काठमाडौं । ‘हे अगस्त्य मुनी ! …भए पत्नीलाई दिनू, पत्नी नभए छोरालाई दिनू ! छोरा नभए छोरीलाई दिनू, छोरी नभए बुहारीलाई दिनू, बुहारी पनि नभए ज्वाइँलाई दिनू, ज्वाइँ पनि नभए मित छोरालाई दिनु ! मित छोरा पनि नभए चाकरीबाज र अन्धभक्तहरूलाई दिनू, त्यो पनि नभए गाँठवालालाई दिनू, त्यो पनि नभए नदीमा लगेर बगाइदिनू ।
प्रदेशसभाको समानुपातिकतर्फको नाम सिफारिस गर्ने निर्णयलगत्तै एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखे । थापाको यो स्ट्याटस पार्टीबाट सांसद बनाउनेको सूचीमा परेका व्यक्तिहरूप्रति व्यंग्यात्मक असन्तुष्टि थियो । नेता पत्नी, नातेदार र आफन्त बढी समानुपातिकमा परेपछि उनले आम कार्यकर्ताको भावनाको कदर गर्दै यो स्ट्याटस लेखेका थिए । राजनीतिक दलहरूले समानुपातिकतर्फको निर्णय गरेसँगै सामाजिक सञ्जालमा असन्तुष्टि जनाउने थापा एक्लो व्यक्ति होइनन । सबैजसो पार्टीका नेताहरूले आफ्नै नेतामाथि व्यंग्य गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालबाट सिफारिसमा परेका प्रदेशसभा सदस्यमा नातावाद हाबी भएको भन्दै असन्तुष्टि जनाउनेको संख्या निकै ठूलो छ । यही क्रममा सबैभन्दा बढी समानुपातिकको अर्थबारे विचार आएको छ । झन्डै एक सय बढीले पोस्ट गरेको व्यंग्यात्मक असन्तुष्टिमा भनिएको थियो, ‘यत्रो वर्षसम्म ः सम प्लस अनुपात प्लस इक बराबर, समानुपातिक भनेर पढियो, पढाइयो । गल्ती पढिएछ, पढाइएछ । खासमा समान प्लस ऊ प्लस पति प्लस इक बराबर समानुपातिक रहेछ, बल्ल थाह भयो । बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोई भन्ने उखान अब पुरानो भयो । अब यसो भनौँ होला, ‘पैतालिस वर्ष नेपाली पढायो, समानुपातिकको अर्थ खोज्न नेताकहाँ धायो ।’
प्रदेशसभा सदस्यमा समानुपातिक तर्फको नाम सिफारिस हुँदा नेताका आफन्त मात्रै हाबी भएको तथ्यलाई सामाजिक सञ्जालमा पोखिएको उदाहरण हुन् माथिका दुई घटना । एउटा दलमा मात्र नभएर समानुपातिकतर्फ सबै दलमा नातागोता र नजिकका आफन्त हाबी भए । केही दलबाट श्रीमान् श्रीमती नै सांसद बने भने केही दलबाट नेताका पत्नीदेखि छोरी बुहारीसम्म प्रदेशसभामा सांसद बन्न सफल भए । प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको एमालेमा समेत दुई जोडी पतिपत्नी सांसद बनेका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिमाण सार्वजनिक नहुँदै २ जोडी अहिले सांसद भइसकेका छन् ।
प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक भएपछि बुझाइने नामपछि थप तीन जोडी थपिने तरखरमा छन् । एमाले नेता विरोध खतिवडा र उनकी श्रीमती मुनु सिग्देल तथा शेरबहादुर राई र उनकी श्रीमती उषाकला राई जोडी नै सांसद बन्ने भाग्यमानी एमाले नेता बने । श्रीमान् राई सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभामा निर्वाचित भए भने श्रीमती राई प्रदेश नम्बर एकको समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनिन् । खतिवडा पनि मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने श्रीमती सिग्देल प्रदेश ३ बाट समानुपातिकतर्फ सांसदको सूचीमा परिन् । दुवै जनालाई निर्वाचित गराउन एमालेले निर्वाचन आयोगमा नाम सिफारिस गरिसकेको छ ।
यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएपछि एमालेका ३ जोडी सांसद थप हुने भएका छन् । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भइसकेका नेताका श्रीमती प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा पर्ने निश्चित रहेको हो । यसरी सांसद हुने जोडीमा शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ र रघुवीर महासेठ छन् । एमालेका नेता पोखरेल दाङ प्रदेश नं २ को ‘क’ बाट निर्वाचित भएका छन् भने उनकी श्रीमती सुजिता शाक्य प्रतिनिधिसभा समानुपातिकको बन्दसूचीमा छिन् । काठमाडौं ९ बाट प्रतिनिधिसभामका निर्वाचित श्रेष्ठको श्रीमती विना श्रेष्ठ पनि समानुपातिकबाट निर्वाचित हुने पक्का जस्तै छ । यस्तै, धुनषा–४ बाट निर्वाचित महासेठकी श्रीमती जुली महासेठ पनि समानुपातिकतर्फबाट सांसद हुने निश्चित रहेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको एमालेको प्रतिनिधिसभामा ३३ प्रतिशत पु¥याउनका लागि महिलालाई पठाउनैपर्ने बाध्यता छ । माओवादी केन्द्रले पनि प्रदेशसभाका ३५ समानुपातिक सदस्य छनोट गर्दा नेता पत्नीदेखि छोरी बुहारीसम्मलाई प्राथमिकता दिएको छ । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । झक्कु भने काठमाडांै–६ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा पराजित भएका थिए । यस्तै, तीन नम्बर प्रदेशबाटै समानुपातिकबाट सांसद हुन लागेकी सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । प्रदेश ६ को समानुपातिकमा परेकी चारमध्ये तीन जना नेताकै आफन्त रहेका छन् ।
पुष्पा घर्ती विष्ट पूर्वसांसद नरबहादुर विष्टकी श्रीमती हुन् भने कृष्णा शाह आचार्य नेता रामदीप आचार्यकी श्रीमती हुन् । यस्तै, विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी हुन् । राष्ट्रिय जनता पार्टीबाट पनि एक जोडी सांसद हुन सफल भएका छन् । अध्यक्ष मण्डलका सदस्य अनिल झा र उनकी पत्नी डिम्पल झा सांसद हुन सफल भएका हुन् । झा रौतहट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् भने उनकी श्रीमती डिम्पल प्रदेशसभा २ बाट समानुपातिक सांसदमा परेकी हुन् ।
प्रतिक्रिया