पटना । पशु आहार भ्रष्टाचारमा साढे ३ वर्षको सजाय पाएका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई जेलमा बगैँचेको काम दिइएको छ । राँचीको बिरसा मुण्डा जेलमा लालुले जे काम पाएका छन् त्यसबापत उनलाई पारिश्रमिक पनि दिइनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार बगैँचेको काम गरेबापत उनलाई दैनिक ९३ रुपैयाँ पारिश्रमिक तोकिएको छ ।
लालुलाई बिरसा मुण्डा जेलबाट हजारिबागस्थित खुला जेलमा सरुवा गरिनेछ । लालुलाई सजाय सुनाइएपछि उनको पार्टी आरजेडीले धरौटीमा रिहा गराउन उच्च अदालतमा पुनरावेदन गर्ने घोषणा गरेको छ । सीबीआईको विशेष अदालतले उनलाई ३ वर्षसम्मको मात्र सजाय दिएको भए उनी त्यहीबाट धरौटीमा रिहा हुन सक्थे । सजाय ३ वर्षभन्दा बढीको तोकिएकाले उनका लागि उच्च अदालतको विकल्प छैन ।
भ्रष्टाचारको आरोपमा सजाय सुनाइएपछि लालुले ट्वीटमार्फत मोदी सरकारमाथि तिखो टिप्पणी गरेका थिए । लालुको आधिकारिक ट्वीटर ह्यान्डलमा एउटा पत्र पोस्ट गरियो । यो पत्रमा उनले तानाशाही सत्ताको साथ नदिएकाले आफ्नो पछि विषालु शक्ति लगाइयोे जसको सजाय भोग्नुपरेको उल्लेख गरेका छन् ।
लालुलाई ९ सय ५० करोड पशु आहार भ्रष्टाचारमा दोस्रोपटक आपराधिक षड्यन्त्र एवं भ्रष्टाचारको धारा आकर्षित गर्दै सजाय सुनाइएको हो । यसअघि, पशु आहार भ्रष्टाचारकै चाइबासा कोषसँग जोडिएको मुद्दामा उनलाई ३ अक्टोबर २०१३ मा यही धारा आकर्षित गर्दै ५ वर्ष श्रम सहितको जेल र २५ लाख जरिवानाको सजाय सुनाइएको थियो ।
बिहार विधानसभाका प्रतिपक्षी दलका नेता एवं पूर्व–उपमुख्यमन्त्री तेजस्वी यादवले आफ्ना पिता लालु यादवलाई सुनाइएको सजायविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएका छन् । बिहारका मुख्यमन्त्री नीतिशकुमार र बिजेपीले षड्यन्त्र गरेर आफ्ना पितालाई फसाएको आरोप लगाउँदै तेजस्वीले माघे संक्रान्तिपछि जनताको बीचमा गएर सबै कुरा राख्ने बताएका छन् । उनले बिहारमा जनजागरण अभियान र ठूला विरोध सभा गर्ने पनि बताएका छन् । उनले भनेका छन् ‘दुःख त यो कुराको छ कि जसलाई जनताले चुने ऊ जेलमा छ र जसलाई तिरस्कार गरे ऊ चोर ढोकाबाट सरकामा पुगेको छ ।’
लालुलाई सजाय सुनाइए पनि आरजेडीसंगको गठवन्धन नटुट्ने कांग्रेसले बताएको छ । बिहार प्रदेश कांग्रेसका अध्यक्ष काकव कादरीले लालुलाई दिइएको सजायले गठबन्धनमा कुनै असर नपर्ने बताएका हुन् । एजेन्सी
प्रतिक्रिया