पेट्रोलियम पदार्थको सुरक्षामा प्रश्नचिह्न

वीरगञ्ज क्षेत्रमा हालै भएको ग्याँस दुर्घटनाजस्ता दर्दनाक घटनाहरू मुलुकका अन्य क्षेत्रमा दोहरिन सक्दैनन् भन्ने कसले ग्यारेन्टी गर्न सक्छ ? समयमै शर्तकता अपनाउनु दुर्घटना न्यूनीकरणमा सहयोग गर्नु हो ।

प्राणिमात्रमा सर्वश्रेष्ठ मानिएको मानव सम्पदायले सदा नै आफ्नो आवश्यकतालाई परिपूर्ति गरी जीवन सुखमय बनाउने सन्दर्भमा नयाँ र नौलो सुविधाजनक अवस्थाको चाहना राख्ने प्रयास गर्दछ । यसै क्रममा आफ्नो दैनिकीलाई सर्वसुलभ बनाउने चेष्टास्वरूप विगतको तुलनामा वर्तमान परिवेशमा पेट्रोलियम पदार्थको उपभोगमा अत्यधिक मात्रामा निर्भर हुने गरेको पाइयो ।

पुरातन ऊर्जाको स्रोतको रूपमा रहेको वनस्पतीजन्य ऊर्जा लोपउन्मुख हुनुका साथै राज्यपक्षबाट भएको बन फडानीको परिणामस्वरूप पेट्रोलियम पदार्थको माग दिनहुँ बढ्न गएको हो । अन्य ऊर्जाको तुलनामा पेट्रोलियम पदार्थ उपभोगका दृष्टिले सहज भएको हुँदा आजको मानव समुदाय यसतर्फ आकर्षित भएको हो । जसले दैनिक घरधन्दादेखि लिएर गन्तव्य निर्धारणलाई सहज बनाउने प्रयत्न निरन्तर रूपमा गर्दै आएको छ ।

मानव जिवनसँग प्रत्यक्ष सरोकार राख्ने अति–आवश्यकीय पदार्थ भइकन पनि सिंगो मुलुकभित्र यसको प्राकृतिक भण्डारणमा भएको अभावको कारण महँगो वैदेशिक मुद्रा खर्चिएर बाह्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यतामा मुलुक छ । खरिद गरेर ल्याइएका उक्त पदार्थहरू मुलुकको भू–राजनीतिक बनोटले गर्दा सर्वसुलभ रूपमा आपूर्ति हुन नसक्दा नागरिक समाजले अनाहकमा दुःख व्यहोर्दे आउनुपरेको छ ।

विषम परिस्थितिमा दैनिक उपभोग्य पदार्थको सहज आपूर्तिका लागि मुलुकभित्र यथेष्ट मात्रामा पाइला चाल्नुपर्छ । आपूर्ति व्यवस्थापनलाई सहज एवं सर्वसुलभ बनाउन सक्ने क्षमताका पेट्रोलियम पदार्थको भण्डारण गृहको अभावका कारण नाकाबन्दीको समयमा असहज परिस्थितिको सामना गर्न नागरिक समाज बाध्य भएको हो । तसर्थ, भविष्यमा यस प्रकारका कठिनाइहरूको सहज तवरबाट नै सामना गर्न सक्ने परिस्थिति निमाणार्थ करिब एक आर्थिक वर्षका लागि मात्र भए पनि धान्न सक्ने क्षमताका भण्डार गृहको विस्तार गर्ने लक्ष्य राख्ने हो भने निश्चय पनि आम नागरिक समाजको चुलोचौकोदेखि लिएर अन्य दैनिकीमा राहत व्यवस्थापनको अनुभूति गराउन सकिनेछ । हुन त यस प्रकारका सकारात्मक कार्य व्यवस्थापन गर्ने हेतुले विगत केही समययता मुलुकका सात वटै प्रदेशमा अति–आवश्यक प्रज्वलनशील पदार्थको भण्डारण क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको पाइन्छ । तथापि, भष्ट्राचारजन्य प्रभावका कारण भण्डारण गृह निमार्ण प्रक्रियामा विलम्ब भएको छ ।

नागरिक सुरक्षा एवं सहजतासँग प्रत्यक्ष आबद्ध रहने यस्ता गतिविधिहरूमा समस्या निराकरण गरी सर्वसुलभ आपूर्ति व्यवस्थापनका लागि समयमै ध्यान पु¥याउन सकिएन भने नागरिक समाजले सकसबाहेक अन्य केही उपलब्धि प्राप्त गर्न नसक्ने निश्चित छ । यसरी, एकातिर मुलुकमा पेट्रोलियम पदार्थको माग दिनहँु अत्यधिक मात्रामा वृद्धि हुँदै जानु, अर्कोतर्फ खनिज पदार्थको रूपमा रहेको अति–प्रज्वलनशील पदार्थको प्राकृतिक भण्डारको प्रचुर मात्रामा अभाव भएकै कारण यस क्षेत्रमा समस्या चुलिएको हो । हुन त पेट्रोलियम पदार्थमा रहेको अत्यधिक परनिर्भरताबाट मुलुक तथा नागरिक समाजलाई उमुक्ति दिलाउनको अतिरिक्त वैदेशिक मुद्रा बर्हिगमनमा रोक लगाउने उद्देश्यले विगतमा पेट्रोलियम पदार्थको उत्खनन एवं प्रशाोधन गरी प्रयोगमा ल्याउने हेतुले यस क्षेत्रमा सर्वेक्षण तथा खोजका प्रयासहरू राज्यपक्षबाट नभएको पनि होइन ।

यद्यपि, उत्पादन लागतकोे अनुपातमा मुलुकभित्र रहेका प्राकृतिक भण्डारणको क्षमता ज्यादै न्यून मात्रामा रहेको देखाइएकाले उपभोगका दृष्टिले मुलुकभित्र पेट्रोलियम पदार्थको उत्खनन गरी उत्पादन गर्दा त्यति लाभदायी सिद्ध नभएको हुँदा व्यापारिक प्रयोजनको रूपमा यसको उत्पादन नगरिएको मात्र हो ।

हुन त विश्व परिवेशमा नै अत्यधिक दोहन भएकै कारण पेट्रोलियम पदार्थको प्राकृतिक भण्डारणमा समेत ह्रास आउने निश्चित छ । तसर्थ, अति–मूल्यवान पदार्थको रक्षार्थ वैकल्पिक ऊर्जाको पहिचान गरी प्रयोगमा ल्याउनु नै यसको संरक्षण गर्नु हो ।

मानव जीवनसँग निकट सम्बन्ध स्थापित गर्न सक्षम पेट्रोलियम पदार्थको सही रूपमा प्रयोग गर्न नजान्दाका परिणामस्वरूप मानवीय त्रुटि वा लापरबाहीका कारण निम्तिन सक्ने गम्भीर मानवीय तथा भौतिक क्षतिलाई कम आँक्न गर्न मिल्दैन । अति–सम्वेदनशील तथा अत्यन्त प्रज्वलनशील पदार्थसमेत भएको हुँदा यसको गम्भीरता एवं सम्वेदनशीलतालाई समयमै ध्यान पु¥याउन नसक्ने हो भने त्यसबाट निस्कने भयानक दुष्परिणामको शिकारको चपेटामा पर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न पक्कै पनि मिल्दैन ।

अत्यन्त प्रज्वलनशील पदार्थको प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने हुन्छ । किनकि, आगोको सानो झिल्को, स्पार्क प्लग, वा बिजुली स्विच बाल्दा निभाउँदा निस्कने झिल्कोबाट समेत अकल्पनीय दुर्घटना निम्तिन सक्ने बस्तुस्थितिलाई मध्यनजरमा राख्दै प्रयोगमा सावधानी अपनाउनु नै दुर्घटना न्यूनीकरण गर्नु हो । यसै तथ्यलाई समयमा नै हेक्का राख्न नसक्दाका परिणाम हालै मुलुकको वीरगञ्ज क्षेत्रमा भएको ग्याँस उद्योगको दुर्घटनालाई लिन सकिन्छ । त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिलाई कुनै पनि हालतमा रुपैयाँमा मापन गर्न मिल्दैन । यस्ता गतिविधिहरूलाई निश्चय पनि पाठका रूपमा लिँदै सावधानी अपनाउनुपर्ने हुन्छ ।

दैनिक रूपमा मुलुकभित्र वा बाह्य जगतमा हुने र हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्दै मानवीय एवं भौतिक क्षतिलाई क्रमशः कम गर्ने चाहना राख्ने हो भने घना मानव बस्ती भएका क्षेत्रमा यसप्रकार प्रज्वलनशील पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाउनेतर्फ सम्बन्धित सबै पक्षको अविलम्ब ध्यान जानु अति जरुरी छ । एलपिजी ग्याँस, पेट्रोल, मट्टितेल, डिजेल एवं हवाई इन्धनको प्रयोग, ओसार–पसार, सुरक्षा तथा आम नागरिकको सर्वसुलभ पहुँचको हेतु नगर तथा ग्रामीण क्षेत्रमा सरकार संवेदनशील हुनुपर्छ । यस प्रकारका पदार्थको कारोबार गर्ने पम्पहरू मानव बस्तीदेखि निश्चित दुरीमा रहनुपर्ने भन्ने सरकारी निकायबाट जारी गरिएको प्रावधान, नीति, नियम वा निर्देशिकाहरूलाई अत्यन्त कडाइका साथ लागू गर्दै व्यवहारमा उत्तार्नु आजको आवश्यकता हो ।

किनकि, वीरगञ्ज क्षेत्रमा हालै भएको ग्याँस दुघर्टनाजस्ता दर्दनाक घटनाहरू मुलुकका अन्य क्षेत्रमा दोहरिन सक्दैन भन्ने कसले ग्यारेन्टी प्रदान गर्न सक्छ ? समयमै शर्तकता अपनाउनु दुर्घटना न्यूनीकरणमा सहयोग गर्नु हो । पेट्रोलियम पदार्थको सुरक्षित बिक्री–वितरणको लागि अवलम्बन गरिएका रणनीतिअनुसार राज्यका तर्फबाट कायम गरेको पेट्रोल पम्प सञ्चालनको लागि आवश्यक पर्ने न्यूनतम जमिनको सीमाअनुसार नै हुनुपर्छ । मुलुकभर कायम रहेका पम्पहरूलाई सञ्चालनमा ल्याउने नीति अख्तियार गर्नुपर्ने हुन्छ । यस प्रकारका सकारात्मक कदमलाई पूर्ण रूपमा पालना गर्ने तदारुकता देखाउने हो भने सम्भावित अकल्पनीय दुर्घटनालाई अन्त्य गर्दै यस क्षेत्रमा रहेका सुरक्षासम्बन्धि अनुत्तरित प्रश्नहरूको निराकरण गर्ने क्रममा सहयोगीको भूमिका अवश्य पनि निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।

 

प्रतिक्रिया