अध्यक्षविना एकता नगर्ने अडान छैन


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अध्यक्ष नपाए पार्टी एकता नगर्ने अडान आफूहरूले नराखेको प्रष्ट पारेका छन् । एमाले र माओवादी एकतामा पदको भागबन्डा विवाद नरहेको प्रष्ट पार्दै दाहालले सो जनाउ दिएका हुन् ।

पछिल्लो समय एमाले र माओवादीकै नेताहरूले एकताको विषयमा फरक–फरक धारणा राख्न थालेपछि दाहालले बुधबार पार्टी कार्यालयमा पत्रकारसामु एकतामा पद गौण रहेको प्रष्ट पारे । अध्यक्ष नपाएसम्म एमालेसँग पार्टी एकता नगर्ने अडान छैन, बाहिर आएको कुरा सत्य होइन,’ दाहालले भने, ‘एकता गर्दा दुवै पार्टीबीच कार्यकारी पद बाँडफाँड गरेर जाने सहमति भइसकेको छ, औपचारिकता दिन मात्रै बाँकी छ ।’ दाहालले केही दिनभित्रै यस विषयमा टुंगो लगाउने जानकारीसमेत दिए ।

‘एक÷दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बसेर एकताप्रक्रिया अघि बढ्छ, एकता टुटाउन सकिन्छ कि भनेर कसैले कोसिस नगरे हुन्छ,’ दाहालले भने । उनले वाम गठबन्धन जनताबाट अनुमोदन भइसकेको कारण अन्त कतैबाट आएको प्रधानमन्त्री अफर स्वीकार गर्नै नसकिने पनि प्रष्ट पारे । उनले नेपाली कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री हुने कुरा कल्पनासमेत नगरेको बताए । ‘वाम गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने सोचसम्म पलाएको छैन, प्रधानमन्त्री कसरी हुनु ? गठबन्धन बाहिरबाट प्रधानमन्त्री हुन्न,’ सञ्चारकर्मीको जिज्ञासा मेट्दै दाहालको भनाइ थियो ।

माओवादी अध्यक्ष दाहालले निर्वाचनमार्फत् जनताले वाम गठबन्धन नेतृत्वको सरकार बनाउने म्यान्डेट दिएकाले सोहीअनुसार हुने प्रष्ट पारे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिकाप्रति आपत्ति जनाए । ‘प्रधानमन्त्रीले सरकार गठन प्रक्रियामा ढिलाइ गरेकामा मलाई नमीठो अनुभूति भइरहेको छ,’ दाहालले भने ।

प्रतिक्रिया