अलमलमै हुनुहुन्थ्यो अहिले पनि छ । यो काम सरकारले दायित्व बुझेर गरेको हो । मैले सार्वजनिक रूपमै भन्ने गरेको छु । अब तपाईंहरू सरकारमा जाँदै हुनुहुन्छ । अभिव्यक्ति जिम्मेवारपूर्ण होस् । अब चुनावी भाषणले काम हुँदैन भनेको छु । अहिले पनि प्रतिपक्षी र विरोधीको भूमिका खेलिरहनुभएको छ । कांग्रेस सकेसम्म चाँडो सरकारबाट बाहिरिनेछ ।

– सरकारले नै अघि बढाइरहेको प्रहरी नियमावलीको विषयमा पनि विवाद भयो । पहिले देउवाले नगर्ने भनेको कुरा अहिले लागू गर्न लागिपरेका छन् भन्नेछ ।
० अहिले यहाँ के भनिँदै छ भने, प्रहरीलाई पनि उमेर हद जुन ३० वर्ष थियो । त्यो मात्र होइन अरू निजामति कर्मचारीसरह ५८ वर्ष काम गर्न पाउने व्यवस्था थप्नुपर्छ भन्ने तर्क छ । यो प्रधानमन्त्रीको प्रस्ताव तथा छलफलका लागि अघि बढाइएको विषय होइन । प्रहरी संगठनकै विषयमा कुराकानी गर्नेक्रममा त्यही संगठनमा रहेका साथीहरूले यो कुरा उठाउनुभएको छ ।

मसँग पनि केही छलफलका लागि साथीहरू आउनुभएकै हो । मलाई पनि प्रहरी संगठनको हक अधिकार र उनीहरूको संरचनाका विषयमा धेरै जानकारी छैन । प्रहरी संगठनलाई नकारात्मक असर गर्ने काम गर्नु हुँदैन । अध्ययन नगरी गरिने निर्णय हतारको हुनसक्छ भनेपछि यो प्रस्ताव अहिले केही ब्याक भएको छ ।

कांग्रेसलाई बचाउन शेरबहादुरबाट जोगाउ भन्ने टिप्पणी र सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई पार्टीले कसरी लिएको छ ?
० हो पुरञ्जन आचार्यले लेख्नुभएको लेख पूर्ण रूपमा नपढे पनि शीर्षक पढेको छु । उहाँ पहिले देउवासँग नजिक भएर काम गर्नुभएको पनि हो । अहिले उहाँ स्वतन्त्र रूपमा हुनुहन्छ । कांग्रेसप्रतिको आगाध स्नेहका कारण यो भावना आएको पनि हो । अर्को स्वतन्त्र रूपमा हुँदा कमीकमजोरी आैँल्याउन धेरै सजिलो छ । त्यसलाई पूरा गर्ने जिम्मेवारीमा भएको भए सायद उहाँले त्यसो भन्नु हुँदैनथ्यो होला ।

देउवाले गरेका निर्णयले कांग्रेसलाई घाटा पुग्ने भयो भन्न थालेका छन् नि त !

० यो सवालमा म नेपाली कांग्रेसको राजनीतिमा दुई व्यक्तिलाई राजनीतिक विश्लेषक र मिडियाबाट एकदमै अन्याय भएको लाग्छ । एक सुवर्णशमशेर राणा र शेरबहादुर देउवा । ०७ सालको क्रान्ति गर्ने बेला बिपी कोइराला शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्नुहुन्थ्यो सशस्त्र आन्दोलन गर्ने प्रस्ताव सुवर्णको हो त्यसैको बलमा आन्दोलन सफल भयो । उहाँको नीति, झन्डा पास भयो । नाम दुई जनाले बनाउनुपथ्र्याे । त्यतिवेला सुप्रिम कमान्डर–इन–चिप सुवर्ण हुनुपथ्र्यो उहाँ हुन पाउनुभएन । डिपुटी हुनुभयो ।

त्यसपछि मुलुकमा अस्थिरता आयो । प्रजातन्त्र अन्योलमा प¥यो । यो अवस्थामा सुवर्णशमशेरकै नेतृत्वमा चुनावी सरकार बन्यो दुईतिहाइ मत ल्याइदिनुभयो । त्यसवेला सामाजिक रूपान्तरणको नारा नै लागेको थियो । जातपात मान्दैनौँ । सँगैबसौँ सँगै खाउँ । बाहुन क्षेत्रीमा पनि छोएको नखाने प्रचलन थियो । दलितको त कुरै नगरौँ । त्यो समाजमा सुवर्णकै नेतृत्वमा त्यस्तो नारा लाग्यो । किसानका हकमा उहाँले नै जमिन जोत्नेको हुन्छ घर, पोत्नेको भन्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुने इच्छा पनि राख्नुभयो ।

विपीले गणेशमान सिंहलाई सोध्नुहोस् भन्नुभयो । गणेशमानले त्यो वेला रामभक्त हनुमान, बिपीभक्त गणेशमान । म बिपीका पक्षमा छु भन्नुभयो । तर, दरबार सुवर्ण प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने चाहान्थ्यो । त्यो बीचको द्वन्द्वमा विपी प्रधानमन्त्री हुनुभयो । सुवर्णले मेरो नीति कार्यान्वयन गर्नुहोस् । नीति कार्यान्वयन भए म खुसी हुन्छु । भन्नुभयो । सुवर्णलाई के छ तपार्इंका कार्यक्रम भन्दा जमिन जोत्नेको घर पोत्नेको भन्नुभयो ।

विपीले आपत्ती जनाउँदा उहाँले अरूबाट गाह्रो हुन्छ मबाटै सुरु गरौँ सभ्रान्त परिवारको जमिन राष्ट्रियकरण गरौँ भन्नुभयो उहाँकै देन हो हामी बसेको मन्त्रिपरिषद्को क्वार्टर, केशरमहल, राष्ट्रिय बालुवाटार, स्थानीय मन्त्रालयको भवन, मानवअधिकार आयोगको भवन यी सबै सुवर्णको नीतिअनुसार बिपी सरकारले राष्ट्रियकरण गरेको सम्पत्ति हो । अर्को शेरबहादुर देउवा नेपाली राजनीतिमा आउनुभन्दा पहिला कर्णालीपारीको नेपाल हामीलाई थाहा नै थिएन । बाँके, बर्दिया कञ्चनपुरका नेपाली राजधानी आउँदा पनि विदेश भएर आउनुपथ्र्यो । भारतबाट मात्र बाटो थियो । उहाँ प्रधानमन्त्री बन्दा सुदूरपश्चिममा बनेका २२ पुल तथा बाटोघाटोले नै नेपालको सिमाना मेची महाकाली भन्ने स्थितिमा पुगेको छ ।

त्यसैले उहाँले सिंगो नेपाल एक ठाउँमा आयो पहिलो इतिहास । जाति राजनीति व्याप्त थियो । दलित छात्रवृत्ति र जनजाति छात्रवृत्ति सुरु गर्नुभयो । त्यो छात्रवृत्ति बाँड्दा विद्यालयका हेडसरले हिनामिना गरे भन्ने आरोप लगाएपछि तपाईंहरू नै बाँड्नुहोस भनेर जनजाति विकास समिति र दलित विकास समिति बनाइदिनुभयो । उहाँले अन्तिममा स्थानीय चुनाव पनि गरेर सरकार छोड्छु भन्दा दुई सांसदलाई विदेश पठाइदिएर सरकार ढलेको हो नि त । बाँकी त सबै राम्रा काम मात्र नै थिए ।

आरजुलाई प्रतिनिधिसभामा दिएको टिकट, हारेकी पत्नीलाई फेरि राष्ट्रियसभा सदस्यका लागि गरेको तयारीचाहिँ के थियो त ?
यो होइन । क्षमता कै कारण आरजु देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । आरजु पनि यदी देउवासँगको पारिवारिक सम्बन्धमा नभएको भए पनि अन्य क्षेत्रबाट पनि राष्ट्रिय व्यक्तित्वमा आउन सक्ने क्षमता भएको मानिस हो । अर्को कुरा राष्ट्रिय सभा सदस्यका लागि उहाँको मनोनयको कुरा कतै उठेको छैन । सभापति देउवाले उठाउनुभएको छैन । तर, बाहिर यो कुरा उठेको हुनसक्छ म मान्छु ।

किनभने, सहयोगका नाममा लडाउने उदाहरण मैले धेरै पाएको छु । ४८ सालको गणेशमान विश्वकै नेता हुनुहुन्थ्यो । नोबेल शान्ति पुरस्कारका लागि हामीले सिफारिस गरेको लौहपुरुष हो उहाँ । तर, उहाँका विरोधीले सहयोगी भएर नजिकै पुगेर भने, मंगला भाउजु र प्रकाशमानलाई उम्मेदवार बनाउनुपर्छ भने । उहाँले होइन यिनीहरूले जित्दैनन् भन्नुभयो । त्यसवेला उनीहरूले अहिले त तपाईंको नामको लौरो उठाए पनि जित्छ भनेपछि उहाँले लौ त लौ भन्दै पत्नी र छोरालाई उठाउनुभयो दुवै हारे ।

त्यसपछि उच्च शिखरमा पुगेका गिरिजाबाबुलाई अब तपाईंको प्रतिनिधि चाहियो भन्न थाले । उहाँले होइन भन्दैगर्दा विपीको उत्तराधिकारी पढ्दै छन् । शेखर पनि आउँदै छन् । उत्तराधिकारी चाहियो भनेपछि होकी भनेर सुजातालाई बोलाउनुभयो । सुजाताको कारणबाट कहाँ के भयो त्यो तपाईंलाई थाहा छ । त्यसैले सभापतिलाई पनि सहयोगीका नाममा कान फुक्नेहरू होलान् । यदि त्यस्तो भएको पाइयो भने त्यो परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया