सम्मानजनक व्यवस्थापनसहित एकता खाका तयार


टंक खनाल    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको खाका करिबकरिब तयार भएको छ । दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको लामो औपचारिक अनौपचारिक गृहकार्य र शीर्ष नेताको पहलमा एकता खाका तयार भएको हो । एमाले वरिष्ठ नेता झलनाथ खनालका अनुसार दुवै पार्टीका नेता–कार्यकर्ता र जनसंगठनहरूको आत्मसम्मानलाई ध्यान दिएर एकताको खाका तयार भएको छ । ‘दुवै पार्टीका अध्यक्षदेखि नेतृत्व पंक्तिमा रहेका हामी सबै नेताहरूको सहमतिमा पार्टी एकताको खाका करिबकरिब तयार भइसकेको छ, कसैले यो एकता भाँडन सक्छु कि भन्ने नसोच्दा हुन्छ,’ आफ्नै निवास डल्लुमा सौर्यसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनालले भने ।

खनालले एमाले र माओवादी दुवै पार्टीका नेताहरू अन्तरदिलदेखि नै पार्टी एकताको पक्षमा दृढ रहेको पनि प्रष्ट पारे । ‘कमरेड प्रचण्ड, र कमरेड केपी ओलीलगायत हामी सबै नेतृत्व पंक्तिका नेताहरू एकताको पक्षमा छौँ । हामीले एकताको खाका तयार पारिसकेका छौँ, त्यसैले दुनियाँको कुनै शक्तिले वाम यो एकतालाई रोक्न सक्दैन,’ खनालले भने । माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक अडानप्रति एमाले नेताहरूले नै आशंका गरिहरहेका छन् नि भन्ने प्रश्नमा खनालले अब शंका बाँकी नरहेको प्रष्ट पारे । ‘प्रचण्डसँग हामीले पनि त सहमति गरेका थियौँ । हामीले नीति, कार्यक्रम ल्याउने, बजेट ल्याउने र आवश्यकताअनुसार काँध फेराफेर गर्ने भनेर भनेका थियौँ ।

तर, हामीले काँध फेर्न सकेनौँ । हामीले मोर्चा नै टुटाइदियौँ । उनीहरूको कुरा मात्र छैन । हामीले के ग¥यौँ ? त्यो पनि हेर्नुपर्छ,’ खनालले भने । यतिबेला जनताबाट अनुमोदन भइसकेर एमाले माओवादीबीच ऐतिहासिक एकताको अन्तिम चरणमा रहेकोले विगतका तीता घटना स्मरण गरेर नभई आगामी दिनमा सम्बन्धलाई कसरी मजबुद बनाउने भन्ने सोच्नुपर्ने सुझाव पनि राखे । ‘कार्यकर्तादेखि शीर्ष तहसम्मले विगतको तीता घटना होइन, भविष्यको समृद्धि सोच्नुपर्छ, एकता हुनै लागिरहेको वेला तीता कुरातर्फ जाने होइन, एकले अर्काप्रति आशंका गर्ने पनि होइन,’ खनालको भनाइ थियो ।

उनले एकतालाई सहज बनाउनेतर्फ मात्रै नेता कार्यकर्ताको भूमिका हुनुपर्ने बताए । ‘जसरी पनि एकता हुन्छ । अग्रगामी सोचका साथ अघि बढ्नुपर्छ । विगतका कुराबाट त शिक्षा मात्र लिने हो,’ खनालले भने । एकताको खाका करिबकरिब तयार भइसकेको कारण अब पार्टी एकताका लागि कुनै विवाद नहुने पनि खनालले प्रष्ट पारे । उनले भने, ‘विवाद हुने भए पार्टी एकताको प्रसंग नै उठ्ने थिएन । कस्ता–कस्ता रूपबाट एकता गर्नुपर्छ भन्ने विषयको अनुमान नलगाइकन कुनै नेता एकताका लागि दौडिरहेका छैनन् । त्यसैले जुनसुकै रूपमा पनि एकता गरेर जाने सहमति भएको छ ।’

 खनालले मंगलबारको एमाले स्थायी कमिटीको बैठकले पनि दुई दलबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने निर्णय लिएको जनाए । एकता खाकाको उदाहरण दिँदै उनले भने, ‘माथिल्लो तहमा हाम्रो पनि नेताहरूको पंक्ति छ, उहाँहरूको पनि पंक्ति छ । त्यसरी नै सिंगो कमिटीलाई कसरी एकता गर्ने भन्ने कुरामा पनि हामीले मापदण्ड तयार पारेका छौँ । सिंगो कार्यकर्ता सहितको पार्टी पंक्तिलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा निश्चित सूत्रसहितको खाका हामीसँग छ ।’ उनले विवादरहित अवस्थामा एमाले र माओवादीबीच ऐतिहासिक सन्देश दिनेगरी पार्टी एकीकरण हुने ठोकुवा पनि गरे ।

राष्ट्रपति नहुने कुनै कारण छैन
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता खनालले आफू राष्ट्रपतिका लागि योग्य रहेको भन्दै पछि हट्नुपर्ने कुनै कारण नरहेको बताए । पार्टीले जिम्मेवारी दिए, जुनसुकै कार्यभार सम्हाल्न पछि नपर्ने उनको भनाइ छ । ‘पछिल्लो समय नयाँ राष्ट्रपतिको चर्चा हुँदा मेरो नाम जोडिने गरेको छ । भावी राष्ट्रपतिमा मलाई देख्न चाहने तपाईंलगायत सबैलाई धन्यवाद,’ खनालले भने ।

पार्टीले आफ्ना लागि गर्ने जुनसुकै निर्णय मान्न तयार रहेको बताउँदै खनालले पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिए पछि नहट्ने बताए । उनले भने, ‘पार्टीले मेरो योगदानको कदर गरेपछि म आफैँ पछि हट्नुपर्ने कुनै कारण छ र ?’ राष्ट्रपतिको जिम्मेवारी पाए शुभेच्छुकहरूले सोचेको भन्दा राम्रो बनेर देखाइदिने पनि खनालले बताए ।  (खनालसँगको वार्ता भोलिको अंकमा)

 

प्रतिक्रिया