ओली–दाहाल सहमति : प्रदेश सरकार र एकता कार्यदलको टुंगो आज

सौर्य समाचार
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षबीच एकता संयोजन समिति बैठकबाट तीन एजेन्डामा निर्णय लिने सहमति भएको छ । शनिबार भएको दुई नेताबीचको वार्तामा सो निर्णय भएको हो ।

एमाले–माओवादी शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेन्डा तय गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शनिबार छलफल भएको हो । ओली निवास बालकोटमा भएको छलफलमा दुई नेताबीच राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका केन्द्रित रही विचार विमर्श भएको थियो ।

ओली दाहालबीचको छलफलबाट एकता कार्यदल, राष्ट्रिय सभा र प्रदेश सरकारको टुंगो लगाउने एजेन्डा तय भएको छ । गत २५ पुसमै पार्टी एकता कार्यदल गठन गर्ने योजना भए पनि केही गृहकार्य नपुगेको भन्दै रोकिएको थियो । दुई नेताबीच आइतबारको बैठकबाट कार्यदल बनाउने सहमति भएको छ । दुई नेताबीच शुक्रबारको वार्तामा भएको सहमतिका आधारमा दुवै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरी विश्वासमा लिएर एकता मोडालिटी सार्वजनिक गर्ने सहमति पनि भएको छ । दुवैतर्फको शीर्ष नेताको सम्मानजनक व्यवस्थापनसँगै दुवै पार्टीका पदाधिकारीलगायत सबै तहका संगठनको व्यवस्थापन पनि सम्मानजक आधारमै गर्ने सहमति दुई नेताबीच छ ।

‘पार्टी एकता गर्दा दुवै पार्टीका कुनै पनि नेता कार्यकर्ताले आफू अपमानित भएको महसुस नगरोस्, सबैले गर्व गर्ने अवस्था होस् भन्नेमा ओली–दाहाल निकै सचेत हुनुहुन्छ, त्यही आधारमा मोडालिटीबारे आन्तरिक परामर्श गरी संयोजन समितिको बैठकबाट एकता कार्यदल गठन गरी बाहिर सार्वजनिक गर्ने योजना छ,’ एमालेका एक नेताले भने । उनका अनुसार अहिले पनि एकता बिथोल्न बिभिन्न तहमा षड्यन्त्र भइरहेको कारण दुवै नेताले अति गोप्यताका साथ प्रक्रिया अघि बढाएका हुन । यसैगरी आइतबारको बैठकले राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटको विषयमा निर्णय लिनेछ । ‘कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसलाई आवश्यक परे केही परिमार्जन गरी राष्ट्रिय

सभाको विषयमा निर्णय लिइनेछ,’ दुवै अध्यक्ष निकट स्रोतले भन्यो ।
एमाले नेता सुवास नेम्वाङ नेतृत्वको संयुक्त कार्यदलले राष्ट्रियसभामा ४३ स्थानको निर्णय गर्दै एमाले २९ र माओवादी १४ स्थानमा उम्मेदवार हुने गरी सिट बाँडफाँट गरेको छ । कार्यदलको सो प्रतिवेदनमा कतिपय नेताको व्यवस्थापन गर्नै पर्ने अवस्थामा प्रदेशको सहमति हेरफेर गर्ने संभावना रहेको छ । यसैगरी वैचारिक, राजनीतिक र सांगठानिक स्वरूपबारे टुंगो लगाउन आइतबारकै बैठकबाट कार्यदल गठन गर्ने योजना ओली–दाहालको छ । संयोजन समितिको बैठकमा प्रदेश–२ मा सहकार्य गर्ने शक्तिको विषयमा समेत छलफल हुने स्रोतले बताएको छ ।

प्रदेश–२ मा एमाले र माओवादीले एकल संक्रमणीय मतका आधारमा एक÷एक सिट जित्ने अवस्था छ । आठ मध्ये दुई सिट जित्ने अवस्थामा रहेको एमाले–माओवादीले नेपाली कांग्रेसलाई सो प्रदेशमा शून्य बनाउन चाहिरहेको छ । सोही आधारमा एकता संयोजन समितिको बैठकमै यस विषयमा छलफल गरी निर्णय मधेसी गठबन्धनलाई सहयोग गर्ने योजना बनाएको स्रोतले बतायो । प्रदेश–२ मा एमाले–माओवादीले मधेसी गठबन्धनलाई सहयोग गर्दा ६ सिट राजपा–संघीय समाजवादी फोरमको गठबन्धनले जित्नेछ ।

प्रतिक्रिया