पूरा भएन मुलुकभित्र लेख्ने धोको..

सन्दर्भ वाङ्देल जयन्ती सन्दर्भ वाङ्देल जयन्ती

कमल सुवेदी

झन्डै सय वर्ष अघिको कुरा हो खोटाङ जिल्लाको रावाखोला पारिको गाउँबाट बालक रङ्गलाल राई बाबुको हात समातेर ताते गर्दै भारतको दार्जिलिङ पुगे । खोटाङ बसेर आफ्नो आर्थिक अवस्था कहिल्यै नसुध्रिने देखेका थिए उनले भने त्यतिवेला मेची पारिको दार्जिलिङमा चियाको बोटमा पैसा फल्छ भन्ने हल्ला नेपालको पूर्वाञ्चल क्षेत्रमा व्याप्त थियो ।

बाबुलेझैँ चिया कमानमा काम गरे रंगलालले पनि र आर्थिक अवस्था केही उकासे पनि । उनको बिहावारी पनि त्यतै भयो र विस. १९८१ पुस ७ गते उनले एउटा छोरो जन्माए जो आज नेपाली कला र साहित्यका क्षेत्रमा एउटा नक्षत्रका रूपमा चिनिए । उनी थिए लैनसिंह वाङ्देल । दार्जिलिङको तक्भर चियाकमानमा जन्मेका लैनसिंह वाङ्देल बाल्यकालमै अभागी सावित भए ।

आमा विमला राईको उनी १८ महिना छँदै निधन भयो । तर, लैनसिंह कुशाग्र बुद्धिका थिए जसका कारण नेपाली पढ्न जान्ने भएपछि उनले मधुमालतीको कथा, तोतामैनाको कथा तथा वीरसिक्का जस्ता शास्त्रीय आख्यान पढ्न थाले । पढ्ने कामसँगै उनी चित्र पनि कोर्न थाले । औपचारिक अध्ययनलाई पनि अघि बढाउँदै लगे र साहित्य रचना र चित्रकलालाई पनि फराकिलो पार्दै गए ।

एउटा समस्या के आइदियो भने बाबु बाजे गरिबीमा पिल्सिएर मुग्लान भासिनु परेको पीडाले उनका बुबा भने लैनसिंहलाई डाक्टरी वा इन्जिनियरिङ पढाउन चाहन्थे । फेरि दार्जिलिङमा ललितकला विषयको अध्ययन गर्ने गराउने संस्था पनि थिएन । बाबुको जिद्दी प्राविधिक विषय पढाउने र छोराको जिद्दी चित्रकला पढ्नेमा भयो भने कोलकाता पठाएर छोरालाई चित्रकला पढाउने हैसियत पनि उनका बाबुमा थिएन । अमर गायक तथा संगीतकार गोपाल योञ्जनको जीवनमा पनि यस्तै अवस्था आएको थियो ।

तर, परिस्थिति छोराकै पक्षमा आयो पश्चिम बंगाल राज्यको डिस्ट्रिक्ट बोर्ड स्कलरसिपमा दार्जिलिङबाट उनको नाम छानियो र उनी कोलकाताको गवर्नमेन्ट कलेज आफ आर्ट एन्ड क्राफ्टमा भर्ना भए । पूरा दिलचस्पीका साथ चित्रकलाको अध्ययन गरे । स्कलरसिपको पैसा थोरै थियो र बाबुले पनि पठाउन नसक्ने अवस्था भएकाले बडो दुःखले उनले चित्रकलामा स्नातक गरे ।

यही अवधिमा उनले मुलुकबाहिर, माइतघर तथा लंगडाको साथी जस्ता कालजयी कृति लेखिसकेका थिए । रेम्ब्रान्ट जस्तो विश्वविख्यात कलाकारको जीवनीमा आधारित उपन्यास पनि उनले यसै वेलामा लेखेका हुन् भने विश्व कथा संग्रहको अनुवाद पनि । यिनै तीन वटा उपन्यास हुन् वाङ्देलका जसले नेपाली यथार्थवादी औपन्यासिक क्षेत्रमा कोशेढुंगाको काम गरे ।

नेपाल र भारतमा स्नातकोत्तर तहसम्म पढाइ हुने यी कृतिहरूमा एक दर्जनभन्दा बढी अनुसन्धाताहरूले पीएचडी गरिसकेका छन् । वाङ्देलको साहित्यको उर्वर जीवन भने झन्डै –झन्डै विश्राम लिन पुग्यो कोलकाता बसाइँको अन्तबाट । कलकत्तामा उनले प्रसिद्ध भारतीय सिने निर्देशक सत्यजित राय र फ्रान्सेली सिने निर्देशक जा रेनुवासित सहकार्य गरिसकेका थिए ।

नेपालका राजा महेन्द्र, नाटककार बालकृष्ण सम तथा बिपी कोइरालासित सम्बन्ध बनिसकेको थियो । जा रेनुवाको प्रेरणा र सहयोगमा उनी विश्वकलाको राजधानी फ्रान्स पुगे सन् १९५२ मा । बेलायतको छोटो बसाइपश्चात उनी फ्रान्स भएर त्यहाँको इकोल द बोजार्टमा भर्ना भए । अब उनी चित्रकारितालाई नै संसारको सबैभन्दा प्रिय वस्तु मान्दै त्यसैमा हराउन थाले ।

आफैँले बनाएको चित्र बेच्दै आर्थिक भरथेग गर्ने काम उनले कोलकाता बसाइमा नै गर्न थालेका थिए, फ्रान्सको बसाइमा पनि त्यसै गरे । विश्वका थुप्रै देशहरूको भ्रमण गर्दै त्यहाँका कला र कलाकारबारे थुप्रै अनुसन्धान गरे । फ्रान्सेली विचारक तथा दार्शनिक अल्वेयर क्यामु, कलाकार पिकासो तथा आन्द्रे मोफवा जस्ता महान् हस्तीहरूसित उनको उठबस भयो । साहित्य र कलामा आफ्नो वैचारिक धरातललाई तिख्खर पार्दै सन् १९५९ मा बेलायत फर्किए ।

दार्जिलिङकै मानकुमारी थापा जो बेलायतमै बसेर चिकित्साशास्त्रको अध्ययन गर्दै थिइन् उनैसित विवाह बन्धनमा बाँधिए ।नेपाली, हिन्दी, अंग्रेजी तथा फ्रान्सेली भाषाका ज्ञाता वाङ्देलको कोलकाता र बेलायतमा छँदा भएको राजा महेन्द्रसितको भेटमा उनलाई नेपालमा स्थायी रूपमा बस्ने गरी आउन आमन्त्रण गरिसकिएको थियो ।

उनी विस. २०१७ सालतिर नेपाल छिरे र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्यका रूपमा नियुक्त भए । क्रमशः त्यहाँ उपकुलपति हुँदै दुई कार्यकाल उनले कुलपतित्व सम्हाले । नेपाल प्रवेशपछि उनले स्टोलन इमेज अफ नेपाल भन्ने अति महत्वपूर्ण कृति प्रकाशित गरे । नेपालका महत्वपूर्ण पुरातात्विक सम्पदाहरू जो हामीबाट गुमेका थिए सो पुस्तकको प्रकाशनपछि तीमध्ये केही फिर्ता पनि भए । नेपालको सांस्कृतिक सम्वद्र्धनका क्षेत्रमा यो औधी महत्वपूर्ण कार्य हो ।

थारै उपन्यास लेखेर पनि नेपाली औपन्यासिक क्षेत्रको एउटा धाराको नेतृत्व उनले गरे । नेपाली साहित्यमा यथार्थवाद र अति यथार्थवादका प्रयोत्ता थिए उनी र उनको कृति लंगडाको साथी अति यथार्थवादको प्रथम उपन्यास मानिन्छ । कोलकाताको विज्ञापन एजेन्सीमा मासिक २०० रुपैयाँको नोकरी गरेका वाङ्देलले राज्यका तर्फबाट आफ्नो क्षेत्रको सर्वाेच्च पदमा दुई कार्यकाल रहनु नेपालको परिप्रेक्ष्यमा राज्यका तर्फबाट स्रष्टाहरूप्रति गरिएको उच्च सम्मान हो ।

आफ्नो मुलुकबाहिर छँदा मुलुक बाहिर लेखे उनले तर मुलुकभित्र आएपछि मुलुकभित्र लेख्ने धोको भने पूरा हुन सकेन । सन् १९४४ मा हिमाल किशोर नामक पत्रिकामा कविता छपाएर उनले प्रकाशन यात्राको खाता खोलेका थिए । नेपाल ललित कला संस्था नाफा र नेपाल आर्ट काउन्सिलको स्थापनामा सार्थक योगदान गरेका वाङ्देलले आफ्ना समग्र औपन्यासिक कृतिहरूमा पीडित पात्रहरूको प्रतिस्थापन गरेका छन् ।

लंगडाको साथीको लंगडा, माइतघरकी सानी तथा मुलुक बाहिरका रने र म्याउँची जस्ता पीडित र निम्नवर्गीय पीडाग्रस्त चरित्रहरूलाई उजागर गरेर उनले नेपाली उपन्यासलाई निम्नवर्गीय नायकत्व प्रदान गरेका छन् । विद्यालय पढ्दा लैनसिंह राई थिए उनी तर आफ्नो पुख्र्यौली थलो वाङ्देल गाउँको सम्झनामा उनले आफ्नो थर नै वाङ्देल राखे ।

नेपाल प्रवेशपछि आफ्ना चित्रहरूमा राष्ट्रिय सन्दर्भलाई चित्रांकन गर्ने उनी प्रकृति चित्रणमा पनि माहिर छन् । यथार्थलाई अमूर्ततामार्फत चित्रमा व्यक्त गर्ने उनको खुवी सार्थक रहेको पाइन्छ । गोरखा दक्षिणबाहु तेस्रोदेखि नेपालको सर्वाधिक ठूलो पृथ्वी प्रज्ञा पुरस्कारका पनि उनी भागिदार बने ।

अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा भिजिटिङ प्रोफेसरका रूपमा कार्य गर्ने उनको अद्वीतीय वक्तृत्व र प्रवचनकला थियो । अमेरिकाको कला संग्रहालयको अन्तर्राष्ट्रिय प्रदर्शन कक्षमा समेत कलाकृति रहेबाट पनि उनको क्षमताको आँकलन गर्न सकिन्छ ।

लेखनमा उपन्यास, जीवनी, पत्रसाहित्य र अनुसन्धानमा अब्बल दर्जाका शिल्पी वाङ्देल आजीवन कला र साहित्यमा समर्पित रहे । जीवनको उत्तरार्धमा कला साधनामा निर्लिप्त रहेका उनी ७९ वर्षको उमेरमा वि स २०५९ असोज २९ गते हामीबाट सदाका लागि ओझेल भए ।

प्रतिक्रिया