छुट्टाछुट्टै दुर्घटनामा ४० को मृत्यु

नैरोबी, १७ । केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

“तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भने ।

उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिए । “घटनास्थलबाट सवै शव निकालिसकिएको छ भने घाइतेलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ,” उनले थपे ।

त्यसैगरी मेक्सीकोमा तीन ओटा सवारी साधन एकै ठाउँमा जुध्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । भ्यान र मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन् ।

दक्षिणी मेक्सीकोको गुइरो राज्यमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जना अमेरिकाबाट घुम्न आएका पनि परेको अधिकारीले शनिबार जनाएका छन् ।

मृत्युहुने अन्य पाँच जनामा भेनका चालक र उनका सहयोगी रहेका छन् । परिवारजनसँग घुम्न आएका एक जना १८ वर्ष र अर्का एक जना आठ वर्षका गरी दुई जना केटा पनि दुर्घटनामा परी मारिएका छन् ।

घुम्न आएका उनीहरुको गन्तव्यको ठाउँ आउन १५ मिनेट अगाडि दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया