ब्रिटिस काउन्सिलले नै प्रश्नपत्र बेचेको पुष्टि


सौर्य समाचार
काठमाडौं । अंग्रेजी भाषा परीक्षा ‘आइइएलटिएस’ को प्रश्नपत्र ब्रिटिस काउन्सिलले नै बेचेको पुष्टि भएको छ । गत २१ पुसमा परिक्षाको अघिल्लो राती बाहिरिएको प्रश्नपत्र र २२ गते ब्रिटिस काउन्सिलले परीक्षामा सोधेको प्रश्नपत्र मिलेपछि काउन्सिलले नै प्रश्नपत्र बेचेको पुष्टि भएको हो ।

अमेरिका, युरोप र अस्ट्रेलिया पढ्न तथा काम गर्न जान चाहनेका लागि लिइने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र ब्रिटिस काउन्सिल र आइडिपीले बनाउँदै आएका छन् । ‘उनीहरूको मिलेमतोविना यस्ता प्रश्न बाहिरिने सम्भावना नै हुँदैन’ काउन्सिलको उच्चपदमा काम गरिसकेका एक पूर्वकर्मचारीले भने । अनुसन्धानमा रहेको प्रहरी स्रोतले पनि काउन्सिलबाटै प्रश्नपत्र बेचिएको पुष्टि भएको जनाएको छ । ‘काउन्सिलबाट बेचिने पुष्टी भइसकेको छ’, प्रहरी स्रोतले भन्यो, ‘हामी व्यक्तिको खोजीमा छौँ, त्यो पनि केही दिनभित्रै पत्ता लाग्छ ।’ घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले लामो कसरतपछि ब्रिटिस काउन्सिलले उपलब्ध गराएको सक्कल प्रश्नपत्र र बेचिएको प्रश्नपत्र शनिबार दाँजेर हेरेको हो । काउन्सिलले सक्कल प्रमाणपत्र उपलब्ध गराउन लामो समयदेखि आनाकानी गरिरहेको थियो ।

२२ पुसबाटै अनुसन्धान सुरु गरेर प्रहरीले काउन्सिलसँग प्रश्नपत्र मागे पनि अटेर गर्दै करिब दुई साता ढिलो गरी प्रश्नपत्रको सक्कल उपलब्ध गराएको हो । सक्कल प्रश्न उपलब्ध गराएपछि काउन्सिल र आइडिपीकै रोहबरमा प्रहरीले दुवै प्रश्नपत्र दाँजेको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ‘आइइएलटिएस परीक्षाको प्रश्नमा ‘राइटिङ’ तर्फ सबै र ‘लिसनिङ’ तर्फ ४० वटा मध्ये ३८ वटा प्रश्न हुबहु मिलेको छ, ‘रिडिङ’ चाहिँ मिलेन ।’

प्रश्नपत्र मिलेपछि प्रहरीले २२ गते लिएको परीक्षा रद्द गर्न ब्रिटिस काउन्सिललाई आइतबार पत्र काटेको छ । ‘तीन वटा विधामा लिने परीक्षामा दुई वटा बिधा मिलेकाले त्यसदिनको परीक्षा रद्द गर्न पत्र लेखेका हौँ’ प्रहरीका अधिकारीको भनाइ छ । ती प्रश्नपत्र र त्यसको सबै विवरण प्रहरीले अदालतमा बुझाएको छ । प्रहरीले काउन्सिलकै संरक्षणमा यस्तो ठूलै गिरोह सञ्चालन भइरहेको हुनसक्ने आशंका गरेको छ ।

प्रश्नपत्र बाहिरिएपछि पोल खुल्ने डरले काउन्सिलले बारम्बार अनुसन्धानमा असहयोग गर्ने गरेको, सक्कल प्रश्नपत्र नै दिन आनाकानी गरेको थियो । प्रहरीले अनुसन्धानमा सहयोग गर्न पठाएको पत्रमा उल्टै काउन्सिलले बरामद भएको प्रश्न आपूmलाई दिन र त्यसविषयमा आपैmँ छानबिन गर्ने भन्दै जवाफ पठाएको थियो । त्यसपछि प्रहरीले प्रश्नपत्र नपठाए अन्य परीक्षासमेत रोक्न बाध्य हुने बेहोराको पत्र पठाएपछि काउन्सिलले सक्कल प्रश्न उपलब्ध गराएको थियो ।

यसक्रममा प्रहरीले काउन्सिलका कर्मचारी जिम र आइडिपीका विदुर खड्कीसँग सोधपुछ गरेको थियो । उनीहरूबाट भारतका काउन्सिल एजेन्ट हनी सिंहले प्रश्नपत्र पठाएको पाइएपछि प्रहरीले थप अनुसन्धानका लागि दिल्ली प्रहरीमा समेत उजुरी हाल्न ब्रिटिस काउन्सिललाई पत्र लेखेको छ ।

आइइएलटिएस परीक्षाको प्रश्नपत्र आउट भइरहेको छ भन्ने सुराकीका आधारमा २२ पुसमा प्रहरीले सुन्धारास्थित होटल सप्तरंगीबाट १३ जनालाई पक्राउ गरेको थियो । जसमध्ये झापा घरभई बालुवाटार बस्दै आएका ३९ वर्षीय सुरज लामा, महेन्द्रनगर, हल्दुखाल घरभई काठमाडौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्याय र स्याङ्जाको चापाकोट घरभई काठमाडौंको सामाखुसी बस्दै आएका २० वर्षीय विधान आचार्यविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको थियो ।

अब प्रमाण फेला परेकाले उनीहरूमाथि थप अदालती प्रक्रिया सुरु गरिने प्रहरीले जानकारी दिएको छ । उनीहरूले भाइबर, ह्वाटसएप लगायतका सामाजिक सञ्जालबाट परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई १० हजारदेखि अढाइ लाखसम्ममा प्रश्नपत्र बेच्ने गरेका थिए ।

प्रतिक्रिया