बेनीमा पहिलोपटक दाँतको जटिल शल्यक्रिया

म्याग्दी, १७ माघ । म्याग्दीको बेनी अस्पतालमा पहिलो पटक दाँतको जटिल शल्यक्रिया गरिएको छ । घाँस काट्ने क्रममा रूखबाट लडेर दाँत र हड्डी भाँचिएका एक युवाको बेनी अस्पतालमा पहिलोपटक उपचार गरिएको छ ।

दुर्घटनामा दाँत र मुखमा लागेको चोट मध्यकै जटिल मानिने (डेन्टोएल्भियोलर) फ्र्याक्चरलाई अस्पतालमा ४५ मिनेटमा सफल शल्यक्रिया गरिएको हो ।

दिउँसो रूखमा घाँस काट्ने क्रममा लडेर जमिनमा खसेका रघुगंगा गाउँपालिका-२ भगवतीका युवा पवन केसीको अस्पतालका डेन्टल सर्जन डा विवेक सुनारको नेतृत्वमा (डेन्टोएल्भियोलर) फ्याक्चरलाई जिल्लामै मंगलबार शल्यक्रिया गरिएको दाँत तथा मुख विभागले जनाएको छ ।

रूखबाट लडेर दाँतको अघिल्लो भाग र छातीमा चोट लागेको अवस्थामा आफन्तको सहयोगमा अस्पतालमा पुगेलगत्तै डा. सुनारले अस्पताल प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपानेलाई बिरामीको अवस्थाका बारेमा जानकारी गराई शल्यक्रिया शुरु गरेका थिए ।

दाँत र मुखमा गम्भीर चोट लागेको अवस्थामा आएका घाइतेको कम्योजिट रेजिन र तारले जोडेर राखिएको छ ।

हड्डीसँगै भाँचिएको दाँतको एक्स-रे, दाँतको नसा मरेको अवस्थामा जरैदेखि उपचार गर्नुपर्ने भएकाले पनि एक महिनासम्म हरेक हप्ता जाँच गरिने डेन्टल सर्जन सुनारले बताए ।

उनका अनुसार जिल्लाबाहिर यो सेवाका लागि रु ५० हजारदेखि एक लाखसम्म खर्च गर्नुपर्छ । अस्पतालमा दाँतको उपचार भएपछि घाइते केसीले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिए ।

“जिल्लाबाहिर हुने उपचार यहाँ सम्भव रहेछ । आफ्नै जिल्लामा उपचार गर्न पाइयो”, घाइते केसीले भने ।

निक साइमन्स इन्स्टिच्युट, प्रवासी म्याग्देली तथा उपचारमा खुशी भएका बिरामीको सहयोगमा प्राप्त उपकरणहरुले समेत उपचारमा सहज भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

बेनी अस्पताल ४ नं प्रदेशको तेस्रो उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको बताइएको छ ।

प्रतिक्रिया