राष्ट्रिय सभा निर्वाचन माघ २५ मा प्रस्ताव


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन २५ माघमा गराउन सरकारलाई प्रस्ताव गरेको छ । वाम गठबन्धनले तत्काल मिति घोषणा गर्न ध्यानाकर्षण गराएको भोलिपल्ट आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति तोक्न सुझाव दिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा आयोगका पदाधिकारीले कम्तीमा तयारीका लागि ४० दिने लाग्ने भन्दै २५ माघ बिहीबारका दिन निर्वाचन तोक्न सरकारलाई सुझाव दिएको हो । भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारबाट मिति घोषणा भएको दिनबाट निर्वाचनको दिनसम्म आयोगलाई ४० दिन समय चाहिने भएकाले यो मिति नै उपयुक्त हुने बताएका थिए । भेटमा प्रधानमन्त्री देउवाले उक्त मितिमा सहमति जनाउँदै आगामी मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘हाम्रो सुझावअनुसार सरकारले आगामी मन्त्रिपरिषद्बाट निर्णय गर्ने कुरा भएको छ, अब आयोगले आफ्नो तयारी बढाउँछ ।’ राष्ट्रिय सभाको निर्वाचन नै एक महिनाभन्दा ढिलो हुने भएपछि नयाँ सरकार निर्माण अझै अन्योलमा पर्ने देखिएको छ । राष्ट्रिय सभा निर्वाचनको परिणाम ढिलोमा दुई दिनमा आउने अनुमान गरिएको छ । राष्ट्रिय सभाको परिणामपछि मात्र निर्वाचन आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।

बिहीबार सर्वदलीय बैठक
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति र प्रदेशसभा केन्द्र एवं प्रमुख तोक्ने विषयमा सहमति खोज्न बिहीबार सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकमा सहमति खोजी सोही दिन बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी गरेका छन् । बैठक बिहीबार बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ । काम चलाउ सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट एमालेले शपथ नलिने बताएपछि सरकारले प्रमुख नियुक्ति प्रक्रियामा सहमति खोज्ने प्रयास गरेको हो ।

प्रतिक्रिया