काठमाडौं । राजधानीलगायत देशका अधिकांश ठाउँमा बढेको चिसो अझै बढ्ने देखिएको छ । आगामी एक सातासम्म चिसो अझै बढ्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । चिसोले कठ्यांग्रिएर तराईमा शनिबार सम्ममा ११ जनाको मृत्यु भइसकेको छ । चिसो बढेसँगै राजधानीलगायत तराईको जनजीवन प्रभावित भएको छ । रातमा आकाश खुला भएकै कारण केही दिनदेखि स्थिर रहेको न्यूनतम तापक्रम अझै कम भएर जाने महाशाखाले जनाएको छ । आइतबारबाट हावाको बहाव पश्चिम उत्तर बहने भएकाले चिसो बढ्ने क्रम जारी रहने महाशाखाको भनाइ छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीको आसपासमा झरेको छ । यो क्रम अझै बढ्न सक्ने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । राजधानीमा तुसारो परे पनि दिउसो घाम लाग्ने गरेकाले केही न्यानो महसुस हुने गरेको छ । तर, तराईका जिल्लामा भने बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सन् १९९८ जनवरी ११ तारिखका दिन अहिलेसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।
न्यानो लुगा नहुँदा तराईमा विचल्ली
न्यानो लुगा अभावमा कठ्यांग्रिएर सिरहा, सप्तरीलगायत तराईका जिल्लामा दैनिक दुईदेखि चार व्यक्तिको मृत्यु हुन थालेको छ । दुई सातादेखि जारी चिसोका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । चिसोले सिरहामा शनिबार तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीमाई नगरपालिका ७, कसहाका ५५ वर्षीय रामरतन महतो र गोलबजार नगारपालिका–४, का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साहको शनिबार बिहान मृत्यु भएको हो । चिसोकै कारण गोलबजार–२, लालपुरका ७० वर्षका रामप्रसाद महतोको शुक्रबार बेलुका मृत्यु भएको थियो ।
सप्तरीमा शुक्रबार राति तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुरको मृत्यु भएको छ । उनीसँगै सप्तरीमा जाडोका कारण मृतकको संख्या ७ पुगेको छ । चिसो बढेसँगै त्यहाँका सामुदायिक विद्यालय थप ४ दिन बन्द गरिएको छ । अत्यधिक जाडोले कठ्यांग्रिएर धादिङमा पनि एक जनाको मृत्यु भएको छ । वेनीघाट रोराङ–३, पांगरजिप बस्ने २५ वर्षीय प्रेमबहादुर चेपाङको अत्यधिक जाडोका कारण शुक्रबार राति मृत्यु भएको हो । सातायता सप्तरी र रौतहटमा ९ जनाको मृत्यु भइसकेको छ ।
अत्यधिक चिसो बढेपछि बारा र पर्साका विद्यालय थप चार दिन बन्द हुने भएका छन् । दुवै जिल्लाका प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाक्लो हुस्सु र चिसोका कारण तराईका अस्पतालमा चिसोका बिरामी बढेका छन् । जिल्लाका निजी, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघा खोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेको हाम्रा सहकर्मीहरूले जानकारी दिएका छन् ।
जाडोयाममा हृदयघात र मस्तिष्कघात, रुघाखोकी र निमोनियाको जोखिम बढ्ने चिकित्सकको भनाइ छ । विज्ञका अनुसार जाडोयाममा शरीरको तापक्रम ३४÷३५ डिग्रीभन्दा कम भए हातखुट्टा चिसो हुनुका साथै श्वासप्रश्वासमा समस्या हुन्छ । जसले मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र मृत्युसम्म हुनसक्ने भएकाले चिसोबाट सकेसम्म बच्न चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया