सबैको निन्द्रा उडाउने त्यो पेन्टिङ . . .

एजेन्सी
काठमाडौं । यो संसार विचित्रको छ । यहाँ कहिलेकाहीँ यस्ता घट्नाहरू घट्छन् कि पत्याउन पनि गाह्रो पर्छ । भूत–प्रेत, श्राप, जादुजस्ता कुरा हामीले विभिन्न पुस्तकमा नपढेका पनि होइनौँ । अहिलेको वैज्ञानिक युगमा आएर यस्ता कुरामा विश्वास नगर्ने जमात धेरै भइसकेको छ । तर, कहिलकाहीँ यस्ता घटना घटिदिन्छन् कि यस्ता कुरामा विश्वास गर्न करै लाग्छ ।

मानिसका अनेकौँ चाहना मध्ये पेन्टिङ पनि एक हो । मानिसहरू विभिन्न किसिमका पेन्टिङहरू किनेर आफ्नो घर, बैठक कोठालगायत ठाउँहरूमा राख्ने गर्दछन् । पेन्टिङले कोठाको सुन्दरतामा निखारपना आउनाले पनि मानिसहरू आफ्नो मनले चाहेका पेन्टिङमा हजारौँ रुपैयाँ खर्च गर्न पछि पर्दैनन् ।

राम्रा राम्रा पेन्टिङले सबैको मनलाई आकर्षित गरिरहन्छ । मानसिक शान्ति पनि कतिपय पेन्टिङले गरिराखेको हुन्छ । विश्वमा लियो नार्दाे दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङले सबैको मनलाई लोभ्याएको त सबैलाई थाहा नै छ ।

तर, यहाँ यस्तो पेन्टिङको जानकारी दिन खोजिएको छ जुन पेन्टिङले खुसीको सट्टामा दुःख निम्त्याएको छ । यो पेन्टिङले इटालीका मानिसलाई तर्साएको छ । विश्वास गर्नु र नगर्नु तपाईंमा भरपर्ने विषय हो । यदि, तपाईंलाई विश्वास लाग्दैन भने इन्टरनेटमा खोजेर पनि वास्तविकता थाहा पाउनुहुनेछ ।

इटालीका प्रख्यात आर्टिस्ट जियोवनी ब्रागोलिनले ६ डिसेम्बर १९८५ मा एउटा पेन्टिङ बनाएका थिए । जुनमा एउटा बच्चा रोइराखेको देखिन्छ । बनाइसकेपछि यो पेन्टिङ यति प्रख्यात भयो कि उनी नै दंग परे । सन् १९८५ को दशकमा यो इटालीमा सबैभन्दा बढी रुचाएको पेन्टिङ थियो । केही दिनमा नै यो पेन्टिङ सयौँको संख्यामा बिक्री भएको थियो । यो पेन्टिङ यति प्रख्यात भयो कि उनले यसको सिरिज नै बनाउनुपरेको थियो । यो सिरिजको नाम ‘द क्राइङ ब्वाय’ नाम दिइएको थियो । यसको ५० हजारप्रति बनाउन परेको थियो । तर, केही दिनपछि नै यो पेन्टिङबाट अपसकुन देखापर्न थाल्यो । मानिसले यसलाई श्रापित पेन्टिङको उपमा दिन थाले ।

जजसले यो पेन्टिङ किनेर घरमा लगेर राखेका थिए त्यसत्यसका घर जलेर खरानी हुन थाले । अझ आश्चर्यजनक कुरा त यो थियो कि सबै घरका सामान जलेर खरानी भए पनि त्यो पेन्टिङमा भने केही भएको थिएन । एक रिपोर्टअनुसार आगो निभाउन गएका कर्मचारीले जब १५ घरमा आगो निभाएका थिए ती सबै घरमा त्यो बच्चाको पेन्टिङ भेटिएको थियो । सबै घरमा त्यो पेन्टिङ भने केही भएको थिएन ।

जब यस्ता घट्ना बढ्न थाले त्यसपछि मानिसहरू यो पेन्टिङबाट डराउन थाले । सबैको निद्रा गायब हुन थाल्यो । जसजसले किनेर घरमा राखेका थिए र घर जल्न बाँकी भएकाले त्यो पेन्टिङलाई घरबाट निकालेर बाहिर फाल्न थाले । सबै पेन्टिङहरूलाई एक ठाउँमा जम्मा पारेर मानिसहरूले जलाउन थाले । सुरुमा त मानिसले यसलाई अन्धविश्वासको रूपमा लिएका थिए ।

घर जल्नु र पेन्टिङ भेटिनु एक संयोग हो भनेको थिए । जब यस्ता घटना बढ्न थाले अनि मानिसलाई विश्वास हुन थाल्यो । अनि मानिसले यो पेन्टिङलाई घरबाट निकाल्न सुरु गरेका थिए । त्यसपछि घरमा आगो लाग्न कमी भएको कुरा बाहिर आएको थियो । तै पनि यस पेन्टिङका केही प्रति हाल पनि सुरक्षित रूपमा रहेको बताइएको छ ।

प्रतिक्रिया