अन्तर कोरियाली सम्बन्धमा सुधार हुन्छ भने उत्तरका नेतासँग वार्ता गर्न तयार छु : मुन

सोल, २६ पुस । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि आफू उत्तर कोरियाली नेतासँग भेटेर कोरियाको आन्तरिक विषयमा वार्ता गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति इनले हाल कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधानका लागि तथा दुई कोरियाबीचको सम्बन्धमा सुधारका लागि भेटघाट र वार्ता गर्नुपर्दछ र त्यसका लागि हामी तयार छौँ भने ।

उनले दुई वर्षपछि भए पनि वार्ताको वातावरण बन्नु र वार्ता हुनु निकै महत्वपूर्ण कुरा हो भन्दै यसबाट अब आगामी दिनमा दुवै कोरिया र कोरियाली प्रायद्वीपमा सहज वातावरण निर्माणका लागि आफूहरु तयार रहेको धारणा उनले राखे ।

गत वर्षमात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मुनले नयाँ वर्षका अवसरमा अर्थात् गत जनवरी १ मा दिएको शुभकामना सन्देशमा पनि सम्बन्ध सुधारका लागि कोरियाली सम्मेलन कोरिया समिटको आयोजना गर्न सुझाव दिएका थिए ।

साथै उत्तर कोरियाली नेता किम जोङ उनले पनि नयाँ वर्षको सोही सम्बोधनको क्रममा आफूहरु दक्षिण कोरियाको प्रस्तावमा वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

त्यसै बमोजिम विकसित परिस्थिति अनुसार उत्तर र दक्षिण कोरियाको वार्ता सम्भव भएको थियो । सो वार्तालाई निरन्तरता दिन र कोरियाली प्रायद्वीपमा जारी तनावपूर्ण अवस्थाको सुधार गर्न संयुक्त राष्ट्रसंघले पनि आग्रह गरेको छ ।

प्रतिक्रिया