टुंगो लाग्यो प्रदेश राजधानी

काठमाडौं । सहरी विकास मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी राजधानी पहिचान गर्दै केन्द्र तोक्न सरकारलाई सिफारिस गरेको छ । मन्त्रालयका सहसचिव राजेन्द्रकुमार पौडेल नेतृत्वको विज्ञ टोलीले लामो समयको स्थलगत अध्ययनपछि हरेक प्रदेशका लागि उत्कृष्ट स्थान छनोट गरी सरकारलाई सिफारिस गरेको हो ।

प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी राजधानी तोक्न टोलीले सरकारलाई सिफारिस गरेको छ । टोलीको सिफारिसलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि तोकिएका ठाउँमा पहिलो प्रदेशसभाको बैठक बस्नेछ । सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेश मुख्यमन्त्रीको निवास तथा प्रदेश मन्त्रालयको कार्यालय रहने स्थान र ठाउँको पनि पहिचान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर बुझाएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए । समितिले मुख्यत भौतिक पूर्वाधारलाई जोड दिएको छ । अत्याधुनिक भवन रहेको, मुख्य राजमार्गसँग नजिक रहेको ठाउँलाई विशेष जोड दिएको छ । प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना र मर्मतमा लाग्ने अनुमानित खर्चसमेत खुलाएर समितिले आफ्नो प्रतिवेदन मन्त्रिपरिषद्मा पठाएको छ । ‘टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएको छ, अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने छौँ ।’ मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता पन्थीले भने । उनले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकार मुकाम तोकिएको बताए ।

अस्थायी रूपमा तोकिएका ती मुकाम प्रदेश सरकारले आवश्यक देखेमा पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रूपमा पहिलो पटक सरकारले तोक्ने भए पनि प्रदेश सरकार गठन भएपछि भने प्रदेशसभाको दुई तिहाइ बहुमतले त्यसलाई हेरफेर गर्न सक्नेछ ।

प्रदेश १ विराटनगर
कार्यदलले प्रदेश नम्बर १ को राजधानीका लागि विराटनगर उपयुक्त भएको ठहर गरेको छ । यसअघि, सुनसरीको धरान, इटहरी चर्चामा आए पनि भौतिक संरचनाका हिसाबले विराटनगर उपयुक्त रहेकोे निष्कर्ष निकालेको हो ।
विज्ञ समितिको सुझावअनुसार पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँ क्षेत्रमा प्रदेशसभाको बैठक राखिनेछ । कम्पाउन्ड सहितको १२ वटा कार्यालयमध्ये ९१ वटा कोठा भएको जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशको सचिवालयसहित सभामुख र उपसभामुखको कार्यालय राख्न सकिने उल्लेख गरेको छ । त्यसैगरी, ७२ वटा कोठा भएको क्षेत्रीय कृषि निर्देशनालयमा मुख्य मन्त्रीको कार्यालय र निवास, ५० वटा कोठा रहेको क्षेत्रीय पशु निर्देशनालयको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र निवास, ८० वटा कोठा भएको क्षेत्रीय सिँचाइ निर्देशनालयको कार्यालयमा प्रमुख सचिवको कार्यालय र निवास राख्ने सकिने उल्लेख छ ।
प्रदेश २ जनकपुर
प्रदेश नम्बर २ को राजधानीका लागि जनकपुर उपयुक्त भएको उल्लेख गरेको छ । समितिको सिफारिसअनुसार प्रदेशसभा २ को बैठक भने मिथिला सांस्कृतिक केन्द्रमा बस्ने भएको छ । त्यहाँ ठाउँको अभाव देखिए जनकपुर चुरोट कारखानाको कभर्ड हल पनि उपयुक्त सुझाएको छ । यस्तै, प्रदेश प्रमुखका सचिवालय तथा निवासका लागि कारखानाको कार्यकारी निर्देशकको निवास, मुख्यमन्त्री र निवासको लागि डिजिएम निवास, ७ वटा मन्त्रालय र निवासको लागि निर्देशकको निवास, प्रदेश मुख्य सचिवको लागि क्षेत्रीय विक्री कार्यालय परिसर र ५ जना सचिवहरूको निवासको लागि कर्मचारी आवासमा व्यवस्थापन गर्न सिफारिस गरेको छ । उद्योग मन्त्रालयले जनकपुर चुरोट कारखानाको जग्गा, भौतिक संरचना तथा सरसामानहरू बुझी लिन भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचारसमेत गरिसकेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश ३ भक्तपुरको ठिमी
प्रदेश नम्बर ३ मा भने भक्तपुरमा रहेको ठिमी क्षेत्रलाई राजधानी बनाउन सिफारिस गरेको छ । ठिमीका सबै क्षेत्र (पुरानो, नयाँ र सानो) लाई समेटेर राजधानी बनाउन सिफारिस गरेको हो । यसअघि, बनेपा, धुलिखेल बनाउनुपर्ने माग उठे पनि भौतिक र अन्य सुविधाका हिसाबले ठिमी नै उत्कृष्ट रहेको समितिले निष्कर्ष निकालेको छ । काठमाडौंसँग सीमा जोडिएको, यातायातको पनि राम्रो सुविधा भएको तथा भौतिक पूर्वाधारको पनि कुनै कमी नभएका कारण सिफारिस गरिएको एक सदस्यले जानकारी दिए । प्रदेशसभा बैठक भक्तपुर ठिमीस्थित कृषि विकास बैंकको तालिम केन्द्र अथवा सानोठिमीस्थित शिक्षा विभाग क्षेत्रमा बसाउन उपयुक्त हुने प्रस्ताव गरिएको छ । भक्तपुरको सानोठिमी क्षेत्र सबैभन्दा उत्तम स्थान रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश ४ पोखरा
सबैभन्दा कम विवादित प्रदेश नम्बर ४ मा पहिलेदेखि नै पोखरालाई राजधानीका रूपमा हेरिएको थियो । प्रदेशसभा बैठक जिल्ला समन्वय समितिको कार्यालयमा बसाउन प्रस्ताव गरिएको छ भने प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय प्रशासन कार्यालयलाई नै बनाउन सुझाव दिइएको छ । क्षेत्रीय शिक्षा, क्षेत्रीय सडक, क्षेत्रीय कृषि, क्षेत्रीय वन कार्यालय, सहकारी डिभिजन कार्यालय, क्षेत्रीय हुलाक कार्यालय, सडक कार्यालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई विभिन्न मन्त्रालय बनाउन सक्ने गरी प्रस्ताव गरिएको छ । सभामुख कार्यालय, प्रदेशसभा सचिवालयका कार्यालय नगरप्रशिक्षण कार्यालयमा प्रस्ताव गरेको छ । प्रदेश नम्बर ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा २४ गरी ६० जना सभासद् हुनेछन् ।

प्रदेश ५ दाङ
नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डीको नवनिर्मित आयुर्वेद भवनमा प्रदेशसभा हल बनाउने सिफारिस गरिएको छ । त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, कृषि विकास बैंकको आवास कक्षलाई मुख्यमन्त्रीको आवासका रूपमा प्रयोग गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ । घोराहीका जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, शिक्षा कार्यालय, जिल्ला वन, जिल्ला प्राविधिक कार्यालयको भवनलाई मन्त्री र सचिवहरूको निवासका रूपमा प्रयोग गर्न सकिने गरी अध्ययन विश्लेषण सहितको प्रतिवेदन तयार पारेको छ ।
प्रदेश ६ सुर्खेत
प्रदेश ६ को प्रदेशसभा बैठक सुर्खेतको शैक्षिक तालिम केन्द्रमा बस्ने भएको छ । केन्द्रको कम्पाउन्डमा धेरै भवन रहेकाले पनि संसदीय दलका कार्यालय र कर्मचारीका लागि पर्याप्त भवन रहेको समितिले देखाएको छ । केन्द्रको भवनको मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको छ । त्यसका लागि सोफा, कुर्सी, साउन्ड सिस्टमको व्यवस्थापन गर्नुपर्ने देखिएको बताइएको छ । समितिले जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश गृह मन्त्रालय र क्षेत्रीय सिँचाइ कार्यालयलाई मन्त्री आवास बनाउन सकिने प्रस्ताव गरेको छ ।

प्रदेश ७ धनगढी
धनगढीमा पर्याप्त मात्रामा सरकारी कार्यालय रहेकाले यहाँ केन्द्र बनाउन सकिने समितिको निष्कर्ष रहेको छ । कृषि तालिम केन्द्रमा प्रदेशसभाको पहिलो बैठक राख्न सकिने बताइएको छ । यसैगरी, मन्त्रालय, आवास गृह लगायतका लागि स्वास्थ्य तालिम केन्द्र, कृषि विकास कार्यालयको भवन, जिल्ला समन्वय समितिको भवन, क्षेत्रीय वन निर्देशनालय लगायतका भवनमा राख्न सकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया